थोरै आम्दानी हुनेको पीडा

डा. डीआर उपाध्याय


आज महंगीले बजार भाउ आकासिएको छ । केही चिज छोइसक्नु छैन । आज जुन ढङ्गले महंगी बढिरहेको छ, त्यसले धेरै मानिसलाई समस्यामा पारेको छ । धेरैजसो मानिसको अहिले आयस्रोत भन्दा खर्च बढेको छ । यो समस्या शहरमा बढि छ । घरको कोठा भाडाले नै धेरैको ढाड सेकाएको छ । कमाएको पैसा जति घर भाडामा जान्छ । थोरै आम्दानी हुनेको यो पीडा छ । सानोतिनो कमाइले शहरमा टिक्न नसक्ने अवस्था छ । सवैलाई शहरमा बस्ने रहर छ । आज धेरैजसो ग्रामिण भेगतिरको कुरा गर्ने हो भने छोरो खाडी मुलुकतिर बुहारी नाति नातिना बोकेर उनीहरुलाई पढाउने निहुँमा शहर पसेका छन् । बाँकी बृद्ध बुवाआमा मात्रै गाउँमै l यो छ देशको अवस्था ।

धेरैका खेतवारी बाँझा छन । सवैलाई सुखसयल चाहिएको छ । आफनो देशमा उत्पादन कम भएकोले नै महंगी बढेको हो । त्यसैले अव हामी सवै उत्पादनमा लागौं । अवको आर्थिक क्रन्ति भनेको जति सक्यो उत्पादन बढाउने हो । खेतवारी अव कसैका पनि बाँझा रहन दिनु हुदैन । सरकारले पनि यो नीति अघि सारेको छ । तर कार्यान्वयनमा भने अझै आएको छैन । अव सवैले यो बारेमा सोच्ने बेला आयो । देश बनाउने भन्ने तर कामै नगर्ने हो भने कसरी बन्छ देश ? अव सवैले सोचौं । अव ढिला नगरी सवै आ आफनो ठाउँवाट उत्पादन बढाउने वारेमा चिन्तन, मनन गरौं । हामी अल्छि बन्यौं भने देशको बिकासले गति लिन सक्दैन । आज देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ । यसको समाधान छिटो गरिनु पर्छ । यो नै अहिलेको प्रमुख आवश्यकता हो ।

बेरोजगारी समस्या नै सवैको टाउको दुखाइको बिषय बनेको छ । देशमा जति बेरोजगारी समस्या बढदै जान्छ त्यति राजनीतिक संकट पनि बढदै जान्छ । देशमा असन्तुष्टिका स्वरहरु बढ्न सक्छ । संसारमा सवैभन्दा ठूलो समस्या भनेको बेरोजगारी समस्या हो । हाम्रो देशमा बेरोजगारी समस्या गम्भिर चुनौतिको रुपमा खडा भएको छ । अहिले देशमा जुन किसिमले बेरोजगारी समस्या देखिएको छ, यसको छिटो हल गरिनु पर्छ भन्ने मेरो बिचार हो । बेरोजगारी समस्या समाधान गर्नु पर्ने प्रमुख दायित्व सरकारको हो । तर सरकारको एक्लो प्रयासले मात्र यो सम्भव छैन । यो कुरामा सरकारलाई सवै नेपाली जनताले आ आफनो ठाउँवाट सहयोग गर्नु पर्छ ।

आज मुलुक भित्र लाखौँ लाख शिक्षित युवायुवतीहरु बेरोजगार छन । यो गम्भिर समस्या हो । यसलाई हल्का रुपमा लिनु हुदैन । कैयौँ युवायुवतीहरु स्वदेशमा आफनो भविष्य नदेखेर हो नी विदेश जानु परेको । कसैलाई रहर छैन बिदेश जान । युवा जनशक्तिहरुलाई बिदेश पठाएर मात्र देश उभो लाग्न सक्दैन । देशलाई समृद्ध बनाउने हो भने युवाहरुले बिदेशमा सिकेको सीप स्वदेशमै सदुपयोग गरी नेपाली माटो संग खेल्नु पर्छ । युवा जनशक्तिको अभावले ग्रामीण भेगतिर खेतबारीहरु बाँझा छन् । खेतीपाती गर्ने मान्छे नभएपछि कृषि उत्पादन घट्दो छ । बेरोजगार र आर्थिक रूपमा विपन्न समुदायको समस्या ज्युँका त्यँ छन् । बेरोजगार र गरिब जनताका समस्या बढेको बढै छन । सत्तामा पुगेपछि सबैकुरा बिर्सने प्रवृत्ति नेताहरुमा हावी भयो । देशमा गरिबीको संख्या बढिरहेको छ ।

श्रमजीवीहरुलाई दैनिक कमाएर बिहान–बेलुकाको छाक टार्नसमेत धौधौ छ । अब राज्यले दीर्घकालीन योजना बनाएर जानु पर्ने देखिएको छ । अव आफनो खुट्टामा टेकाउन युवालाई सीपमूलक शिक्षामा जोड दिनु पर्छ । अव यो बिषयमा गम्भिर हुनुपर्छ । सरकारी निकाय तथा निजी क्षेत्रले स्वदेशमा रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्नु पर्छ । मानिसलाई बाँच्नका निम्ति गास, बास र कपास अत्यावश्यक बस्तु हुन । यि कुराको जोहो गर्न रोजगारी चाहिन्छ । जुन देशमा जनशक्तिको अभाव हुन्छ त्यो देशको उत्पादनमा कमी आउँछ ।यसको मुख्य कारण देशमा उत्पादन नहुनु र उत्पादन गर्ने जनशक्ति पलायन हुनु हो । अव सरकारले स्वदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा ध्यान दिनु पर्छ । हामीले देखिरहेका छौ, अहिले स्वदेशमा दक्ष जनशक्तिको अभाव छ ।