सन्तोष र रचनाको युगल स्वरमा ‘पर्खी बस्नु है’

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायक सन्तोष दुमी र छोटो समयमै व्यावसायिक गायिकाको रुपमा स्थापित रचना रिमालको युगल स्वरमा रहेको गीत पर्खी बस्नु है मलाई को भिडिओ सार्वजनिक भएको छ l रमेश मगरको शब्द / सङ्गीत र आदेश गुर्माछनको सङ्गीत संयोजन रहेको यो गीतमा राजु कार्कीको मिक्सिङ / माष्टरिङ रहेको छ l

गीतको भिडिओ किसन भुसालको निर्देशनमा तयार भएको हो भने भिडिओमा सुरेश राई र नृतिका शाक्यले अभिनय गरेका छन् l दिनेश पराजुलीको सिनेम्याटोग्राफी तथा उत्तर राना मगरको सम्पादन एवं कलर करेक्शन रहेको यो भिडिओ एकदिन अघि SANTOSH DUMEE OFFICIAL CHANNEL बाट डिजिटल बजारमा आएको हो l

भिडिओमा सुन्दर भविष्यको सपना बोकी आफ्नी प्रियतमालाई घरमा छाडेर लाहुर गएको पति र लामो समयको अन्तराल पछि सुखद् मिलनको आशा बोकेर ऊ घर फर्कंदा प्रियतमालाई कसैले बन्धक बनाईरहेको स्थिति देखाईएको छ l सुखान्त कथावस्तु बोकेको यो गीत तथा भिडिओले विभिन्न कारणवश मनले नमान्दा नमान्दै पनि परदेशिन बाध्य लाखौँ नेपाली युवाहरुको कथा बोकेको छ भने पतिले छाडेर परदेश गएपछिको अवस्थामा एक्ली नारीमाथि हुन सक्ने अप्रिय घटनाप्रति सङ्केत गरेको छ l मनोरञ्जक भईकन पनि गीत तथा भिडिओले सन्देशमूलक भाव बोकेको छ l