कोभिडसँग खेलबाड नगरौं l आफ्नो सुरक्षा आफैं गरौं ।

-डा. डीआर उपाध्याय


अहिले देशमा फेरि कोरोनाको त्रास फैलिएको छ । यसमा मनोवल कमजोर बनाउने होइन, उच्च मनोवलका साथ सामाना गर्ने हो । कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको छ । आफ्नो सुरक्षा आफैं गरौं । कोरोनासँग खेलवाड नगरौं । कोभिडका रोगीको संख्यामा वृद्धि भइरहेको छ । यो दोस्रो लहरको प्रवेश हो । अब के गर्ने भन्ने सम्बन्धमा सरकार गम्भीर बनेको देखिन्छ । तर सरकारको मात्र एकल प्रयासले केही हुँदैन । सरकारलाई सबैले सहयोग गरौं । सरकारले यो गरेन र उ गरेन भनेर अलमलिने बेला अब छैन । आ-आफनो ठाउँबाट कोभिडको सामना गरौं । यो एउटा बिपत हो । यो बिपतको सामना गरेर अघि बढौं ।

कोभिडले बालबालिकालाई बढी प्रभाव पारेको खबर आइरहेका छन् । योभन्दा पहिले देखापरेको कोरोनाले केटाकेटीलाई कम प्रभाव पारेको भनिन्छ । पहिलो लहरको कोरोनाले ज्येष्ठ नागरिकलाई बढी आक्रमण गरेको थियो । तर दोस्रो लहरको कोरोनाको प्रभाव बढी मात्रमा २० वर्षमुनिका व्यक्तिमा परेको छ । त्यसैले गर्दा स्कुल बन्द गर्नुपर्ने बाध्यता आयो । यो रोगवाट बच्न हामीले समयमै सावधानी अपनाउने काम गरौं । यो रोग बढी घातक मानिएको छ । छिमेकी देश भारतमा दिनको दुई लाखभन्दा बढी रोगी देखिएका छन् । पश्चिमा देशमा दोस्रो, तेस्रो र संयुक्त राज्य अमेरिकामा त चौथो लहरलेसम्म प्रवेश गरेको पाइएको छ । इटालीजस्ता केही देशले बन्दाबन्दीसम्म गरेका छन् । अमेरिका जस्ता अन्य देशले सामान्य सावधानीका उपाय अपनाएका छन् । सरकार र राजनीतिक दल मिलेर यसको सामाना गर्नु पर्छ । यस्तो बेलामा एक अर्काबिच हानथापको राजनीति गर्नु राम्रो हुने छैन । ओली सरकारलाई सहयोग गरेर अगाडि बढेमा कोभिड लगायत सबै समस्या समाधानमा सफलता हासिल गर्न सकिनेछ ।

अहिले नेपालमा जुन किसिमले कोरोना बढेको छ, यो चिन्ताको बिषय हो । मुख्यतः भारतबाट नेपाल प्रवेश गरेका मानिसबाट आएको सङ्क्रमणले यो फैलिएको बताइन्छ । त्यसकारण सीमामा कडाइ गरिनुपर्छ । यो रोगसँग कसैले हेलचेक्राइँ गर्ने काम नगरौं । हेलचेक्राइँले गर्दा यो स्थिति आएको हो भन्ने बुझनु पर्छ । नेपाल सरकारले अहिले भएको भयावह परिस्थितिलाई मध्यनजर गर्दै आवश्यक कदम चाँडै चाल्नु पर्छ । भीड हुने खालका क्रियाकलाप कसैले नगरौं । बिहे, व्रतवन्ध आदि कार्यक्रममा सरकारले तोकेको भन्दा बढी जम्मा हुने काम नगरौं । यस्ता कार्यक्रममा न्यूनतम २५ जाना भन्दा बढी जम्मा हुन नपाइने सरकारले निर्देशन गरिसकेको छ । माक्स लगाउने, सावुन पानीले मिचि मिचि हात मुख धुने, सेनिटाइजर प्रयोग गर्ने, एक अर्काको पर पर रहने जस्ता काम गर्न कहिले नभुलौं । सार्वजनिक यातायातमा एकअर्का बीच दूरी कायम गरौं । सामाजिक दूरी कायम राख्न नभुलौं । अबको यो भयावह परिस्थितीमा आफैं सुरक्षित हुने बेला हो । समाजमा कोभिड सम्बन्धी सबैमा चेतना जगाऔं ।