यो देश बनाउन एउटा वीर र देशभक्त नेताको खाँचो

-डा. डी.आर. उपाध्याय


एमाले एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ६ बुँदे आह्वानले केहीदिन नेपाली राजनीतिमा नयाँ तरंग ल्यायो । यो तरंग अझै सेलाएको छैन । खासगरी पार्टीलाई २०७५ जेठ ३ भन्दा पहिलाको स्थितिमा पुर्याउनुपर्ने माधव नेपाल-झलनाथ खनाल पक्षको माग हो । अन्ततः यही आह्वानमार्फत अध्यक्ष ओलीले स्वीकारेका छन् । अब माधव पक्ष एकताका लागि गम्भीर हुने हो भने गाँठो फुकेको छ । पटक पटक भएका परिवर्तन पछि कुनैपनि सरकार पूरा कार्यकाल टिक्न सकेनन् । संविधानसँगै भएको पहिलो संसदीय निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्यायो । पछि दुई दल (नेकपा) एमाले र माओवादी केन्द्रबीच एकीकरण भयो । त्यसबाट झन्डै दुईतिहाई बहुमतको सरकार बन्यो । पाँचवर्ष मुलुकले स्थिरता पाउँछ भन्नेमा आम नागरिक विश्वस्त थिए । तर, आन्तरिक र बाह्य चलखेलबाट स्थिरताको सपना पूरा हुन सकेन । पार्टीभित्रै विविध चलखेल भए । पार्टी फुटाएर, फ्लोर क्रस गरेर वा अर्को दललाई साथ दिएर सरकार ढाल्ने खेल भयो । नेपालले अहिले त्यही स्थिति सामना गरिरहेको छ ।

सत्ता परिवर्तनको पछिल्लो गतिविधिले स्थिरतामा धक्का दिएको छ । जसपाको एउटा खेमा सरकारमा गएको छ । अर्को खेमा सरकार हत्याउन भिडेर लागेको छ । दुई खेमाबीच कारबाहीको हानाथाप छ । जसपा पनि फुटको नजिक छ । संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म भनेको दलहरु बलियो हुनु हो । तर दलहरु कमजोर हुँदै गएका छन् । दलहरूको मजबुतीमा गणतन्त्रको भविष्य निर्धारित छ । यिनीहरू कमजोर, तितरबितर र लोभीपापी भए भने प्रतिगामी शक्तिले टाउको उठाउने मौका पाउँछ। त्यसका लागि पनि दलहरू फुटेर होइन, जुटेर अघि बढ्नु पर्छ । वर्तमानमा चर्किएका एमाले र जसपा दुवैले फुटबाट आफूलाई जोगाउनुपर्छ ।.

पछिल्लो समय नेपालको राजनीतिक वृत्तमा नकारात्मक परिदृश्यहरु देखिन थालेका छन् । नेताहरु आज आफैँ कुहिरोभित्रको काग जस्तै भएका छन् । धेरै नेताको बोलाइ र गराइमा फिटिक्कै तालमेल मिलेको देखिँदैन । एकथोक बोल्ने र अर्कोथोक गर्ने गर्छन् । जसले गर्दा आजका युवा पिँढीमा राजनीतिप्रति वितृष्णा हुँदै गएको देखिन्छ । पटक पटक नागरिकलाई ढाँट्ने, बोलेका कुरा कहिल्यै पूरा नगर्ने दल र तिनका नेताहरुको बानी नै हो । उनीहरु सुध्रिन जरुरी छ । भूगोल भूगोलबीच द्वन्द्व सिर्जना गर्ने, तराई र पहाडमा बसेका नागरिकबिच फाटो ल्याउने र भिडाउने काम दलहरुले गरेका छन् । यो जनतालाई मन परेको छैन । चुनावका बेलामा राजनीतिक दल र तिनका नेताहरुले सिधासाधा नागरिकलाई विभिन्न सपना देखाएर देशलाई कहिले अमेरिका, कहिले सिंगापुर त कहिले स्विटजरल्यान्ड बनाउँछौँ भन्दै झुक्याउँदै पनि आए । यिनीहरुको लहलहैमा लागेका हजारौं हजार युवाहरुको सपना आज चकनाचुर भएको छ ।

मुलुकको परिवर्तनका लागि  कयौं बेपत्ता भए, कयौंको अंगभंग भयो, कति हताहत भए । धेरै चेलीहरुको सिन्दुर पुछियो, विधवा भए, बालबालिका अभिभावक विहीन भए । यति हुँदा पनि यिनीहरुलाई पश्चाताप छैन । जनताले लडेर ल्याएको परिवर्तनलाई नेताहरुले मनपरी गरिरहेका छन् । पटक पटक सत्तामा गएर सिन्को नभाँच्ने सधैं अस्थिरताको खेती मात्र गर्ने यिनीहरुको के काम ? अहिलेको एक्काइसौं शताब्दीमा नागरिकले यिनीहरुको चर्तिकला नबुझ्ने कुरै भएन । जनताले चुनावमा सजाय अवश्य दिने छन् । नेपालको राजनीति यति विकृत भयो कि भनि साध्य छैन ।

प्रजातन्त्र, बहुदल, लोकतन्त्र गणतन्त्र जे भने पनि जनताका दुःख ज्युँका त्युँ छन् । नेकपा एमाले र नेकपा माओवादी एकताले नेपाली जनतामा केही आशा पलाएको थियो । त्यो खुसी धेरै समयसम्म टिक्न सकेन । एमाले र माओवादी एकता पछि नेपाली जनताले स्थायित्वका लागि भनेर लगभग दुई तिहाइ भोट दिएर जिताएका थिए । हाम्रा नेता देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थका लागि मात्र लालायित भए । पाएका अवसर भागबन्डा लगाउँदै आफ्ना नातानाला छोरी-ज्वाइँ, भान्जा-भन्जी, छोरा-बुहारी, काका-काकी र आफ्नो वरिपरिका आसेपासे,चाकडी र चाप्लुसी गर्नेहरुलाई मात्र पोस्न थाले । जसले गर्दा देश अघि बढ्न सकेन । यतिबेला समस्त नेपाली जनताले यो देश बनाउन एउटा वीर र देशभक्त नेताको खाँचो महसुस गरिरहेका छन् l