विपद् आउनु भन्दा पहिले पूर्वतयारीको जरुरी

-डा. डी. आर. उपाध्याय


हामीले नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने भएको छ । पहाड, मध्यपहाडी क्षेत्रमा अझै पहिरो जाने क्रम रोकिएको छैन । यो समस्याका रुपमा खडा छ । तराईमा डुबानको समस्या छ । अहिले हरेक समस्याले नेपालीलाई थिचिरहेको छ । देशमा भर्खरै मनसुन सुरुवात भएको छ । बिशेषगरी नेपालमा जेठ, असार, साउन र भदौ महिना पानी पर्ने महिना हुन् । यी महिनामा बाढीपहिरोको खतरा पनि हुने गर्छ । बाढीपहिरोको जोखिम वर्षायाममै हुन्छ । त्यसैगरी, विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ । यसर्थ प्राकृतिक प्रकोपका कारण बर्सेनि सयौं मानिसको मृत्यु हुने गरेको छ । र यसका साथै खर्बौं मूल्य बराबरको आर्थिक क्षति हुने गरेको छ । देशको तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो छ । तर समग्रमा प्राकृतिक प्रकोप र विपद्बाट नेपालले बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ ।

नेपाल प्राकृतिक प्रकोपको दृष्टिले अत्यन्त जोखिममा रहेको छ । प्राकृतिक प्रकोपले हरेक वर्ष मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ । यसैले हामी सधैं नै सजग र होसियार हुनुपर्छ । सरकारी प्रयासले मात्र यो सम्भव हुँदैन ।यतिबेला मूलतः कोरोनाको कहरसँगै मुलुक बाढी र पहिरोको चपेटामा परेको छ । वर्षामा पहाड र हिमाली क्षेत्रमा पहिरो जाने र तराईमा बाढी र डुबानका कारण बर्सेनि अर्बौंको धनजनको क्षति भइरहेको छ । भूकम्प, डढेलो, बाढी, पहिरो, डुबान, हावाहुरी जस्ता अनेक विपत्तिको सामना नेपालले निरन्तर गर्नु परिरहेको छ । विपत्तिको सामना गर्न र आवश्यक उद्धारका लागि प्रविधि, सीप र संयन्त्रको विकास आबश्यक छ । यसैगरी मनसुन सुरु भएसँगै असारको १ गते मंलबारदेखिको वर्षाका कारण आएको बाढी, पहिरोबाट सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, जुम्ला, बाग्लुङ, दाङ, प्युठान, कास्की, पर्वत, म्याग्दी, डोटी बढी प्रभावित भए । यसको साथसाथै बाढीपहिरोको चपेटामा अन्य जिल्ला पनि परेका छन् ।

गृह मन्त्रालयका अनुसार बाढीका कारण ३८ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन् । र ५१ जना घाइते भएका छन् । यस वर्षाले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा पुर्याएको छ । अविरल वर्षाका कारण मुलुकका मुख्य राजमार्ग अवरुद्ध हुने क्रम जारी रहेको छ भने हजारौं मानिस गन्तव्यमा पुग्न नसकेर बाटोमा नै अलपत्र परेका छन् । त्यसरी नै गत वर्ष भेलपहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको सिन्धुपाल्चोक यसपालि पनि मनसुनको सुरुवाती समयमै त्यसैगरी प्रभावित हुन पुगेको छ ।

जनतालाई बाढीपहिरोसम्बन्धी पूर्वसूचना दिने कार्य बेलैमा गराउन सकियो भने विपद्बाट हुने ठूलो जनधनको क्षतिमा कमी ल्याउन सकिने छ । यो कुरामा ध्यान दिन जरुरी छ । नेपाल सरकारले विपद् आउनु भन्दा पहिले पूर्वतयारी गर्नु पर्छ । त्यसो भएमा ठूलो जनधनको क्षति बेहोर्नु पदैन । यसरी प्रत्येक वर्ष विपद्को सामना गर्नुपर्ने देशले पूर्वतयारीमा ध्यान दिनु पर्छ । देशमा विपद्ले च्यापेपछि मात्रै हतारमा तयारी गर्ने बानीमा सुधार ल्याउनुपर्ने देखिन्छ ।