मलको अभाव झेल्दै छन् किसान, सरकारको अकर्मण्यता

-डा. डी. आर. उपाध्याय


नेपाल कृषिप्रधान देश हो । तर हामी अझै कृषिमा आत्मनिर्भर हुन सकेका छैनौं । किसानहरु बर्षभरि काम गर्छन् l तर उनीहरुलाई छ महिना खान पुग्दैन । किसानका समस्या धेरै छन् । यो पेसा श्रमको पेसा हो । श्रम नगरी खान पुग्दैन । पछिल्लो समयमा आएर किसान व्यावसायिक बन्न खोज्दैछन् । कुनै ठाउँमा किसानले उत्पादन गरेको चिजले बजार पाउँदैन । बजार नपाएपछि किसान मर्कामा पर्छन् । धेरैजसो पहाडी भेगमा यो समस्या छ । कहिले बीउ त कहिले मलको अभाव झेल्ने गरेका छन् किसानले । किसानका यी समस्या सरकारले बुझनु पर्छ ।

उत्पादन समयमा बिक्री गर्न नपाउँदा किसान चिन्तित बनेका हुन्छन् । अहिले धान रोप्ने बेला हो l किसानलाई मलको अभाव छ । किसानले खोजेजति मल पाउन सकेका छैनन् । यो समस्या अहिले देखिएको छ । पछिल्लो समय मल हाल्नु किसानका लागि रहरभन्दा बाध्यता भएको छ । उत्पादन धेरै गर्न मलको आवश्यक हुन्छ । मल बिना उत्पादन कम हुन्छ । रासायनिक मल प्रयोग गर्न किसानलाई सरकारकै संयन्त्रले सिकाएको हो । निरन्तर रासायनिक मलको प्रयोगका कारण मलबिना उत्पादन थोरै हुने गर्छ । खेतवारीमा मल राखिएन भने उत्पादन आधाले घट्ने अवस्था छ ।

रासायनिक मलले माटो बिग्रिएको छ । गाई भैंसीको मलले किसानलाई पुग्दैन । पहिला जस्तो गाई भैंसी पाल्न मान्छेले छोडेका छन् । जसले गर्दा किसान रासायनिक मलकै प्रयोग गर्न बाध्य छन् । किसानलाई चाहिने समयमा मल अभाव हुने गरेको छ । हुन त यो कुरा नेपालमा कुनै नौलो बिषय होइन । नेपालमै उत्पादन नहुने भएकाले यसको आयातमा बाहिरी मुलुकको भर पर्नुपर्छ । हाम्रो माग छ, किसानले समयमा मल पाउनु पर्छ । यो बिषयमा सरकारले ध्यान दिनुपर्छ ।

नेपालमा सधैं मलको हाहाकार हुने गर्छ । अव नेपालमा रासायनिक मलको उद्योग सञ्चालन गर्ने विषयको पनि अध्यायन गर्नुपर्छ । नत्र यस्तो समस्या पुस्तौंपुस्ताले पुनः नभोग्लान् भन्न सकिँदैन । जब धान खेती गर्ने समय हुन्छ, किसानले मल पाउँदैनन् । यो कस्तो समस्या हो । किसानले चाहेको समयमा रासायनिक मल कहिले पर्याप्त पाएका छैनन् । यो वर्ष पनि धान खेतीका लागि आवश्यक पर्ने रासायनिक मलको देशभर अभाव हुँदा किसान पिरोलिएका छन् । धान खेतीको सुरुआतमा र गोड्ने समयमा मल आवश्यक पर्छ । धान रोप्ने समय भएकाले अहिले अरू रासायनिक मल डीएपी र पोटासभन्दा युरिया मलको माग उच्च छ । थप मल आयात नहुँदा किसानले दुःख पाएका छन् । यस वर्ष पनि पहाड र तराईमा खेतीको सिजन चलिरहेको छ । किसानहरु मलबिना रोपाइँ गर्नुपर्ने बाध्यतामा छन् । मलबिना खेती गर्दा उत्पादन घटने हुँदा किसान चिन्तित छन् । आफ्नो लगानी खेर जाने पीर किसानमा छ ।