‘लोजिमा’को नेपालमा पनि प्रथम प्रदर्शन, हाउसफुल भएपछि कैयौं दर्शकले भुइँमा बसेर फिल्म हेरे l  

-तुलसी गिरी ‘भावुक’

सागर सुब्बाद्वारा निर्देशित लिम्बू भाषाको चलचित्र ‘लोजिमा’ को नेपालमा पनि पहिलो तथा विशेष प्रदर्शन सम्पन्न भएको छ l गत पुस २२ गते सिक्किममा प्रीमियर शो सम्पन्न भएको यो चलचित्रलाई त्यहाँका दर्शकहरुले अत्याधिक मन पराएका थिए भने नेपालको पहिलो शो पनि ऐतिहासिक रुपमा सफल भएको छ l

माघ १३ गते शनिबार कृष्णराज कम्प्लेक्स, भद्रपुर, झापामा सम्पन्न भएको सो विशेष प्रदर्शनमा आयोजकले आङ्कलन गरे भन्दा अत्यन्तै धेरै दर्शकहरुको उपस्थिति रहेको, छिट्टै हाउसफुल भएपछि केही दर्शक यत्तिकै फर्किएका र केही दर्शकहरुले भूइँमा बसेर भएपनि चलचित्र हेरेको कुरा निर्देशक सागर सुब्बाले जानकारी गराएका छन् l

दर्शकहरुलाई धन्यवाद दिँदै चलचित्रका निर्देशक सुब्बा भन्छन-‘दर्शकको यो अपार मायाले हामी अत्यन्तै खुशी छौं l यो सांस्कृतिक चलचित्र भएकोले धेरै संवेदनशील पनि थियो l तर चलचित्र हेरिसक्नुभएका दर्शकहरुबाट पनि सकारात्मक प्रतिक्रियाहरु आएकोले हामी धेरै उत्साहित छौं र मेहेनत सार्थक भएको ठानेका छौं l’ नेपालको लागि पहिलो प्रीमियर भएको यस शो को आयोजना लोकप्रिय सङ्गीतकार तथा समाजसेवी संगीत आङ्खेवा लिम्बूले गरेका थिए l

पाथीभरा च्यानलको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विशेष प्राविधिक सहयोगीको रुपमा निर्देशक वसन्त अधिकारीले साथ दिएका छन् l  चलचित्रमा सञ्जय अधिकारीको सम्पादन र अशोक राईको पार्श्व सङ्गीत रहेको छ भने साउण्ड डिजाइन मानषी किरणले र पोष्टर तथा स्टिकर डिजाइन आइडियल डिजाइनर्सका निर्देशक सुन्दर श्रेष्ठले गरेका छन् l ‘सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक अवार्ड’ पाउन सफल शेर्पा भाषाको चलचित्र ‘कुसुम’ को निर्देशन गरेर चर्चामा आएका निर्देशक सागर सुब्बाको ख्यातिलाई यस चलचित्रले अझ उचाईमा लाने देखिएको छ l सागर सुब्बाको कथा/निर्देशन रहेको यस चलचित्रको पटकथा/संवाद सागर केरुङ्ले लेखेका हुन् l

चलचित्रमा बिमला खजुम लिम्बूको अलावा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पहिम, नुनाम केरुङ, हस्त लिबाङ, सहाराहाङमा पन्धाक लिम्बू, सेरिना राई, बिनी सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवी लिम्बू, ज्ञानु खम्दाक, लगायतका कलाकारहरुको अभिनय रहेको छ l

यसैगरी चलचित्रमा निर्माता आशाहाङ आङ्बो र कार्यकारी निर्माता पम्फावती राई रहेका छन् भने मुख्य सहायक निर्देशकमा दीपक अधिकारी, छायाकार रविन्द्र बराल र मेकअप आर्टिष्ट नरेश खरेल रहेका छन् l अशोक लोहरुङ राईको म्युजिक एरेन्ज रहेको यस चलचित्रमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मसले गरेको हो भने र स्वराङ्कन एम. के. प्रोडक्सनमा भएको हो l

यतिबेला सिक्किमकै विभिन्न स्थानमा विशेष प्रदर्शनहरु भईरहेका छन् भने  नेपालमा पनि काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायतका विभिन्न ठाउँमा क्रमश: प्रदर्शन गरिने कुरा समेत निर्देशक सुब्बाले बताएका छन् l निर्देशक सुब्बाले नेपालभित्रै ३० भन्दा बढी स्थानमा प्रदर्शन मिति पक्का भईसकेको र युके, कोरिया, हङकङ, मलेशिया लगायतका अन्तर्राष्ट्रिय मुलुकहरुमा समेत प्रदर्शन हुने जानकारी गराएका छन् l चलचित्र मनोरन्जनको लागि मात्र नभएर समाज रुपान्तरणका लागि चेतना र सन्देशको संवाहक पनि हुनु पर्दछ भन्ने कुरामा आफू सचेत रहेको निर्देशक सागर सुब्बाले बताएका छन् l