फेरि नेपालका कम्युनिष्ट पार्टी एकीकरण हुने हल्ला

-डा. डी. आर. उपाध्याय खनाल


फेरि नेपालका कम्युनिष्ट पार्टी एकीकरण हुने हल्ला चलेको छ । बास्तबिकता के हो बिस्तारै खुल्दै जाला । पार्टीहरु फुट्नु भन्दा जुट्नु नै राम्रो हो तर स्वार्थका लागि पार्टी जुटे पनि फेरि फुट्ने खतरा छ । नेपालका कम्युनिष्ट पार्टी धेरैपटक फुटे धेरैपटक जुटे । कम्युनिष्टहरु फुट्ने र जुट्ने शृङ्खला लामो छ । कम्युनिष्टहरु एक आपसमा मिल्न सक्दैनन् । सबैभन्दा ठूलो समस्या यो हो । नेपालका सबै कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने हो भने दुई तिहाइ भन्दा धेरै जनमत छ । यो कुरालाई सबैले स्वीकार्न सक्नु पर्छ । कम्युनिष्ट नेताहरुमा शव्दजाल फाल्ने क्षमता छ । त्यो क्षमताले कार्यकर्ताहरु अडिएका छन् ।

पार्टीभित्र आफ्ना कार्यकर्ताहरु अडाउन भएपनि दर्शन र शिद्धान्तका कुरा बढी मात्रमा हुने गर्दछन् । यतिबेला सञ्चारमाध्यममा नेपालका कम्युनिष्ट पार्टी मिल्ने चर्चाले राम्रै ठाउँ लिएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी समाजवादी केन्द्र’ राख्न प्रस्ताव समेत गरेको समाचार बाहिर आएको छ । पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईबीच बिहीबार पार्टी एकीकरणका बिषयमा छलफल भएको कुरा पनि चर्चामै छ । कम्युनिष्टहरु मिलेर एउटै पार्टी बनाउने कुराले राजनीति तातेको छ । कम्युनिष्ट मिल्दा नेपाली काँग्रेसलाई राजनीतिक घाटा हुने धेरैले अनुमान गरेका छन् । त्यसो भएर पनि काँग्रेस कम्युनिष्टहरु नमिलुन् भन्ने चाहनामा छ ।

माओवादी केन्द्र, भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन गर्न प्रचण्डले प्रस्ताव नै गरेको समाचार बाहिर आएको छ । हुन त एकताका कुरा पटक पटक उठ्ने र सेलाउँदै जाने गरेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ सहितका नेताले पार्टी एकीकरणका बारेमा छलफल गरेका छन् भन्ने कुरा छ । आगामी निर्वाचनअघि नै नेपालका कम्युनिष्ट पार्टीबीच एकीकरण भयो भने के होला ? के नेपालका कम्युनिष्ट पार्टीबीच एकीकरण भयो भने बहुमत आउला ?

सबै कम्युनिष्ट मिलेर एउटै पार्टी बनाउने हो भने पक्कै बहुमत मात्र होइन, दुईतिहाइ नै आउँछ । यो कुरा उनीहरुलाई पनि थाहा छ तर मिल्दैनन् । कम्युनिष्टहरु आपसमा फुटेर सकिने गरेका छन् । साना साना समूहमा बिभाजित कम्युनिष्हरु एक ठाउँमा आउने हो भने राजनीतिमा ठूलै तरङ्ग आउने छ । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा मसाल, बैद्य, बिप्लवको पार्टी लगायत सबै मिलेर एउटै पार्टी बनाउने हो भने देशमा कम्युनिष्ट शासन लामो समय सम्म चल्ने छ । कम्युनिष्ट नेताहरु पद, प्रतिष्ठा र ब्यक्तिगत टकरावले फुट्ने गरेका छन् । यसले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ र अझै कमजोर बनाउँदै जाने छ । एमालेभित्र पनि कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने कुरा उठेकै छ । घनश्याम भुसाल लगायतका युवा नेताहरु यसमा बहस गरिरहेका छन् । फेरि एकपटक कम्युनिष्ट पार्टी मिलेर चमत्कार देखाउनु पर्ने युगले माग गरेको छ ।