‘ड्रेस टू इम्प्रेस’ फेशन डिजाइनरहरुको प्रतिस्पर्धा

मङ्गलबार साँझ बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा ७१ जना युवा युवती बिभिन्न आकर्षक एवं मनमोहक डिजाइनका पहिरनहरुमा चिटिक्क सजिएर बसेका थिए । आफ्ना लागि आफैंले तयार पारेको पहिरन र सोही पहिरनलाई मोडल जस्तै बिभिन्न हाउभाउका साथमा रनवेमा प्रस्तुत गर्नका लागि आतुर उनीहरुमा बेग्लै खालको उत्सुकता र रोमाञ्चकता देख्न सकिन्थ्यो । आईआईएफटी नेपाल नामक फेशन डिजाइनिङ इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले ड्रेस टू इम्प्रेस शीर्षक अन्तर्गतको प्रतियोगिताका लागि त्यसरी आफूलाई तयार पारेका थिए ।

कार्यक्रमले गति लिएसँगै फिटेड गाउन, लेहेङ्गा , ककटेल, कल्चुरल तथा फ्लो गाउन अन्तर्गत विद्यार्थी डिजाइनरहरुले आफूले सिर्जना गरेका पहिरनहरु आफैंले प्रस्तुत गरे । उनीहरुको मोडलरुपी प्रस्तुतिलाई कोरियोग्राफर विपना थापाले निर्देशन गरेकी थिइन् । उनीहरुको सिर्जनाको मूल्याङ्कनमा थिए ग्ल्यामर फोटोग्राफर राजभाइ सुवाल, हेयर स्टाइलिष्ट नील डेविड कटुवाल, डिजाइनरद्वय विश्व गौतम र राजु सुवाल तथा गायिका एवं नायिका विष्णु चेम्जोङ ।

करिव दुई घण्टाको  प्रस्तुतिको अन्तमा ड्रेस टू इम्प्रेसको विजेता घोषणा गरियो । जसमा कालो रंगको फ्लो गाउन बनाएकी सोनी श्रेष्ठ विजेताको हकदार बनिन् भने मयुरबाट प्रभावित ककटेल पहिरन बनाएकी स्वेता शाक्य फर्ष्ट रनरअप तथा टाईडाई गरी तयार पारिएको लेहेङ्गा बनाएकी शारह बानियाँले सेकेण्ड रनरअपको अवार्ड थाप्न सफल भए । उनीहरुले क्रमशः नगद पुरस्कार रु पन्ध्र हजार, दश हजार र आठ हजार प्राप्त गरेका थिए । कार्यक्रममा गायकद्वय लाक्पा शेर्पा र प्रवेशमान शाक्य तथा गायिका विष्णु चेम्जोङले आफ्ना गीतहरु सुनाएका थिए ।