चलचित्र ‘आर्या’को गीतमा मानुङ डाँडाको लोभलाग्दो सौन्दर्य !


दमौलीको मानुङ डाँडा आन्तरिक पर्यटनका दृष्टिले सुप्रसिद्ध छ । त्यही मानुङ डाँडाको मनोरम स्थानमा छायाङ्कन भएको नेपाली कथानक चलचित्र आर्या को गीत हाम्रो धर्ती को भिडियो ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । तिमिल्सिना फिल्म प्रोडक्सनबाट निर्माण भएको चलचित्र आर्या लकडाउनका कारण प्रदर्शनका लागि थाँती रहेको भएपनि गत मङ्सिर १ गते सो भिडियो सार्वजनिक गरिएको हो । चलचित्र उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेका हुन् ।

प्रसिद्ध गायिका मेलिना राइको सुमधुर स्वर रहेको राष्ट्रिय भावले ओतप्रोत यो गीत लक्ष्मण सिटौलाले रचना गरेका हुन् भने राम सिटौलाको सङ्गीत रहेको छ । कविराज गहतराजको नृत्य निर्देशनमा गीतको भिडियो तयार भएको हो । ‘नेपाली चलचित्रको इतिहासमा राष्ट्रिय झण्डाको यति धेरै प्रयोग भएको गीत सम्भवत: यो नै पहिलो हो । भिडियो मार्फत झण्डालाई नेपाल र नेपालीको आत्मसम्मान र राष्ट्रिय गौरवको प्रतीक मान्नुपर्छ भन्ने सन्देश प्रवाह गरिएको छ’ भिडियोका निर्देशक गहतराज भन्छन् । गीतमा राष्ट्रभक्ति, स्वतन्त्रता, नेपाल र नेपालको अभिभाज्य मनमुटु र झण्डाको महिमा व्यक्त गरिएको छ ।

भिडियोमा तनहूँको मानुङ डाँडाको मनोरम दृश्य बडो रोचक ढङ्गले दृष्याङ्कन गरिएको छ । मानुङ र त्यसको सेरोफेरोको सम्पूर्ण प्राकृतिक सौन्दर्य कैद गरिएको यो भिडियोमा शिल्पा पोखरेल र अन्य नृत्य कलाकारहरुले अभिनय गरेका छन् ।