स्वाभिमानको आवाज घन्काउँदै गीतकार उत्तम केसी

हास्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता / दर्शकमाझ आएका छन् । उनको राष्ट्रिय गीत नझुकुन् हाम्रा शिरहरु हालै सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकर्डिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत नझुकुन् हाम्रा शिरहरु भिडियोमा सार्वजनिक भएको हो ।

जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा लय सङ्ग्रौला, रवीन्द्र खड्का, मोहन निरौला, उत्तम केसी, लक्ष्मण बस्नेत, दमन रुपाखेती, चेतबहादुर ‘राजा’, गीता नेपाल, सुभेच्छा थापा, रामेश्वर वुर्लाकोटी, गोपाल ढकाल, उद्धवराज भट्टराई, नम्रता पौडेल, आशा भुसाल, कृष्ण रसाइली, शोभा भण्डारी, सुष्मा ढकाल, मिना जिसी, प्रकाश विक्रम थापा, जीवन थापा, दीपक सापकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सुनिल कटवाल, विनोद केसी, गायत्री पाण्डे, भगत शाह, विजय तिमिल्सिना, लब्ली संगम राई लगायतका कलाकारको अभिनय रहेको छ ।

ज्ञानकुमार कट्टेलको प्रोडक्शन र साईराम पिक्चर्सको उत्पादन / वितरण रहेको यस गीतको भिडियोमा जनक अधिकारीको छायाङ्कन र नवीन निरौलाको सम्पादन रहेको छ । वर्तमानको विषम अवस्थाले पिरोलिरहेको र देशभक्ति गीत मार्फत एउटा जागरण ल्याउँ भन्ने उद्देश्यले आफूले यो गीत प्रकाशन गरेको कुरा  गीतकारउत्तमले बताए

‘जुनसुकै परिस्थितिमा पनि हाम्रा शिरहरु झुक्नुहुन्न र  देशका लागि जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार हुनुपर्छ भन्ने कुरा गीत मार्फत व्यक्त गर्न खोजेको हुँ’ उत्तमले भने । नेपाली कला क्षेत्रमा सयौं नाटक र चलचित्र मार्फत दर्शकको मन जित्न सफल कलाकार उत्तम केसीको गीतकारको रुपमा सार्वजनिक यो पहिलो गीत हो । ‘अन्य गीत कोरेर यत्तिकै राखेको छु, अब विस्तारै स्रोता / दर्शकमाझ ल्याउने योजनामा छु’ उनले भने ।