अर्ग्यानिक लोकेशनको सुन्दरतामा पूर्वेली भाका ‘जाऊँ डाँडै काटेर’

यादव कुमार भट्टराई


अर्ग्यानिक शब्द, लय र आवाजका एक अब्बल अभियन्ता श्रष्टा खगेन्द्र यक्सो अचेल अर्ग्यानिक लोकेशनको खोजी गर्दै आफ्ना सिर्जनाहरुलाई सोही स्थानमा सुटिङ गर्न विभिन्न आकर्षक, ऐतिहासिक र पर्यटकीय स्थलतिर पोका पन्तुरा बोकेर डुलिरहन्छन् । यसै सिलसिलामा २०७७ को दशैं सकिए लगत्तै आफ्नो जम्बो टीमसँग उनी पूर्वको चर्चित पर्यटकीय स्थल तीनजुरेको काखमा अवस्थित सुन्दर बस्ती सोल्मातिर पुगे, त्यहाँको आकर्षक प्राकृतिक सुन्दरता र संस्कृतिलाई क्यामेरामा कैद गर्न ।

लहलह धानको बाला झुलेको अनकन्टार धानबारी, तीन छाङ्गे झरना (सुम वाधान) भञ्ज्याङ्तिर त्यहाँको विविध संस्कृतिहरुसँगै प्राकृतिक सुन्दर दृश्यमा उनले आफ्नो गीत जाऊँ डाँडै काटेर को भिडियो तयार पारेका छन् । सुन्दर बस्ती सोल्मा अनि असल र सहयोगी सोल्माबासीको साथ सहयोगले उनले आफ्नो गीत लगायत कुमार बिकको पालाम र देउसी समेतको छायाङ्कन गरेका छन् ।

जाऊँ डाँडै काटेर बोलको गीत खगेन्द्र यक्सो र श्रेयशी चेम्जोङ्को सुमधुर आवाजमा सजिएको छ । यसमा खगेन्द्र यक्सोकै शब्दरचना र नयन सुब्बाको सङ्गीत रहेको छ । सोल्मा लगायत तीनजुरे, हिले, चोलुङ पार्क मुलघाट, भेडेटार लगायतका पर्यटकीय स्थलहरुमा सुटिङ सम्पन्न गरिएको विभिन्न गीतमा चर्चित मोडल योगेन्द्र राई, सीता तुम्बाहाङ्फे नुनिता तेयुङ, विनोद तेयुङ, सरिता प्रधान लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । उक्त अवसरमा समीर सिङ्गक, ज्ञानु लिम्बू, खोल्से जेठा, कुमार बिक, अनिशा राई, चन्दु गोर्खाली, टेकेन्द्र यक्सो र मेघराज मगरातीको सिर्जना समेतको छायाङ्कन गरिएको थियो । सम्पूर्ण गीतको भिडियो स्रष्टा खगेन्द्र यक्सो स्वयम्ले निर्देशन गरेका हुन् भने मेघराज मगरातीले खिचेका हुन् । अनिशा राईले लेखेको र मेघराज मगरातीको सङ्गीत रहेको देउसी गीतको भिडियोको भने चन्दु गोर्खालीले निर्देशन गरेका छन् ।