घर दैलोमै सर्जक / कलाकारहरुलाई राहत

कोरोना भाइरसको महामारीका कारण दुई महिनाभन्दा लामो समयसम्म घरमै बस्नु परेकोले आफ्नो नियमित काममा फर्किन नपाएका र भएको खर्च सकिएर अप्ठ्यारोमा परेका गीतकार, सङ्गीतकार, गायक, गायिका, एरेन्जर, रेकर्डिष्ट, वाद्यबादक, नृत्यकार आदि गरी सङ्गीतकर्ममा क्रियाशील रहेका ६० परिवार सर्जक / कलाकारहरुलाई साङ्गीतिक सङ्घले राहत वितरण गरेको छ । साङ्गीतिक सङ्घ सम्पूर्ण विधाका सङ्गीतकर्मीहरुको एकमात्र छाता संगठन हो ।

गीतकार सङ्घ नेपाल, सङ्गीतकार सङ्घ नेपाल, नेपाल चलचित्र नृत्य सङ्घ र केही वरिष्ठ कलाकारहरुको सिफारिसमा प्राप्त नामावलीको आधारमा काठमाण्डौका फर्पिङ दक्षिणकाली, मच्छेनारायण कुण्ड, कीर्तिपुर, कुलेश्वर हाईट, कलंकी, ताहाचल, स्वयम्भू, सानो भर्याङ, बानियाँटार, चपली हाईट, लाजिम्पाट, बबरमहल, थापागाउँ, नयाँ बानेश्वर, पुलचोक, मैतिदेवी, डिल्लीबजार, मुलपानी, गौशाला, सामाखुशी, बागबजार, पुतलीसडक र बालुवाटारमा अस्थाई रुपमा बसोबास गर्ने सङ्गीतकर्मीहरुलाई घरमै पुगेर राहत वितरण गरिएको कुरा सङ्घका अध्यक्ष मिलन मोक्तानले जानकारी गराएका छन् ।

राहत वितरण कार्यमा सङ्घका अध्यक्ष मिलन मोक्तान, वरिष्ठ उपाध्यक्ष खर्क बुढा मगर, कोषाध्यक्ष बिमल श्रेष्ठ, कार्यकारी सदस्यद्वय डा.गौरीशंकर मानन्धर र आशा गौतमको सक्रियता रहेको कुरा सङ्घकी सदस्य आशा गौतमले बताएकी छिन् ।

प्राप्त जानकारी अनुसार सेञ्चुरी कमर्शियल बैंक पुतलीसडकद्वारा प्रायोजित सो राहत सामग्रीको सङ्कलन तथा व्यवस्थापन शम्भूजीत सङ्गीत घर र साधना कला केन्द्रले गरेका थिए l हरेक परिवारलाई कम्तिमा १५ दिनलाई पुग्ने चामल, नुन, तेल, मसला, दाल, गेडागुडी, चिउरा र  चिनी उपलब्ध गराइएको थाहा भएको छ । ‘यो राहतलाई हामीले मायाको पोको भनेका छौं’ अध्यक्ष मोक्तान भन्छन् l