चलचित्र निर्देशक माधव राज खरेलको निर्देशनमा लघुचलचित्र मृत्युकोषको छायाङ्कन सम्पन्न भएको छ । काठमाण्डौ, ललितपुर र नुवाकोटका विभिन्न स्थानमा छायाङ्कन गरिएको मृत्युकोषलाई मुकेश हुमागाईले खिचेका छन् भने उनलाई छायाकार राजन खरेलले साथ दिएका छन् । उक्त चलचित्रमा बिक्रम गौतमको मेकअप रहेको छ ।
चलचित्रमा एकजना मानिसले आफ्नो जीवनको उत्तरार्धमा आएर भोग्नु परेको समस्याहरुलाई उठान गरिएको छ । नेपाली परिवेशमा पछिल्लो समय युवाहरुको प्रवास पलायनको प्रमुख मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषयबस्तुभित्र रहेर एउटा सशक्त सामाजिक सचेतनाको लागि पनि यो चलचित्रको निर्माण गरिएको कुरा निर्देशक खरेलले बताएका छन् ।
चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दीपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा. राजिव यादव, सौरिका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।
एरा प्रोडक्सनको प्रस्तुति र सञ्चारकर्मी कमला जोशी निर्माता रहेको उक्त चलचित्रलाई खरेलले नै लेखेका हुन् । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक माधव राज खरेलले नेपालको पहिलो मौन चलचित्र ढुङ्गे युग, बिरानो माया, ढुङ्गे युग- २, कुईनेटो, दुर्गामाण्डौ, हेवे करैते भोर, गढीमाई, चिट्ठी लगायत चलचित्रहरुको निर्देशन गरिसकेका छन् । खरेलकै निर्देशन तथा लेखनमा निर्माण सम्पन्न भईसकेको चलचित्र चिट्ठी प्रदर्शनको तैयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ ।