कोराना नियन्त्रणका लागि सहकार्य गरौं

-डा. डीआर उपाध्याय

कोराना सङ्क्रमण (कोभिड–१९) नियन्त्रणका लागि सबै पक्ष मिलेर जानु पर्ने आवश्यकता देखिएको छ । अव सरकारको मात्र मुख ताकेर बस्नु हुदैन । यसको नियन्त्रणका लागि सामूहिक प्रयास जरुरी छ । सरकारको प्रयासले मात्र कोराना सङ्क्रमण (कोभिड–१९) नियन्त्रण गर्न सम्भव छैन । यति बेला कोराना सङ्क्रमण बढिरहेको छ । अव जाडो मौसम सुरु हुन थाल्यो । यो जाडो मौसममा सङ्क्रमण अझै बढने चिकित्सकले बताउँदै आएका छन । त्यसैले कोराना नियन्त्रणका लागि सबै पक्ष तथा सरोकारवाला निकायबीच सहकार्य हुनुपर्ने जरुरी देखिएको छ । कोराना सङ्क्रमणबाट जोगिनका लागी सबैभन्दा पहिला तपाई हामी आफैँ संवेदनशील र होसियार बनौं । सङ्क्रमण हुन नदिन र भइहालेमा त्यसबाट आफू तथा आफ्ना सम्पर्कमा आउनेलाई बचाउने पहिलो दायित्व भनेकै तपाई हाम्रो हो ।

कतिपय सङ्क्रमित खुलेआम बाहिर हिँडडुल गर्ने गरेका जानकारी पनि आएका छन । यसरी सङ्क्रमित खुलेआम बाहिर हिँडडुल गर्नु हुदैन । सङ्क्रमण नियन्त्रणमा नागरिकको सवै भन्दा महत्वपूर्ण भूमिका हुन्छ । सङ्क्रमण एक ब्यक्तिबाट अर्को ब्यक्तिमा फैलिने भएकाले सवै सचेत बनौं । सवै भन्दा पहिला आफै सचेत हुनु नै सङ्क्रमणबाट बँच्नु हो । आफूबाट परिवार तथा समुदायमा सङ्क्रमण नफैलियोस् भनेर हामी सवै सचेत हुनु पर्छ । हामी सजग भयौं भने सङ्क्रमणबाट बँच्न सकिन्छ । सवै व्यक्तिले आ आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्छ । त्यसो भयो भने मात्र सङ्क्रमण फैलन पाउँदैन ।

यो महामारीको सङ्कटका बेला सवै मिलेर जाने बेला हो । स्थानीय टोलवासी, जनप्रतिनिधि तथा आमजनता सचेत र जिम्मेवार भएर अघि बढनु पर्छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि हामी सवैले आ आफनो ठाउँबाट सचेतना फैलाउन जरुरी छ । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न हामी सवैको प्रयास आबश्यक छ । कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने आवश्यक छ । यही नै पहिलो उपचार पनि हो । यस्तो सङ्क्रमणको उपचार र स्वास्थ्य होसियारीलाई सँगसँंगै लैजानुपर्ने देखिएको छ । स्थानीय तह देखि सबै तहका जनप्रतिनिधि, सचेत वर्ग, सामाजिक कार्यकर्ताले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने टडकारो आबश्यकता देखिएको छ । यस्तो कोरोना संकटका बेलामा राजनीतिक दलका युवा तथा विद्यार्थी सङ्गठनहरूले आफूलाई समाज सेवामा समर्पित गर्नु पर्ने आबश्यकता देखिएको छ । जनप्रतिनिधिहरू मतदाताको घरमा केवल मत माग्न र चुनावका बेलामा मात्र आउँछन् भन्ने गुनासो र आरोप छ । त्यसैले सबै तहका जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने देखिएको छ ।