आधुनिक सङ्गीतमा जमाना हाँकिरहेका गायक

नेपाली सङ्गीत क्षेत्रमा लोभलाग्दो ख्याति र आर्थिक संवृद्धि हासिल गरेका सीमित गायकहरु मध्येका एक हुन् शिव परियार l लामो समयको अनवरत र कठिन साधना, धैर्यता, निरन्तरता, समय सापेक्ष साङ्गीतिक चेतना र सिर्जनशील क्षमता भएकै कारण उनी सफलताको यो गौरवशाली उचाईमा पुगेका हुन् l यात्रामा अगाडि बढ्दै जाँदा लोकप्रियता र व्यावसायिकताको उच्चतम विन्दु चुम्नु एउटा पाटो हो भने त्यो विन्दुमा टिकिरहनु अर्को पाटो हो l शब्द, सङ्गीत र स्वरको तादात्म्य मिल्दा कहिलेकाहिँ सामान्य प्रतिभा भएका कलाकार पनि रातारात चर्चामा आएका घटनाहरु हाम्रो अगाडि थुप्रै छन् l एक दुईवटा चलेका गीतकै कारण १० औं वर्षसम्म गरिखाएका कलाकार पनि अनगिन्ती छन् l कुनै समयमा ‘बम्पर हिट’ भएका तर समय सापेक्ष परिवर्तित शैलीमा आउन नसक्दा राम्रो गला भएर पनि भेल सुके झैं चर्चा शुन्य हुँदै गएका गायक-गायिकाहरुको पनि कमी छैन l शिव परियार एक यस्ता गायक हुन् जो सन् २००५ मा पहिलो एल्बम ‘मोक्ष’ प्रकाशन गर्दा नै चर्चामा आएका थिए भने एकपछि अर्को लगातार हिट गीतका कारण आजसम्म पनि उनी निरन्तर चर्चामा नै छन् l सफलताको उच्चतम विन्दुमा पुगेर नडग्मगाई यात्रा अगाडि बढाईरहेका गायक शिव, लामो समयदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमै सबैको चाहनाको गायक बनेका छन् l सुगम सङ्गीतमा मेलोडी मिठासको आनन्द लिन चाहने, गजलका चोटिला भावसँगै वहकिंदै आलाप, सरगम, मुर्की र खिड्कामा झुम्न चाहनेदेखि युवा भावना समेटिएका गीत सुन्दै नाच्न मन पराउनेहरु सबैका प्रिय बन्न सफल छन् शिव परियार l
पिता साधुराम परियार र माता मन कुमारी परियारको कोखबाट तत्कालीन हजारिया-८, सर्लाही र हालको बरहथवा नपा-२, सर्लाहीमा फागुन महिनाको ९ गते जन्मिएका शिव स्थानीय सरस्वती मा. बि. मा कक्षा ७ मा पढ्दैगर्दासम्म आफूभित्र भएको गायन प्रतिभाबाट अनभिज्ञ थिए l ‘७ कक्षामा पुग्दासम्म म गाउन सक्छु भन्ने नै थाहा थिएन l त्यो बेला जिल्लास्तरीय बालगीत प्रतियोगिताका लागि स्कूलमा सबैले अनिवार्य स्वर परीक्षा दिनुपर्ने भयो l सरको डरले मैले पनि गाएँ l क्लासमा गाएपछि ‘यसले राम्रो गाउने रैछ’ भनेर मलाई अफिसमा लगियो l म जिल्लाको लागि छनोट भएँ र स्टेज चढेकै दिन जिल्ला टप पनि गरें l अङ्क स्कोरको आधारमा छनोट भएर क्षेत्रीय स्तरको प्रतिस्पर्धामा समेत भाग लिन पाएको थिएँ’ शिव विगत सम्झंदै भन्छन् l

१० कक्षामा पुग्दासम्म उनले आफूभित्रको प्रतिभालाई महसुस गरिसकेका थिए र मनमा एउटा सुनौलो सपनाले घर बनाईसकेको थियो l एसएलसी पछि उनी त्यही सपना बोकेर राजधानी प्रवेश गरे र ललितकलामा सङ्गीत लिएर पढ्न थाले l त्योबेला भारतबाट भर्खरै सङ्गीत प्रवीण पूरा गरी नेपाल फर्किएर असनमा ‘गान्धर्व सङ्गीत विद्यालय’ सुरु गरेका संगीतज्ञ चन्दन कुमार श्रेष्ठको बारेमा थाहा पाएपछि उनी ०५६ देखि नै त्यहाँ पनि भर्ना भए l उनले ०६४ सम्म अर्थात ८ वर्षसम्म चन्दन गुरुसँग शाश्त्रीय सङ्गीत गायन सिके l शिव हाल चन्दन गुरुका पहिलो व्याचका विद्यार्थी उनका गुरुदाइ चण्डीप्रसाद काफ्लेसँग सङ्गीत प्रवीण गरिरहेका छन् l ‘घराना एउटै भएकोले चण्डी गुरुलाई रोजेको हुँ’ उनी भन्छन् l
०५९ सालमा रेडियो नेपालले आयोजना गरेको ‘अधिराज्यव्यापी आधुनिक गीत सम्मेलन’मा सुरेश वाग्लेको शब्द र आफ्नै सङ्गीतमा ‘बिर्स्यो तिम्रो याद आउन खोज्छ किनहोला’ गाएर प्रथम भई गोल्ड मेडल प्राप्त गरेका शिवले प्रथमपटक त्यही गीत रेडियो नेपालमा रेकर्ड गरेका थिए l उनलाई रेडियोले तत्कालै ‘क’ श्रेणीको गायकको प्रमाणपत्र समेत दिएको थियो l उनले रविनलाल श्रेष्ठसँग शास्त्रीय तबलावादन र राजकुमार मालाकारसँग गीतारवादन पनि सिकेका छन् l

चलचित्रमा पार्श्व गायन, आधुनिक सुगम सङ्गीत, गजल, पप, लोक, राष्ट्रिय भाव लगायतका सबै शैलीका गीतमा स्वर दिएका शिवका जतिपनि हिट नम्बरका गीत छन् प्राय: उनका आफ्नै सङ्गीतका छन् l अब्बल दर्जाका सङ्गीतकार भईकन पनि उनले अरुका लागि त्यति सङ्गीत गर्ने गरेका छैनन् l फरक सोच, फरक चिन्तन, फरक प्रकृतिको सिद्धान्त र आदर्श भएका शिव नबुझ्नेहरुका लागि अनौठो र जटिल लाग्छन् तर बुझ्नेहरुका लागि उनी सहज, सहयोगी र नरम छन् l उनी खुला छन् l रहश्यमयी चरित्र उनमा रत्ति पनि छैन l तर स्वतन्त्रता र स्वच्छन्दता उनको पहिलो शर्त हो l उनी अन्तर्मनको इच्छा विपरित कुनैपनि कुरामा सम्झौता गर्न राजी हुँदैनन् l प्राय: आफ्नै कम्पोजका गीत गाउने गरेको सन्दर्भमा उनी भन्छन्- ‘शिव परियार भन्ने गायकलाई अगाडि बढाउनका लागि शिव परियार भन्ने सङ्गीतकारलाई नै खटाएर काम गरिराको छु l हुन त अन्य दिग्गज सङ्गीतकारहरुको सङ्गीतले पनि मलाई अगाडि बढ्न ठूलो भूमिका निभाएका छन् l मेरो सङ्गीत, मेरो डिजाइन, मेरो आफ्नो सोच हो र मलाई अगाडि बढाउने बाटो हो l’ ‘रित्तोरित्तो छु म, अलिकति नजर तिम्रो, कहाँ थियौ तिमी, धेरैचोटी मरें म त, पागल बनायौ प्रिय, अल्लारे, आँशुको अर्थ, नभेटी नभेटी, बर्षौं भो छोडेको, जितेर पनि हारमा छु, पिलायो साथीले, क्या दामी भो, मंगली मंगली, हल्ला हल्लामै माया बस्यो’ लगायतका राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमै ख्याति कमाएका गीतका गायक शिवले मोक्ष {२००५}, स्वयम् {२००८}, कादम्बिनी {२००८}, क्या दामी {२००९}, फाटेको मन {२०१०}, पागल {२०११}, कथाले मागेपछि {२०१२}, Only You मेरो साथी {२०१२}, टाढाको साथी {२०१३}, Shiva Book {2015} र Shivalaya Ongoing गरी ११ वटा गीति एल्बम प्रकाशन गरिसकेका छन् भने सर्वोत्कृष्ट गायकको रुपमा कालिका एफएम अवार्ड [२००९ र २०१०}, ईमेज अवार्ड {२००९ र २०१२}, अन्नपूर्ण एफएम अवार्ड {२०१०}, सिजी डिजिटल फिल्म अवार्ड {२०१२}, विन्ध्यबासिनी म्युजिक अवार्ड {२०१३}, रेडियो गोर्खाली पोखरा अवार्ड {२०१३}, म्युजिक खबर म्युजिक अवार्ड {२०१३}, बक्स अफिस अवार्ड {२०१४}, हिट्स एफएम म्युजिक अवार्ड {२०१७} तथा नारायणगोपाल युवा सङ्गीत पुरस्कार {२०१३}, मोतीराम-सेतुराम गजल सम्मान {२०१४} र राष्ट्रिय युवा प्रतिभा सम्मान {२०१६} प्राप्त गरेका छन् l
राम्रो गला भएर पनि सबै गायक-गायिका चलेका हुँदैनन् र उतिसारो मिठास नभएका कलाकार पनि कतिपय अवस्थामा जनताको मागमा परेका हुन्छन् l अहिलेको जमाना हाँकिरहेका गायक शिव परियार कलाकारको सफलताको रहस्यका बारेमा जिज्ञाशा राख्दा  आफ्ना अनुभवहरु यसरी सुनाउँछन् – ‘मैले कुनै यस्तो समय पनि पार गरें, ‘वाह वाह …शिव परियारले नेपाल खायो’ भनेर बजारमा चर्चा भईरहँदा मैले स्टेज पाइन l एकातिर प्रसंशा तर अर्कोतिर कसैले बोलाउँदैन ! म छक्क पर्थें l ०६२ मा ‘मोक्ष’ रिलिज भएपछि त्यसले अलिकति व्यावसायिकताको सुरुआत गर्यो l त्यसपछि मैले के बुझें भने म शाश्त्रीय सङ्गीत सिकेको मान्छे, यति धेरै साधना गरेको मान्छे, रेडियो नेपालमा फर्ष्ट भएको मान्छे, मैले गाएको त सबैले सुन्छन् नि ! भन्ने भ्रम रहेछ म मा l जनताको सोच बदलिएको रैछ l मैले पनि सोच बदलें र सही समयमा सङ्गीतलाई हृदयबाट सुन्ने र चुम्ने मान्छेहरुको माझमा पुगें l योङहरुको जमात थियो त्यो l कस्तो गीतमा ‘वान्स मोर’ र कस्तो गीतमा ‘आउट’ आउँछ त्यो बुझें l मन जित्न सक्ने, उनीहरुको हृदयमा मलम लगाउन सक्ने र समय सापेक्ष गीत नै जनताले मन पराउने रैछन् भन्ने कुरा बुझेपछि गीत तयार गर्नु अघि कसले सुन्ने ? किन सुन्ने ? जस्ता कुरामा बिचार गर्न थालें l जसले समयको माग र जनभावना बुझेर सिर्जना गर्छ त्यसलाई जनताले पक्कै पनि आत्मसात गर्छन् भन्ने मेरो अनुभवले सिकाएको छ l’

साङ्गीतिक प्रस्तुतिकै लागि शिवले अमेरिका, अष्ट्रेलिया, वेलायत, जापान, थाईल्याण्ड, ईजरायल, कोरिया, कतार, दुबई, कुवेत, बहराईन, मलेशिया, हङकङ, जर्मनी, फ्रान्स, पोर्चुगल, वेल्जियम, नर्वे, डेनमार्क, स्पेन, पोल्याण्ड, भारत लगायत लगभग २ दर्जन अन्तर्राष्ट्रिय मुलुकहरुको भ्रमण गरिसकेका छन् l भविष्यमा कुनै लेखकले यो जमानाका सर्वाधिक व्यावसायिक र  लोकप्रिय गायक-गायिकाहरुको बारेमा शोध गर्यो भने नि:सन्देह शिव परियारको नाम पनि अग्र लहरमा आउँछ l