स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आवश्यकता

डा. डीआर उपाध्याय


देशमा बेरोजगारी समस्या दिनौं बढ्दै गएको छ । यो चिन्ताको बिषय हो । बेरोजगारी समस्या समयमै समाधान हुन सकेन भने देशमा असन्तुष्टिका स्वरहरु गुञ्जिन थाल्छन् । यसलाई समयमै सम्बोधन गर्ने कार्य प्रभावकारी हुन जरुरी छ । यदि समयमै यो समस्या समाधान गर्न सकिएन भने यसले अझ भयावह रूप लिने निश्चित छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसारका रोजगार सिर्जनाका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनको खाँचो छ । स्थानीय, प्रदेश र संघ तीनै तहबाट रोजगार सिर्जनाको कार्यलाई प्राथमिकताका साथ अघि बढाउनु पर्छ । देशमा रोजगारीको अवसर नपाएर युवा जनशक्ति खाडी मुलुक देखि अन्य मुलुकमा पलायन हुन बाध्य छन् । राज्यले ती युवामा आशा, भरोसा र विश्वास जगाउन सक्नु पर्छ ।

हाम्रो देशका युवामा केवल निराशा र वितृष्णा मात्रै छ । यसो हुनुको कारण पनि छ । देशमा गरि खाने शिक्षा भएन । अहिलेसम्म पनि नेपालको शैक्षिक नीति सीपमूलक र व्यवहारमुखी हुन सकेको छैन । जसले गर्दा शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखानाका रुपमा परिणत भएका छन् । पछिल्लो समयमा केही शैक्षिक संस्थाहरू सीपमूलक र व्यवहारमुखी शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लागेका छन् । अव सैद्धान्तिक ज्ञान मात्रै प्रदान गरेर बेरोजगारी समस्या हल हुँदैन । स्वरोजगार बन्ने सीप, दक्षता र उद्यमशीलता आजको आबश्यकता हो । अव सीपमूलक र व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु पर्छ ।

मुलुकमा बेरोजगारी समस्याले भयावह रूप लिएको छ । मुलुकको कृषि, उद्योग, पूर्वाधार निर्माण लगायतका क्षेत्रमा रोजगारको अवसर सिर्जना गर्ने कार्यमा राज्यका तीनवटै तहको पहल आवश्यक देखिएको छ । युवालाई स्वदेशमा टिकाउने वातावरण राज्यले सिर्जना गर्नु पर्छ । युवा बिदेसिनु बाध्यता हो रहर होइन । यही बाध्यताले बिदेसिएका युवाले पठाएको रेमिट्यान्समा देश चलेको छ । तर पनि नेपाली जनता पीडामा छटपटाइरहेका छन् । आफ्नै देशको समृद्धिमा जुट्नुपर्ने युवा परदेशमा आँसु र पसिना बगाउँदै छन् । यो दुखद् कुरा हो । अहिलेसम्म देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ ।

गत बर्ष विश्वव्यापी रुपमा फैलिएको कोभिड– १९ को कारण पछिल्लो समय वैदेशिक रोजगारीमा कमी आएको तथ्यांकले बताएको छ । कामदारको कम मागले गर्दा धेरै देशमा कार्यरत कामदार आफ्नै देश फर्कन बाध्य हुँदैछन् । यसले नेपालजस्ता धेरै देश आर्थिक संकटमा पर्ने सम्भावना बढ्दै गएको छ । नेपालको वैदेशिक रोजगार पनि कोभिड– १९ बाट प्रभावित छ । पछिल्लो समय वैदेशिक रोजगारमा जानेको भन्दा फर्कनेको संख्या बढिरहेको छ । रोजगारका लागि विदेश जानेभन्दा विदेशमा रोजगार गुमाएर फर्कनेको संख्या चार गुणा बढी रहेको देखिन्छ । जसले गर्दा नेपालमा बेरोजगारको अवस्था भयावह हुने देखिन्छ । देशको अर्थतन्त्रसमेत संकटमा पर्न सक्ने सम्भावना देखिएको छ । जोसिला र ऊर्जाशील युवा स्वदेश फर्कनु देशका लागि अवसर पनि हो । यो अवसरलाई राज्यले सही सदुपयोग गर्न सक्यो भने देशले समृद्धिको यात्रामा फड्को मार्ने निश्चित छ ।