एउटा सार्थक चलचित्र ‘जीवन काँडा कि फूल’

 – तुलसी गिरी ‘भावुक’

चर्चित साहित्यकार झमक घिमिरेद्वारा लिखित पुस्तक ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ को प्रेस शो सम्पन्न भएको छ l कात्तिक २५ गते सोमबार दरबारमार्गस्थित राईजिङ मलमा शो सम्पन्न भएको हो l चलचित्र गत शुक्रबार २२ गतेदेखि देशैभरका लगभग ५ दर्जन हलबाट प्रदर्शनमा आएको छ l ‘जीवन काँडा कि फूल’ झमकको आफ्नै जीवनकथा हो l

चलचित्रमा हातखुट्टा नचल्ने र बोल्न नसक्ने झमकले शिशु उमेरदेखि वयस्क हुन्जेलसम्म आफ्नै परिवार र समाजबाट कसरी प्रताडित र अपहेलित हुनुपरेको थियो ? अघिल्लो जन्मको पापको सजाय या परिवारको बोझको रुपमा उनले कति कहालीलाग्दो जीवन भोग्नुपरेको थियो ? आफ्ना भावनाहरु सहज रुपमा व्यक्त गर्न नसक्दा, भन्न प्रयास गरिएका कुरालाई आफ्नै बाबुआमाले समेत वास्ता नगरी तुच्छ व्यवहार गर्दा उनले त्यो पीडालाई कसरी सहन गरेकी थिईन् ? अनि पढ्नका लागि उनले के कस्ता सङ्घर्षहरु गर्नु परेको थियो ? भन्ने जस्ता घटनाक्रमलाई  चलचित्रमा हृदयविदारक ढङ्गमा प्रस्तुत गरिएको छ l

‘जीवन काँडा कि फूल’ लाई नेपाली चलचित्रकै इतिहासमा एउटा विशेष र अविष्मरणीय चलचित्रको रुपमा यस कारण लिन सकिन्छ कि ! यसले समाजको एउटा यथार्थ र लुकेको पाटोलाई उजागर पारेको छ l शारीरिक रुपमा अशक्त भएपनि कतिपय बालबालिका मानसिक रुपमा कुशाग्र र अद्वित्तीय हुन सक्दछन् l उनीहरुलाई अपहेलना गर्नुको साटो मनोविज्ञान बुझेर अवसर दिएमा सपाङ्ग भन्दा पनि अब्बल क्षमता प्रदर्शन गर्न सक्दछन् भन्ने सन्देश दिएको छ यो चलचित्रले l

करिव करिव २ घण्टाको यस चलचित्रमा मध्यान्तरसम्म अर्थात १ घण्टासम्म झमकको बाल भूमिकामा अवस्था थापाको अभिनय रहेको छ l पहिलोपटक चलचित्रमा देखिएकी बालकलाकार अवस्थाको अभिनयले जस्तै कठोर मनको दर्शक भएपनि पटक पटक उसको हृदयमा हलचल ल्याउने क्षमता राख्दछ l चलचित्र हेरिरहँदा झमकको वास्तविक जीवनलाई नै प्रत्यक्ष नियालिरहेको महसुस हुन्छ l कथावस्तुको गाम्भीर्यता, अभिनयमा जीवन्तता र निर्देशकीय क्षमताको बेजोड सङ्गम रहेको यो चलचित्र परिवारको लागि हो, समाजको लागि हो, देशको लागि हो अनि झमक जस्तै शारीरिक रुपमा अशक्त तमाम बालबालिकाहरुको लागि हो l जसले धार्मिक अन्धविस्वासका कारण आफ्नै सन्ततिलाई पाप र बोझ ठान्नेहरुको सोच र चेतनामा परिवर्तन ल्याउन सक्दछ l चलचित्रले कैयौं पटक दर्शकको शरीरमा विस्मातका तरङ्गहरु उत्पन्न गराउँछ, मुटुमा आँधी ल्याउँछ, स्तव्ध बनाउँछ अनि अनायासै सुस्केरा हाल्न बाध्य गराउँछ l ‘जीवन काँडा कि फूल’ सम्भवत: कृतिमा आधारित सबैभन्दा संवेदनशील विषयको, सबैभन्दा सार्थक, सबैभन्दा मननीय, सबैभन्दा प्रशंसनीय र सबैभन्दा सन्देशमूलक चलचित्र हो l चलचित्रले ‘जीवन काँडा कि फूल’ हो निष्कर्ष दिएको छैन l वास्तवमा यो सबैका लागि एउटा अनुत्तरित प्रश्न हो l आ-आफ्नो भोगाई र सोचाई, जीवन काँडा पनि हो र फूल पनि l

विनोद विष्टको निर्देशनमा निर्माण भएको यस चलचित्रमा अवस्था थापाका अतिरिक्त रोजिता वुद्धाचार्य, सारिका घिमिरे, किशन सुनार, उमा गिरी आदि कलाकारको प्रमुख भूमिका रहेको छ l झमक घिमिरे र प्रकाश शिवाकोटीको गीत तथा प्रकाशकै सङ्गीतमा जुनु गौतमको स्वर रहेको यो चलचित्रमा बद्रि चौहान, जुनु गौतम र उमेश सुवेदीले लगानी गरेका छन् l चलचित्र झमकको जन्मस्थान धनकुटा, धरानको विपी मेमोरियल अस्पताल र काठमाण्डौमा छयाङ्कन गरिएको थियो l ‘जीवन काँडा कि फूल’ २०६७ सालमा मदन पुरस्कार विजेता पुस्तक हो l चलचित्रसँग जोडिएका सबै पात्र नि:सन्देह प्रशंसाका अधिकारी हुन् तथापि निर्देशक विनोद बिष्ट र बालकलाकार अवस्थाले यसपछि चलचित्र क्षेत्रमा आफ्नो उपस्थिति नदेखाए पनि ‘जीवन काँडा कि फूल’ को निर्देशक र बालकलाकारका रुपमा अमरत्व प्राप्त गरेका छन् l

Video Link