देशको बिकास हुन नसकेको कारण के हो ?

-डा. डी. आर. उपाध्याय


अव राजनीतिक दल र तिनका नेताहरु इमान्दार बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताहरु इमान्दार भएनन् भने देश बन्न सक्दैन । सवैभन्दा ठूलो कुरा इमान्दारीता हो । हाम्रो देशमा नेताहरु इमान्दार र पारदर्शी बन्न सकेका छैनन् । जसले जे सुकै भनोस् अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । अव नेताहरुको आचरण र व्यवहारमा परिवर्तन आउन जरुरी छ । जनताले सधै दुःख पाइराख्ने, नेताहरु रातारात धनी बन्दै जाने यो स्थिती छ । यसरी देशको भबिश्य निर्माण गर्न सकिदैन । अव गम्भिर भएर सवैले सोच्ने बेला आएको छ ।

जनताको बिश्वास माथि कसैले पनि खेलवाड गर्ने काम गर्नु हुँदैन । जनताको विश्वास जित्न इमान्दारीता, पारदर्शीता र निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशको भाग्य र भबिश्य निर्माण गर्न सक्छ । देशलाई बिकास र समृद्धिको बाटोमा अघि बढाउन इमान चाहिन्छ । कुराले मात्र देश बनाउन सकिदैन । राजनीति भनेको समाजसेवा हो । जनताको सेवाका लागि राजनीति गरिन्छ । तर नेपालमा राजनीतिलाई ब्यापार बनाइएको छ । यसरी हुँदैन । चित्त दुखेको कुरा यो हो । देश बिग्रिएको छ । यो देशलाई बनाउन सवै जुटनु पर्ने आबश्यकता छ ।

देशको बिकास हुन नसकेको कारण के हो ? यसको खोजी गर्नुपर्ने जरुरी छ । समाजको बिकास नभइ देशको बिकास हुन सक्दैन । यो सवैले बुझेको कुरा हो । राजनीतिक दल र तिनका नेताहरु सवैभन्दा पहिला इमान्दार हुनु पर्छ । इमानको राजनीतिले नै देश अघि बढ्छ । इमानको राजनीति भनेको के हो ? यो बुझन जरुरी छ । जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ । अझै पनि राजनीतिक दल र तिनका नेताहरु देशप्रति संवेदनशील बन्न सकेनन् । अनि देशले कसरी प्रगति गर्छ ? देश बनाउन निष्ठाको राजनीति चाहिन्छ । खै के कारणले हो, राजनीति दूषित बनेको छ । पछिल्लो समयमा आएर नेताहरु आफ्नो ब्यक्तिगत स्वार्थको राजनीति गरिरहेका छन् । सेवा भावनाले अभिप्रेरित भई राजनीतिमा समर्पित रहने व्यक्ति निष्ठावान् हुन्छन् । कसैले राजनीतिलाई आर्जनको पेसा बनाउने गरेका छन । त्यस्तो उद्देश्य लिएर राजनीतिमा लागेका व्यक्तिले नै राजनीतिलाई दूषित बनाएका छन । दूषित राजनीतिक प्रवृत्ति पनि दिनानुदिन फैलँदो अवस्थामा छ ।

पटक पटक सरकार बनाउने र गिराउने खेलले जनता वाक्क दिक्क छन् । कतिपय निष्ठावान् व्यक्ति पनि दूषित राजनीतिकै वातावरणको कारण प्रभावित बन्न पुग्छन् । स्वार्थी प्रवृत्ति नेताका निम्ति लाभ र उत्साहजनक भएपनि जनताका लागि भने घातक बन्दै आएको छ । लोकतन्त्रमा निष्ठाको राजनीतिले आमनागरिकको भावनालाई सम्बोधन गर्छ । दलहरूले निष्ठाकै राजनीति गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो । नागरिकलाई आकर्षित गर्ने भनेको निष्ठाको राजनीतिले हो । क्षणिक लाभ र स्वार्थको राजनीति गर्ने अवसरवादी व्यक्ति नै यतिबेला राजनीतिक वृत्तमा अगाडि छन् । तिनीहरुलाई जनताले चिनेर बसेका छन् । तिनीहरुले देश र जनताको पक्षमा केहि सोच्दैनन् । त्यसैले निष्ठावान् नेताहरु यो देशले खोजेको हो ।