कोरोना विशेष भिडियोमा अनुरागीको बेजोड अभिनय

तुलसी गिरी ‘भावुक’


लोकप्रिय कलाकार / सर्जक बी. बी. अनुरागीले लकडाउनको पट्यार लाग्दो समयलाई पनि सदुपयोग गर्दै पुन: कोरोना भाईरस सम्बन्धी अर्को चेतनामूलक गीत तथा भिडियो सार्वजनिक गरेका छन् l धुन शृङ्खला – ४ अन्तर्गत ‘ठूलो लाग्थ्यो धन’ शीर्षकमा प्रकाशित यो गीत अर्का लोकप्रिय पोखरेली सर्जक सुमन श्रापितको शब्दरचना एवं बी. बी. अनुरागीको सङ्गीत संयोजन, सङ्गीत र स्वरमा रेकर्ड भएको हो भने श्यामश्वेत रसाईलीले ध्वनि मिश्रण गरेका हुन् l बी. बी. अनुरागीकै परिकल्पना, निर्देशन र सम्पादनमा तयार भएको यो भिडियो अनुरागीको आफ्नै युट्युब च्यानल BB Anuragee मा अपलोड गरिएको छ l  भिडियोमा प्रमुख पात्रको रुपमा उनै अनुरागीको बेजोड अभिनय देख्न सकिन्छ l लामो समयदेखि सङ्गीतका सबैजसो विधामा उत्तिकै कुशलताका साथ क्रियाशील रहँदै आएका बहुआयामिक बी. बी. ले यो भिडियोमा व्यावसायिक कलाकारले झैं जीवन्त अभिनय गरी आफूभित्र भएको फरक क्षमता उजागर गरेका छन् l

आफ्नै घरमा परिवारका सदस्यहरुलाई संलग्न गराई तयार पारिएको यस भिडियोमा अनुरागीकै आमा पवित्रा रसाईली, दाइ सुकुराम रसाईली, श्रीमती सुनिता सुनार, छोरा सर्जक रसाईली र छोरी शिक्षा रसाईलीलाई देख्न सकिन्छ l

‘ठूलो लाग्थ्यो धन हिजो, आफ्नो लाग्थ्यो भगवान l यी सब झुठो लाग्यो आज, ठूलो त रैछ आफ्नै ज्यान’ गीतमा सबैभन्दा ठूलो कुरा आफ्नो स्वास्थ्य हो l आफू स्वस्थ भए नै धन, इष्टमित्र र संसार भोग्न र देख्न पाईन्छ भन्ने सन्देश रहेको छ l पीडाको बेला भगवानप्रतिको आस्था, विश्वास र प्रेम पनि कसरी डगमगाउँछ भन्ने कुरा गीतमा व्यक्त भएको छ l

गीत तथा भिडियोमा कोरोना पीडित एउटा व्यक्ति र त्यो पीडाले मर्माहत उसको परिवारको अवस्थालाई मार्मिक ढङ्गमा उतारिएको छ भने रोग लागिहालेमा सामाजिक दूरी कायम गर्दै धैर्यता र आत्मविश्वासका साथ लड्न सके त्यसलाई पराजित गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश पनि दिईएको छ l समसामयिक, यथार्थपरक, मर्मस्पर्शी र सन्देशमूलक यो गीत तथा कथात्मक भिडियोलाई उद्देश्यमूलक तथा चेतनामूलक साङ्गीतिक कृतिको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l अनुरागीले यसअघि प्रकाशन गरेका कोरोना विशेष गीत तथा भिडियोहरु पनि यस्तै सन्देश तथा चेतनामूलक रहेका थिए l