देशको बारेमा हामीले नसोचे कसले सोच्ने ?

-डा. डीआर उपाध्याय


देशको बारेमा हामीले नसोचे कसले सोच्ने ? त्यसैले सबैले सोचौं र देश बनाऔं । जब नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त हुन्छन् तब देश बिग्रियो भनेर जाने हुन्छ । अहिले भएको त्यही हो । अरु केही होइन । हामी सबै नेपाली जनता मिलेर अगाडि बढौं । देश बनाउन सबै एकजुट हुनुपर्छ । अनि मात्र हामीले सोचेको देश बनाउन सकिन्छ । त्यसैले हामी जुटौं, फुटेर अघि बढ्न सकिदैन l अघि बढ्ने भनेको जुटेर हो । हामीमा एकता चाहिएको छ । नेपाली जनतामा एकता नभएर नै यो समस्या आएको हो । हामीमा एकता नभएसम्म देशको बिकासले गति लिन सक्दैन । एकता नै बल हो । अहिले जुन किसिमले देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढ्दै गएको छ नि, यो हाम्रो लागि गम्भीर चुनौतिको बिषय हो । यो बेरोजगारी समस्या सबै मिलेर हल गरौं । यसको समाधान खोजौं । अहिलेको प्रमुख आवश्यकता यो हो ।

अहिले देशमा बेरोजगारी समस्याले ठूलो रुप लिएको छ । हाम्रो सामु बेरोजगारी समस्या नै गम्भीर चुनौतिको रुपमा देखा परेको छ । अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ, यसको छिटो हल गरिनु पर्छ भन्ने मेरो भनाई छ । बेरोजगारी समस्या समाधान गर्नुपर्ने प्रमुख दायित्व सरकारको हो । सरकार त्यो दिशामा अघि बढ्नु पर्छ । यसमा सबैको साथ र सहयोग रहन्छ । सरकारको एकल प्रयासले मात्र केही हुँदैन । हामी यो भन्दै पनि आएका छौं । सरकारलाई गाली गरेर मात्र हुँदैन । साथ र सहयोग पनि गर्नु पर्छ । आज हाम्रो देशभित्र लाखौँ लाखको संख्यामा शिक्षित मान्छेहरु बेरोजगार छन् । यो समस्या गम्भीर हो । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर विदेश पलायन भएका छन् । भए जतिका युवा जनशक्तिहरुलाई बिदेश पठाएर के देशको बिकास हुन्छ ?  हुन सक्दैन । अब यो बिषयमा सोचौं । रेमिट्यान्स भित्राउँदैमा देश बन्दैन, गुजरा मात्र चल्ने मात्र हो । युवा जनशक्ति जसरी विदेश पलायन भएका छन् त्यो उनीहरुको रहर होइन, बाध्यता हो । धेरै युवायुवतीहरु खाडी मुलुकतिर श्रम गर्न बाध्य छन् । बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्युँ छन् । बेरोजगार र गरिब जनताका समस्या बढेको बढै छन् । राजनीतिक दल र तिनका नेताहरु अब इमान्दार देखिनुपर्ने बेला आएको छ । यसरी देश चल्दैन ।

नेताहरु सत्तामा पुगेपछि सबैकुरा बिर्सन्छन् । देशमा गरिबीको संख्या बढिरहेको छ । दैनिक कमाएर बिहान-बेलुकाको छाक टार्न समेत श्रमजीवि बर्गलाई धौ धौ छ । सरकारी निकाय तथा निजी क्षेत्रले स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नुपर्छ । अब यो कुरामा ढिलाई गर्नु हुँदैन । मानिसलाई बाँच्नका निम्ति गाँस, बास र कपास अत्यावश्यक बस्तु हुन् । यी कुराको जोहो गर्न रोजगारी चाहिन्छ । देशमा बेरोजगारको स्थिति भयावह बन्दै गएको छ । रोजगार गुमाएका आम श्रमिकहरूका लागि सरकारले रोजगारको वैकल्पिक उपाय खोज्नुपर्ने जरुरी देखिएको छ । जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ । यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । देशमा भएका जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गर्नु पर्छ । नेपालमा भएका जनशक्तिको सदुपयोग गरेर सरकारले धेरै फाइदा लिन सक्नु पर्दथ्यो । अब सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा ध्यान दिनुपर्छ ।