यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन् ?

-डा. डीआर उपाध्याय


देशमा पटक पटक राजनीतिक परिवर्तन भए र ब्यवस्था पनि बदलियो तर दु:खको कुरा जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेन । पछिल्लो राजनीतिक परिवर्तन पछि आएको यो ब्यवस्थामा जनताको अवस्थामा केही परिवर्तन आउँछ कि भन्ने आम जनतामा केही अपेक्षा थियो । तर जनताका ती अपेक्षाहरु अझै पूरा हुन सकेका छैनन् । आज देशमा जुन व्यवस्था छ, यो ब्यवस्थामा जनताको भाग्य र भविष्य सुन्दर हुनुपर्दथ्यो । तर यहाँ नेता र जनप्रतिनिधिहरुको मात्र भाग्य र भविष्य सुन्दर छ । अरुको छैन । अहिले देशमा जुन किसिमको राजनीतिक गतिविधि भइरहेको छ, त्यसले वास्तवमा नेपालीहरूको भविष्य बन्ने देखिदैन । मुलुकको विकास अनि समृद्धिको यात्रामा लम्कने त्यो सपना केवल भ्रम मात्र भइरहेको छ ।

व्यवस्था परिवर्तन हुँदा जनताको भाग्य र भविष्य किन निर्माण हुन सकेन ? आज उठ्ने प्रश्न भनेको यो हो । व्यवस्था अनि व्यवस्थासँगै परिवर्तित भएका पात्र र जनप्रतिनिधिहरु नै इमानदार भएनन् । समस्या यहाँनिर छ । जनतालाई भ्रम दिएर भोट बटुल्ने र जनताको आडमा चुनाव जित्ने अनि चुनाव जितिसकेपछि जनतालाई वास्ता नगर्ने ? यो कस्तो राजनीति हो ? जनताको जनमतको प्रतिनिधित्व गर्ने भएरै जनप्रतिनिधि भनिएको हो । जनप्रतिनिधिको काम कर्तव्य भनेकै जनताको सेवा गर्नु हो । जनताको आवाज बुलन्द गर्नु हो । बिकास निर्माणका काममा अग्रणी भूमिका निर्वाह गर्नु हो । तर, बिडम्बना जनताको अपेक्षा बमोजिम काम हुन सकेनन् । यिनै जनप्रतिनिधिबाट सञ्चालित सरकारलाई जनताको आफ्नै शासन पनि भन्ने गरिन्छ । यी जनप्रतिनिधिहरुले जनताको सुखदुःखमा महत्वपूर्ण भूमिका खेल्नु पर्छ । तर विडम्बना ! खै जनताको सुख-दुःखमा महत्वपूर्ण भूमिका खेलेको ?

एकपटक होइन पटकपटक यिनै जनप्रतिनिधिमाथि कयौं भ्रष्टाचारका आरोप लागिराखेका समाचार आउँछन् । आरोपित कतिपयका भ्रष्टाचार प्रमाणित भएर सजायसम्म काटिरहेका छन् भने कतिपयका मुद्दा न्यायालयमा विचाराधीनको अवस्थामा छन् । हिजो हामी जस्तै गरिव भएका देशहरु आज बिकास र सम्पन्नताको हिसावले कहाँदेखि कहाँ पुगिसके । हामीभने हिजो जस्तो अवस्थामा थियौं आजपनि त्यही अवस्थामा छौं । हामी कहिले अघि बढ्ने ? ती राष्ट्रवाट हामीले कहिले पाठ सिक्ने ? जुन देशमा जनप्रतिनिधिहरु अनुशासित हुन्छन् ती देशहरुले छिटो बिकासको फड्को मारेका छन् । उनीहरु भष्टाचार गर्दैनन् l अनुशासनमा बस्छन् । त्यसो भएर नै उनीहरुको देश सम्पन्न भएको हो । वास्तवमा नै राष्ट्रलाई सामाजिक, आर्थिक र राजनीतिक रूपमा माथि उठाउने भनेको जनप्रतिनिधिहरुले नै हो । यसमा उनीहरुको प्रमुख भूमिका रहेको हुन्छ । खराब र भ्रष्ट जनप्रतिनिधिका कारण देश माथि उठ्न सकेन । देश पछाडि पर्नुको मुख्य कारण भनेको भ्रष्टाचार र कुशासन नै प्रमुख हो ।

जनताका जनप्रतिनिधिका करोडौं सम्पत्ति छन् । तिनका घरघडेरी, गरगहना, मोटरगाडी आदि देख्दा पनि लाज लाग्छ । के तिनका तलब भत्ताबाट यति धेरै सम्पत्ति जोडन सम्भव छ ? छैन । जनप्रतिनिधिका नाममा घुस खानु, कमिसनको बार्गेनिङ गर्नु भनेको जनताको अपमान हो । हिजो जुत्ता चप्पल राम्रोसंग लगाउन नसक्ने आज आलिसान महलमा बस्ने भएका छन् । कयौं ठेक्कापट्टाका मालिक भएका छन् । अनि कसरी हुन्छ देशको बिकास ? यिनले शासनसत्ताको चरम दुरुपयोग गरिरहेका छन् । आफ्नो व्यक्तिगत विकास गरिरहेका छन् । नेपाली जनता भने अभावमा बाँच्न बाध्य छन् । मुलुकमा जे भइरहेको छ, ठिक भइरहेको छैन । अव सुधारको आबश्यकता छ ।

आज देश कोरोना भाइरसको सङ्क्रमणले आक्रान्त छ । दिनहुँ सयौंका संख्यामा मानिसले उपचार नपाएर ज्यान गुमाउनु परिरहेको छ । हजारौंको संख्यामा सङ्क्रमण बढिरहेको छ । हजारौंले हस्पिटलमा बेड नपाएर बिरामीलाई एम्बुलेन्समा राखी काठमाडौंको निजीदेखि सरकारी अस्पतालको गेटगेटमा पुगी बिन्ती चढाइरहेका छन् । उता अक्सिजन नपाएर कयौं बिरामीको ज्यान गएको छ । लकडाउनका कारण गरिब र निमुखा जनताको खाना नपाएर बिजोग छ । यस्तो बेलामा हाम्रा जनप्रतिनिधि कता छन् ? कोभिड–१९ बाट बच्न हिजोका दिनमा गरिएका पूर्वतयारीका विधि यो दोस्रो चरणमा झन् तीव्र रूपमा अगाडि बढाउनुपर्ने हो । हिजोका कमीकमजोरीबाट पाठ सिक्दै झन् प्रभावकारी तवरले अगाडि बढ्नुपर्ने होइन र ? खै त्यो देखिएन । आयात गरिएका औषधिजन्य वस्तुमा आफ्नै जनप्रतिनिधिबाट चरम घोटाला भएका समाचार आउँछन् । यस्तो अवस्थामा जनप्रतिनिधिबाट हामी अरु के आशा गर्न सक्छौं ? आज भ्रष्टाचार र अक्षमताले विकराल स्थिति ल्याएको छ । राज्यस्तरबाट व्यवस्थापनमा कौशलता नहुनु यसको प्रमुख कारण हो । हाम्रा स्थानीयस्तरका प्रमुखले एउटा बेडसम्म उपलब्ध गराउन नसकेका समाचार आउँछन् । जनता अप्ठ्यारोमा परेका बेलामा हो सहयोग गर्ने भनेको । अरुबेला त आफैं गरि खान्छन् ।