देउवाको नेतृत्वमा नयाँ सरकार गठनः अवसर र चुनौती

-डा. डी. आर. उपाध्याय


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठनसंगै देउवा सामु अवसर भन्दा चुनौति बढी तेर्सिएका छन् । अव देउवाले चुनौतिलाई कसरी सामना गरेर अघि बढ्छन् त्यो भने हेर्न बाँकी छ । समय र परिस्थितिले देउवालाई प्रधानमन्त्री बनाइदियो । भाग्यमा भएपछि कस्को के लाग्छ र ! नेपाली काँग्रेसले ५ वर्ष प्रतिपक्षमा बस्ने जनादेश पाएको हो । देउवाले पनि नसोचेको परिणाम हात परेका छन् । अब देउवाले सवैलाई मिलाएर लैजाने कौशलता देखाउनु पर्छ । परिस्थिति अनुसार उनले हिजो प्रधानमन्त्रीको शपथ लिएका छन् ।

देउवाको सामु तेर्सिएको पहिलो चुनौती विश्वासको मत लिने हो । संविधानको धारा ७६ (५) बमोजिम उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र त्यसका लागि एमालेभित्रको झलनाथ-माधव समूहको बिश्वास जित्नु पर्ने हुन्छ । त्यो नै महत्वपूर्ण कुरा हो । यतिबेला जनता कोरोनाबाट पीडित छन् । युवाहरु बेरोजगार छन् र देशमा भ्रष्टाचार मौलाएको छ । देशमा यावत समस्या ज्यूँका त्यूँ छन् । उनले यी समस्या कसरी सम्वोधन गर्छन् यो पनि एउटा महत्वपूर्ण सवाल हो ।

विश्वासको मत पाए पनि देउवाका लागि सरकार सञ्चालन गर्न सहज हुँदैन । आउँदा दिनहरु त्यति सहज छैनन् । कठिन बाटाहरु पार गर्नु पर्ने देखिन्छ । समयको बेग संगै देउवा अघि बढ्नुपर्ने अवस्था छ । यतिबेला गठबन्धनबाट माधव समूह अलग हुन खोजिरहेको छ । यसले राम्रो संकेत दिएको छैन । त्यो देशका लागि घातक पनि हुनेछ । माधव नेपालले बिश्वास घात गर्न मिल्दैन । माधव नेपालको चट्टानी अडानले यो परिस्थिती निर्माण भएको हो । यो कुरा कसैले भुल्नु हुँदैन । झलनाथ-माधवले यो सरकारलाई जोगाउनु पर्छ । नत्र लोकको जग हाँस्ने छ । फेरि ओलीसँग मिल्ने कुराले देशमा संकट आउन सक्छ ।

ओलीको निरङ्कुशता विरुद्ध लड्ने हिम्मत माधव नेपालले गरेकै हुन् । माधव नेपालले गठबन्धन छोडनु हुँदैन । यदि नेपालले गठवन्धन छोडे घात हुने छ । इतिहासले माफ दिने छैन । माधव नेपालले संसद् पुनर्स्थापना भएकै दिन यो गठबन्धनमा छैन भन्नु हुँदैनथ्यो । उनी जेका लागि लडेका थिए त्यसले सार्थकता पाएको छ । संसद् पुनर्स्थापना भएको छ । नयाँ सरकार गठन भएको छ । शेरबहादुर देउवालाई विश्वासको मत दिने काम बाँकी नै छ, त्यसको लागि पनि गठबन्धनबाट माधव नेपाल अलग हुनु हुँदैन । न्यूनतम रूपमा विश्वासको मत लिने बेलासम्म यो गठबन्धन एक ढिक्का रहनुपर्छ । ओलीको विकल्पमा मुलुकले नयाँ नेतृत्व पाएको छ । विपक्षी गठबन्धनको लक्ष्य पनि यही हो । सरकार बचाउने कुरामा गठवन्धन दह्रो हुनु पर्छ । गठवन्धन कमजोर भयो भने फेरि समस्या उत्पन्न हुने खतरा आउन सक्छ ।