गठबन्धनको राजनीति, चुनावी घोषणा पत्र र निर्वाचन

-डा.डी.आर.उपाध्याय खनाल

यतिबेला देशभरि नै चुनावी माहोल तातेको छ । यसै सिलसिलामा बिभिन्न राजनीतिक दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन् । घोषणा पत्रमा खासै नयाँ कुरा केही पाउन सकिदैन । हुन त घोषणा पत्र जारी गर्दैमा सबै कुरा पूरा हुन्छन् भन्ने कुनै ग्यारेन्टी छैन । बिगतका पटक पटकका चुनावमा पनि चुनावी घोषणा पत्र जनताले पढेकै हुन् । तर ती घोषणापत्रमा लेखेका कुरा कार्यान्वयन भएको पाइँदैन । जनतालाई सधैं भ्रममा राखेर भोट बटुल्ने खेल राजनीतिक दलहरुले पटक पटक गरिरहेका छन् ।

अब जनताले पहिले जस्तो झुक्किने काम गर्नु हुँदैन । बिबेक प्रयोग गरेर मात्र हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई जिताउने अभियानमा लाग्नु पर्छ । त्यसो भयो भने मात्र मुलुकको भविश्य बन्छ । खराव मान्छेलाई चुनावी माध्यममार्फत ठाउँका ठाउँ रोक्नु पर्छ । पुराना नेताहरुलाई पटक पटक हेरियो अब युवालाई हेर्न बाँकी छ । युवा नेताहरु देश र जनताको भाग्य र भबिश्य निर्माण गर्ने सोचका साथ अघि बढ्नु पर्छ । जनतासँग जे बाचा गरेर भोट मागिन्छ त्यसै गरी चुनाव जिते पछि दायाँ बायाँ नगरी बाचा अनुसार काम गरेर देखाउनु पर्छ । पछिल्लो समय आम नागरिकले राजनीति प्रति त्यति चासो राखेको पाइँदैन । कारण के हो भने राजनीति प्रति जनतामा बितृष्णा बढ्यो ।

लामो समयदेखि राजनीतिक दलहरुले देशमा शासन चलाइरहेका छन् । तर जनताको अवस्थामा अझै सुधार आउन सकेको छैन । जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । त्यसो भएर जनतामा निराशा उत्पन्न भएको हो । आज दलहरु लोकतन्त्रमा पनि गठबन्धनको राजनीति गरेका छन् । गठबन्धन गरेर चुनाव लड्ने र चुनाव पछि मिलिजुली सरकार बनाउने त्यस पछि मुलुकमा अस्थिरता निम्त्याउने खेल ठूला दलहरुमा देखिएको छ । यसरी मुलुक बन्दै बन्दैन l यो कुरा म बारम्वार उठाउदै आएको छु ।

गठबन्धनको राजनीतिले मुलुकलाई अघि बढाउन सक्दैन । राजनीतिक दलहरू आआफ्ना सिद्धान्त, विचार र कार्यक्रम लिएर जनतासामु जानु पर्नेमा सिद्धान्त, विचार नै नमिल्ने दलसँग तालमेल गरेर चुनावमा जाँदा जनताले के आधारमा बिश्वास गर्ने ? जनताले प्रश्न गर्नु पर्ने भएको छ । २०४७ सालदेखि अहिलेसम्म तीनै पुराना नेताहरु पटक पटक दोहोरिदै आएका छन् । ती नेताबाट जनताले कुनै आश गरेका छैनन् । फेरि पनि ति पुरानै नेताहरु दोहोरिएर आउनु भनेको देशको प्रगतिलाई पछाडि धकेल्नु हो ।

सबै राजनीतिक दलहरु मंसिर ४ गते हुन गइरहेको चुनावलाई केन्द्रमा राखेर मैदानमा उत्रिएका छन् । उनीहरु जनतालाई गलत प्रलोभन दिएर मत बटुल्ने काम गरिरहेका छन् । जनताले राजनीतिक स्थिरता, सरकारको स्थायित्व, सुशासन र विकास चाहेका छन् । आगामी निर्वाचनमा पूर्ण बहुमत कुनै दलले ल्याउन सक्ने अवस्था देखिदैन । त्यसो भएकोले संसद् त्रिशंकु हुन जानेछ र सरकार बनाउने र भत्काउने परम्परागत खेल हुने छ । गठबन्धन आजको आवश्यकता होइन । किनभने यसले चुनाव पछि अस्थिरता निम्त्याउने खतरा छ । राजनीतिक स्थिरता नभएसम्म देशको बिकास सम्भव छैन । आम मतदाताले सोचनु पर्ने बेला आएको छ ।