बाम बिचारधाराका बौद्धिक वर्ग यो बिषयमा किन बोल्दैनन् ?

– डा.डी.आर.उपाध्याय खनाल


यतिबेला प्रदेश र सङ्घीय निर्वाचनको चर्चा सुरु हुन थालेको छ । राजनीतिक दलहरुका आ-आफना बैठक पनि चलिरहेका छन् । लोकतन्त्रमा चुनाव हुनु भनेको एउटा सुन्दर पक्ष हो । आगामी मङ्सिरमा प्रदेश सभा र सङ्घीय संसद्को अवधि सकिँदैछ। त्यसैले राजनीतिक दलहरु चुनाव केन्द्रीत हुन थालेको देखिन्छ । स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । स्थानीय चुनावमा काठमाडौं, जनकपुर, धरान, धनगढी लगायतमा स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरे । स्वतन्त्र उम्मेदवारले शानदार जित हासिल गरेको परिणाम बाहिर आएपछि राजनीतिक दलहरु एकाएक झस्किरहेका छन् ।

राजनीतिक दलले खडा गरेका उम्मेदवारले भन्दा स्वतन्त्र उम्मेदवारले जित हासिल गर्दा जनतामा एक खालको हौसला बढेको छ । कारण के हो ? राजनीतिक दलका नेताले सत्तामा पुगेपछि राम्रो र लोकप्रिय काम गर्न नसक्नुको परिणाम हो भनेर बुझदा हुन्छ । चुनाव खर्चिलो भयो । पैसा नहुने मान्छे चुनावमा उठ्न आँट नगर्ने अवस्था आयो । अबको राजनीति कसरी अघि बढ्छ चिन्ताको बिषय बनेको छ । चुनावी खर्च त धान्न नसकिने भयो । यसको अर्थ हो, दलका कार्यकर्ता खर्चिला भए ।

स्वतन्त्र उम्मेदवारहरूले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बन्ने सङ्केत देखिएको छ । लोकतन्त्रमा स्वतन्त्र उम्मेदवार बन्न पाइन्छ । तर जनताको मन जित्ने कुरा महत्वपूर्ण हो । जनताको मन जिते जित्न सकिन्छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनले यो कुरा प्रमाणित गरिसकेको छ । जनताले हाम्रा मान्छे भन्दा राम्रा मान्छे छानेर देखाएका छन् । प्रदेश र प्रतिनिधिसभाका चुनावमा पनि जनताले हाम्रा भन्दा राम्रा मान्छे चुन्ने अनुमान गरिएको छ ।

सत्तारूढ दल अहिलेदेखि नै गठबन्धनको तयारीमा छन्। चुनावसम्म गठबन्धन टिक्न सक्छ कि सक्दैन अहिले यसै भन्न सकिने अवस्था भने छैन । उनीहरूलाई राजनीतिक दल र तिनका नेताहरुलाई देशमा देखिएका तमाम समस्याका बारेका कुनै चिन्ता र चासो छैन । तर अहिलेदेखि नै मङ्सिरे चुनाव प्रमुख बनिसकेको छ ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आगामी चुनावमा पनि एक्लै चुनाव लडने आँट गरिरहेका छैनन् । गठबन्धन नै कायम राख्न खोजिरहेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरू गठबन्धनका लागि बढी नै सक्रिय देखिएका छन् । उनीहरू कांग्रेस सहितको गठबन्धन बनाएर एमालेलाई सकेसम्म कमजोर बनाउने योजनामा छन् । वाम आन्दोलनलाई समाप्त गर्ने खेलमा नेताहरु आफैं लागेको देखिन्छ ।

नेताहरु वाम एकता गर्न किन सकिरहेका छैनन् ? माओवादी केन्द्र र एकीकृत समाजवादीले अब सोच्नु पर्छ । बाम बिचारधाराका बौद्धिक वर्ग यो बिषयमा किन बोल्दैनन् ? सत्ता स्वार्थसँग जोडिएको यो गठबन्धनको खास उद्देश्य के हो ? नेकपा एमालेलाई कमजोर बनाउने खेलमा माधब, प्रचण्ड हात धोएर लागेका छन् । पार्टी फुटाएर सत्ताको कुर्सीमा पुग्ने कुरा ठूलो होइन । देश र जनताको भविश्य हेर्नु ठूलो कुरा हो । नेपालमा बढिरहेको कम्युनिस्ट जनमतलाई निराश पार्न र कम्युनिस्ट शक्तिलाई कमजोर बनाउन केही शक्तिहरु लागिरहेका छन्  । नेपालका कम्युनिस्ट नेताहरुले यो कुरा बुझ्न जरुरी छ ।