‘मिस लिटिल आईडल २०२२’ को आयोजना हुने

तुलसी गिरी ‘भावुक’


प्याब्सन काठमाण्डौ र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा ‘मिस लिटिल आईडल २०२२’ को आयोजना हुने भएको छ l आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराईएको हो l शैक्षिक कोर्समा नसमेटिएका तर विद्यार्थीहरुका लागि आवश्यक अतिरिक्त विषयबारे ज्ञान दिने उद्देश्यले यो प्रतियोगिताको आयोजना सुरु गरिएको कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको छ l कोरोना महामारीका कारण विगत २ वर्षदेखि प्रतियोगिता रोकिएको थियो l

पत्रकार सम्मेलनमा प्याब्सन काठमाण्डौका अध्यक्ष प्रेम कुमार राईले प्रतियोगितामा विभिन्न विध्यालयमा अध्ययनरत ८ देखि १३ वर्ष उमेरका बालिकाहरु सहभागी हुन पाउने कुरा जानकारी गराएका छन् l ‘प्रतियोगिताले बालिकाहरूमा अन्तर्निहित प्रतिभा प्रष्फुटन, आत्मविश्वाश एवं समग्र व्यक्तित्व विकाशका साथै सिर्जनात्मक कार्यका लागि प्रेरित गर्न मद्दत गर्ने छ’ अध्यक्ष राईले भने l

प्याब्सन काठमाण्डौकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल) ले कार्यक्रमको बारेमा प्रकाश पार्दै परिचय राउण्ड, कल्चरल राउण्ड, टप १५ राउण्ड र टप ७ राउण्ड गरी ४ राउण्डमा प्रतिस्पर्धा गराइने जानकारी गराएकी छिन् l ‘शैक्षिक कोर्समा नसमेटिएका बदलिँदो समय अनुसार आवश्यक ज्ञान दिन र बालिकाहरूमा अन्तर्निहित क्षमता अभिवृद्धि गर्न प्रतियोगिता राम्रो प्लेटफर्म भएको छ l अघिल्ला कार्यक्रमहरुका विषयमा अभिभावकहरुबाट समेत प्रतिस्पर्धामा सहभागी भएका बालिकाहरुमा अत्यन्तै सकारात्मक परिवर्तन आएका प्रतिक्रियाहरु प्राप्त भएका थिए l हरेक विद्यार्थीमा केही न केही फरक र विशेष क्षमता हुन्छ l त्यस्तो क्षमताको पहिचान गरी बाहिर ल्याउनका लागि आभिप्रेरित गर्न यस्ता प्रतियोगिताहरुको विशेष भूमिका रहन्छ l यो समयको माग हो’ उपाध्यक्ष राईले भनिन् l

यस पटकको प्रतियोगितामा हरेक सहभागीहरुलाई उनीहरुमा निहित क्षमता र प्रतिभाको पहिचान गरी सोही अनुसार उपाधि सहित सम्मान गरिने कुरा पत्रकार सम्मेलनमा जानकारी गराईएको छ l ‘सहभागी विद्यार्थीहरुमा जो सँग जुन प्रकारको क्षमता छ त्यसमा निखार ल्याई सोही अनुसार सबैलाई प्रमाणपत्र, उपहार र ट्रफी प्रदान गरिने कुरा समेत कार्यक्रम संयोजक रीता राई (दाहाल) ले जानकारी गराएकी छिन् l बालिकाहरुमा ममा पनि केही न केही प्रतिभा र क्षमता छ भन्ने आत्मविश्वास कायम रहोस् र हारको अनुभूति नहोस् भनेर नै सबै प्रतिस्पर्धीहरुलाई पुरस्कृत गर्न लागिएको कुरा समेत संयोजक राईले स्पष्ट पारेकी छिन् l ‘यसले गर्दा सहभागीहरुमा उत्साह कायम रहन्छ र भविष्यमा केही गर्नुपर्छ भन्ने भावना जागृत हुन्छ भन्ने हामीलाई लागेको छ’ संयोजक राईले भनिन् l

पत्रकार सम्मेलनमा साँस्कृतिक संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले अहिलेको युग किताबी ज्ञानको युग मात्र नभएर अतिरिक्त प्रतिभा र क्षमताको समेत युग भएको बताउँदै यस प्रकारका प्रतियोगिताहरुले बालिकाहरुको अन्तर्निहित क्षमता र समग्र व्यक्तित्व विकाशमा अहम् भूमिका खेल्ने विचार राखेका थिए l ‘डिभिजन र मार्कसिटको पर्सेन्टेजले मात्र विद्यार्थीहरुको भविष्य सुनिश्चित हुँदैन l नेत्तृत्वदायी क्षमताको विकाश, आत्मविश्वास, सामाजिक चरित्र र अतिरिक्त क्षमताको प्रदर्शनका लागि यस्ता प्रतियोगिताहरुको ठूलो महत्व हुने गर्दछ l यो अत्यन्तै सराहनीय काम हो’ महाप्रवन्धक राईले भने l  

प्राप्त जानकारी अनुसार विद्यालयको सिफारिसमा सहभागिताका लागि सुरुमा आवेदन दिने लगभग ६० जना छात्राहरुलाई प्रतिस्पर्धामा सहभागी गराइने छ l कार्यक्रम आयोजनाका लागि प्याब्सन काठमाण्डौले रीता राई (दाहाल) को संयोजकत्वमा सूर्य भण्डारी, अनिल पराजुली, जेसिका चेम्जोङ र कृष्ण भण्डारी सम्मिलित पाँच सदस्यीय समिति गठन गरेको छ l यही साउन ७ गतेदेखि प्रशिक्षण सुरु गरी साउन २८ गते शनिबार साँस्कृतिक संस्थानको मेघा हलमा फाइनल प्रतिस्पर्धा गराइने छ l प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट रनरअप र सेकेण्ड रनरअपलाई क्रमश: नगद रू. ३० हजार, २० हजार र १० हजारका साथै प्रमाणपत्र तथा उपहारहरु प्रदान गरिने छ भने पहिलो, दोस्रो र तेस्रो हुने सबैलाई पढिरहेकै स्कूलमा एक एक वर्षको पूर्ण छात्रवृत्ति प्रदान गरिने छ l सन् २००९ देखि वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतियोगिताको यो एघारौँ संस्करण हो l