एप्रिला लामाले जितिन् मिस मङ्गोलको ताज


मिस मङ्गोल नेपाल २०२१ को उपाधि काठमाडौंकी २१ वर्षीया एप्रिला लामाले जितेकी छन् । उनले शीर्ष उपाधिसहित एक लाख रुपैया पुरस्कार र बैंकक टुर प्याकेज पनि प्राप्त गरेकी छन् । त्यसैगरी ताप्लेजुङकी २३ वर्षीया प्रिया लिम्बू मादेन फस्ट रनरअप र ललितपुरकी २१ वर्षीया विभीषिका श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए ।  प्रिया र विभीषिकाले पनि चार दिनको बैंकक टुर प्याकेज प्राप्त गरेका छन् ।

रिडी ग्रुपको शीर्ष प्रायोजनमा भएको यस प्रतियोगितामा काठमाडौंकी प्रदिका महर्जन मिस मङ्गोल बागमती, रौतहटकी चन्द्रकुमारी सारुमगर मिस मङ्गोल प्रदेश २ र पाँचथरकी शान्ता योङहाङ मिस मङ्गोल प्रदेश १ घोषित भए । त्यसैगरी खोटाङकी शान्त्वना राई मिस ट्यालेन्ट, ललितपुरकी समिता बज्राचार्य कल्चरल एम्बासडर र सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पा मिस फोटोजेनिक एवं मिस लिडरसिप घोषित भए ।

प्रतियोगिताको निर्णायकहरुमा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, रिडी ग्रुपका निर्देशक डीबी आले, स्काई ग्रुप अफ कम्पनीका अध्यक्ष राजन श्रेष्ठ, प्राज्ञ सङ्गीतकार शान्तिराम राई, पूर्वएसएसपी दीपक रञ्जित, मनोविज्ञ अजेलिया रञ्जितकार, मिस मङ्गोल नेपाल २०१४ डा. एनिस्ता गुरुङ, मिस मङ्गोल नेपाल २०१८ जाङमु शेर्पा र म्युजिक भिडिओ निर्देशक विज्ञान राई रहेका थिए ।

एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मङ्गोल नेपाल २०२१ मा १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिताको यो १२औं संस्करण हो । यस संस्करणमा पासाङ डोल्मा शेर्पा (सिन्धुपाल्चोक), चन्द्र सारुमगर (रौतहट), पासाङ ल्हमु शेर्पा (काठमाडौं), विभीषिका श्रेष्ठ (ललितपुर), गीता लिम्बु (मोरङ), प्रमिला तामाङ (काभ्रे), रेजिना राई (मोरङ), वर्षा रञ्जित (काठमाडौं), समिता वज्राचार्य (ललितपुर), सान्त्वना राई (खोटाङ), स्नेहा खड्गी (काठमाडौं), प्रिया लिम्बु मादेन (ताप्लेजुङ) सहभागी थिए । त्यसैगरी, शान्ता योङहाङ (पाँचथर), कुसुम राई (ओखलढुंगा), छिरिङडोल्मा तामाङ (रामेछाप), करुणा तामाङ (नुवाकोट), एन्जिला रञ्जित (काठमाडौं), सजिना तामाङ (काठमाडौं), प्रिया राई (सुनसरी), साङडोमा ह्योल्मो (काठमाडौं), एप्रिला घिसिङ (काठमाडौं) र प्रदिका महर्जन (काठमाडौं) अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए ।