कुण्ठा र अहंकारले कसैलाई फाइदा गदैन

-डा. डी. आर. उपाध्याय


लामो समयदेखि नेकपा एमालेमा देखिएको गतिरोध अझै अन्त्य हुन सकेको छैन । यो गतिरोध अन्त्य भएमा मुलुकले छिटो राजनीतिक निकास पाउने छ । एमालेका कारण मुलुक संकटतर्फ उन्मुख छ । यदि समयमा एमाले जुटेर जाने हो भने धेरै समस्या समाधान हुने छ । एमाले मिल्नु पर्छ । मिलेर गए जस्तो राम्रो अरु हुँदैन । तल्लो तहका नेता कार्यकर्ताहरुले एमाले मिलेर गए हुन्थ्यो भनेका छन् । एक आपसमा लडेर जाँदा बिरोधिलाई फाइदा हुने हो आफूलाई हुँदैन । यो कुरा ओली, माधवले बुझनु पर्छ । यदि समय छँदै कुरा नबुझे भोलि पछुताउनु बाहेक अरु केही हुने छैन ।

पार्टी बिभाजनले कसैलाई फाइदा गरेको छैन । बिगतको इतिहासलाई केलाएर हेर्ने हो भने पार्टी फुटेर भन्दा जुटेर फाइदा भएको छ । पार्टीहरु जुट्नाले गत निर्वाचनमा बहुमत आएको हो । यदि एमाले र माओवादी केन्द्र नमिलिकन चुनाव लडेको भए कसैको बहुमत आउने थिएन । कसैले घमण्ड नगरे हुन्छ । एमाले एक ढिक्का भएर अघि बढ्नु पर्छ । त्यसो भयो भने राम्रो हुन्छ । कुण्ठा र अहंकारले कसैलाई फाइदा गदैन । माओवादी केन्द्र पनि एक ढिक्का हुनु पर्छ । नेपाली काँग्रेस पनि एक ढिक्का हुनु पर्छ । किनभने लोकतन्त्रवादी शक्ति कमजोर रहँदा प्रतिगामी शक्तिहरुले टाउको उठाउने मौका पाउने छन् । त्यसैले एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल मिलेर अघि बढ्दा पार्टीलाई शक्ति मिल्ने छ ।

पार्टीभित्र दुई धार देखा पर्नु दुखद् कुरा हो । यसले दुवैलाई घाटा परिरहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव-खनाल समूहलाई सिंगो पार्टी एक ढिक्का बनाएर लैजान अनुरोध गरिरहेका छन् । तर माधव-खनाल पक्षले मौका हेरेर बसिरहेको छ । यसरी पार्टी एकता हुँदैन । भावनात्मक एकताका लागि दुवै पक्ष गम्भीर बन्नु पर्छ । एमालेमा दुविधा निम्त्याएको छ । असन्तुष्ट माधव समूहले उठाएका सबै माग संस्थापन पक्षले पूरा गरिदिँदासमेत एमाले पार्टी एक हुन नसक्नु दुखद् पक्ष हो । असन्तुष्ट समूह नै पार्टी एकताका लागि गम्भिर बन्नु पर्छ । कुरा मात्र गरेर हुँदैन । पार्टी एकताका लागि दुवै पक्षले बिश्वासको बातावरण निर्माण गर्नु पर्छ । पार्टी एक ढिक्का भएर अघि बढ्न के ले रोकिरहेको छ ? यसमा दुवै पक्ष लचिलो हुनु पर्छ ।

नेपाल-खनाल समूहले अहिलेसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीबारे लिएका सबै निर्णय खारेज गरेर नयाँ सिराबाट पार्टीलाई अगाडि बढाउनुपर्ने माग राख्दै आएका छन् । पछिल्लो समयमा आएर पार्टी अध्यक्ष ओलीले महाधिवेशन आयोजक समिति विघटन गरेर उनीहरूको मागलाई सम्बोधन गरिदिएका छन् तर नेपाल-खनाल समूह भने अझै बिश्वस्त हुन सकेको छैन । वर्तमान राजनीतिक अस्थिरताले मुलुक कता जाने हो भन्ने चिन्ता बढाइरहेको छ । त्यसैले पार्टी एक ढिक्का बनाउने कुरामा अव ढिला गर्नु हुँदैन । पार्टी अध्यक्ष र वरिष्ठ नेताहरू एकै ठाउँ बसेर संवादको माध्यमबाट समस्याको समाधान खोजिनु पर्छ ।