कहिलेसम्म हो, यो सत्ता स्वार्थको राजनीति ?

-डा. डीआर उपाध्याय


प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका छन् । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सो आहवान गरेका हुन् । अवको राजनीतिक गति कसरी अघि बढ्छ त्यो भने अहिले नै यकिन गर्न सकिने अवस्था बनि सकेको छैन । राजनीतिमा कतिखेर के हुन्छ त्यो भन्न सकिदैन । अहिले राजनीतिमा जे गतिविधि भइरहेका छन् ती जनताको पक्षमा भइरहेका छैनन् । ती गतिविधि नेताहरुको सत्ता स्वार्थका लागि भइरहेका छन् । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुवेका छन् । जसले गर्दा आमनागरिक मर्कामा परेका छन् । यो कुरा सवैले बुझेका छन् ।

दल र नेताका कारण देश बर्वाद भयो । दल र तिनका नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर देशको निम्ति सोचेको भए अहिले यो अवस्था नेपाली जनताले भोग्नु पर्ने थिएन । हाम्रा देशका नेताहरु राम्रा हुन्थे भने देश धेरै अगाडि बढ्ने थियो । अरु देशहरु कहाँदेखि कहाँ पुगिसके हामी भने जहाँको त्यहीं छौं । यो दुखद् कुरा हो । मुलुक विकासका हिसावमा धेरै पछाडि छ । जनतालाई भ्रम छरेर आफनो दुनो सोझ्याउन खप्पिस छन् नेताहरु । जनताले खाई नखाई राज्यलाई कर तिर्छन् । तर जनताले तिरेको कर दुरुपयोग हुँदै गएको छ । जनता समस्यामा पर्दा सरकारले हेर्दैन । देशमा सरकार छ कि छैन त्यो समेत जनताले अनुभूत गर्न पाएका छैनन् । कहिलेसम्म हो, यो सत्ता स्वार्थको राजनीति ?

आज हामी बडो गम्भीर अवस्थाबाट गुज्रिरहेका छौं । कोरोना महामारीको दोस्रो लहरले हामी नेपाली जनतालाई थिल्थिलो बनाईरहेको छ । तर यस्तो अवस्थामा पनि राजनीतिक दल र तिनका नेताहरु आफनो स्वार्थपूर्तिका लागि मरिहत्ते गरेर सत्ता स्वार्थमा लागिरहेका छन् । तिनीहरु सुकिला मुकिला बनेर छाँटसँग हिंड्छन् । हिजो राम्रोसँग चप्पल लगाउन नसक्ने नेताहरुका अहिले ठूला ठूला महल खडा भएका छन् । रातारात सम्पति थुपारेर देशमाथि गद्दारी गरिरहेका छन् नेताहरुले । केही नेताहरु त्यस्ता नहोलान् तर अधिकाँश नेताहरु यस्तै प्रवृत्तिका छन् । जसरी हुन्छ आफनो स्वार्थ पूर्ति गर्ने, सम्पत्ति जोड्ने, ऐस आरामले बस्ने नेताहरुको यो गलत प्रवृत्ति पछिल्लो समयमा आएर मौलाउँदै गएको छ ।

दल र नेताको पछि लाग्न पनि अव त लाज लाग्न थालिसक्यो । जनतामाथि गद्दारी गरेर सम्पत्ति थुपारेका सवै नेताहरुको सम्पति छानविन हुनु पर्छ भन्ने जोडदार रुपमा आवाज उठाउनु पर्ने आवश्यकता देखिएको छ । चर्का कुरा मात्र गर्ने कि नेताहरु आफू पनि सुध्रिने ? यो आजको गम्भीर प्रश्न हो । दलहरु देश बिकासको साझा एजेन्डा बोकेर किन अघि बढ्न सकेका छैनन l कारण एउटै छ, ब्यक्तिगत स्वार्थ र सत्ता स्वार्थको राजनीति । यी दुई चिज नेताहरुले त्याग्ने हो भने देश बन्न कुनै समय लाग्दैन । देश बिकासमा सबैको मत एउटै हुने हो भने हामी अघि बढ्न सक्छौं । राष्ट्रिय हित विपरीतका कदम चालेर देश बर्वाद गर्ने केही तत्वहरु पनि सक्रिय छन् । आफनो निहीत स्वार्थका लागि जे पनि गर्न सक्ने नेताहरुको कमी छैन यहाँ । समस्या यो हो । राष्ट्रियता बचाउने सवालमा सबै एक हुनुपर्छ l जवसम्म नेताहरु व्यक्तिगत स्वार्थ त्यागेर जाँदैनन् तबसम्म यिनीहरुबाट कुनै आश नगरे पनि हुन्छ ।

कोरोनाको दोस्रो लहर र त्यसबाट उत्पन्न समस्याप्रति न सरकार गम्भीर बन्न सकेको छ न त राजनीतिक दल र तिनका नेताहरु । आम नागरिक बन्द कोठामा थुनिएर बसेका छन् l रोजीरोटी खोसिएको छ l बिहान बेलुकाको छाक टार्न समेत उनीहरुलाई समस्या भइरहेको छ l खै सरकारले यो बिषयमा चासो देखाएको ? कुरा मात्र गरेर हुन्छ कि  ब्यवहारमा पनि ती कुरा लागू गर्ने ? अहिले मुलुक राजनीतिक अस्थिरतामा छ । यस्तो राजनीतिक अस्थिरता भएको मुलुकमा सुशासन र सदाचारको पक्ष पनि कमजोर रहन्छ । न प्रशासनिक चुस्तता कायम रहन्छ न त विकास निर्माणले गति नै लिन्छ । नागरिकका मौलिक हकसमेत कुण्ठित हुने अवस्था सिर्जना हुन्छ । राजनीतिक स्थायित्व नहुँदा सरकारी निकाय र कर्मचारी समेत उत्तरदायित्व र पारदर्शिताबाट टाढा हुन्छन् । सबै क्षेत्र र निकाय सही भए मात्र यसका लागि सुशासन सम्भव छ । सुशासनका लागि राजनीतिक शुद्धीकरण आवश्यक छ । अन्तर्राष्ट्रिय चासोका विषयमा त झन् मुलुकको पक्षमा सबै एक हुनु आवश्यक छ ताकि आन्तरिक खिचलो बाहिर नदेखियोस् । यी यावत सवालमा ख्याल गरेको खैं ? यद्यपि, पछिल्लो समय राजनीतिक दलबीच देखिएको खिचातानीले समस्या देखिएको छ । यदि सबै दल र तिनका नेता इमान्दार हुने हो भने जनबिश्वास उनीहरुमाथि बढ्न सक्ने थियो । मुलुकमा राजनीतिक अस्थिरता हुनु भनेको मुलुक पछाडि धकेलिनु हो । दलबीचको स्वार्थ, अहं र महत्त्वाकांक्षाले विकासको गतिलाई अघि होइन, पछाडि धकेलिरहेको देखिन्छ ।