हौसला र उर्जाको संवाहक ‘आँधी झेल्न जन्मेको हो मान्छे’

तुलसी गिरी ‘भावुक’


आँधी झेल्न जन्मेको हो मान्छे, आगो खेल्न जन्मेको हो मान्छे प्रकाश केसीको शब्दरचना तथा विष्णु अधिकारीको स्वरमा कोरोना विशेष नयाँ गीत बजारमा आएको छ । विश्वलाई नै आतङ्कित बनाईरहेको कोरोना महामारी र लकडाउनको अन्योलग्रस्त स्थितिलाई लक्षित गर्दै सम्पूर्ण जनताहरुलाई उर्जा थप्न यो गीत प्रकाशन गरिएको कुरा गीतकार केसीले जानकारी गराएका छन् । बजारमा आएका तमाम कोरोना विशेष गीतहरुको लहरमा फरक चिन्तन, भिन्न विषयबस्तु र अलग भाव बोकेको यो गीतले मान्छेलाई उसको अस्तित्व वोध गराएको छ l अनि हतास भएकाहरुलाई झक्झकाएको छ l कठिन घडीमा यो गीत ऊर्जा, हौसला र आत्मविश्वासको संवाहक बनेर आएको छ भन्दा उचित मूल्याङ्कन हुने छ l २०७१ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा गीतकारतर्फ प्रथम स्थान हासिल गरेका कुशल गीतकार केसीका प्रायजसो गीतमा नेपाली माटोको सुगन्ध महसुस गर्न सकिन्छ l  

उज्यालो आशा शीर्षकमा प्रकाशित यसगीतमा अब्बल दर्जाका चित्रकार समेत रहेका सङ्गीतकार ज्योतिप्रकाशको सङ्गीत रहेको छ । शाश्त्रीय महकताले भरिएको उनको सङ्गीतमा विष्णुले यसरी न्याय गरेका छन्, यस गीतका लागि उनको विकल्पमा दोस्रो गायक कोही छैनहोला जस्तो लाग्छ l अर्थात् अरु कसैले गाएको भए यो गीत अझ मीठो हुन्थ्यो कि ! भन्ने कत्तिपनि लाग्दैन l विष्णु सङ्गीत सिर्जना, सङ्गीत संयोजन र गायन तीनै विधामा उत्तिकै क्रियाशील रहँदै आएका छन् l तथापि कुशल सर्जक / कलाकार भईकन पनि मिडियामा भने उनलाई कमै देख्न / पढ्न पाइन्छ l  

समग्रमा भन्नुपर्दा यो एउटै गीतबाट गीतकार, सङ्गीतकर र गायकको साङ्गीतिक व्यक्तित्वको उचाईलाई मूल्याङ्कन गर्न सकिन्छ l प्रस्तुत गीतको भिडियो सङ्गीतकार ज्योतिप्रकाशको युट्यूब च्यानल Jyoti Prakash मा अपलोड गरिएको छ ।