परोपकारीको जन्मदिन

विगत १४ वर्षदेखि जन्मदिनलाई दीनदुखीहरुको सेवामा समर्पित गर्दै आएका गायक सीताराम पोखरेलले यसवर्ष पनि आफ्नो जन्मदिन वौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई सहयोग गरेर मनाएका छन् l फेशन र देखासिकीको रुपमा कुलीन वर्ग हुँदै नेपाली समाजमा भित्रिएको ‘वर्थ डे’ अहिले निम्न आय भएका परिवारसम्मको बाध्यात्मक पर्व जस्तो हुँदै गएको छ भने पैसा हुनेहरुका लागि यो आर्थिक वैभबता प्रदर्शन गर्ने र नहुनेका लागि फजुल खर्चको बलियो कारक पनि बनिरहेको छ l तर गायक पोखरेलले भने यो दिनलाई परोपकारमा लगाएर सार्थक बनाउँदै आएका छन् l पोखरेल भन्छन् – ‘सबै धर्मको सार परोपकार नै पुण्य हो र अरुलाई पीडा दिनु नै पाप हो l’
यसपटक धर्मपत्नी रमा पोख्रेल तथा छोराहरु शिविर र सिजनका साथमा काठमाडौँको गोकर्ण स्थित ‘स्वास्थ्य समाज नेपाल’ नामक संस्था पुगेका पोखरेलले त्यहाँ आश्रित वौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई लगभग ६ महिना पुग्ने चामल, दाल, बिस्कुट लगायतका खाद्यान्न सामग्री संस्थाकी अध्यक्ष सीता श्रेष्ठलाई हस्तान्तरण गरेका थिए l सोही माहोलमा उनले केक काटेर बालबालिकाहरुमाझ जन्मदिन पनि मनाए l
०४४ सालदेखि निरन्तर गायनमा सक्रिय रहँदै आएका पोखरेललाई गायक तथा समाजसेवीको रुपमा थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घ-संस्थाहरुले सम्मान तथा अवार्ड समेत प्रदान गरेका छन् l