हिजोको एमाले र आजको एमाले

डा. डीआर उपाध्याय


कुनैबेला नेकपा (एमाले) को नेतृत्व ब्यवस्थित र चुस्तदुरुस्त थियो भन्ने मानिन्छ । मनमोहन र मदन भण्डारीको पालामा एमाले मुलुकको ऊर्जाशील राजनीतिक शक्ति मानिन्थ्यो । त्यसबेला नेता कार्यकर्ता अनुशासित थिए । देश र जनताका लागी ज्यान दिन समेत तयार हुन्थे । हिजोको एमाले र आजको एमालेमा आकाश जमिनको फरक छ । अहिले हिजोको जस्तो त्यस्तो त्यागी स्थिती छैन । कार्यकर्ताले नेताको बिश्वास गर्न छाडिसके । त्यति लामो त्याग तपस्या र दुःखले हुर्काए बढाएको पाटी नेकपा एमाले अहिले विभाजन र विघटनको संघारमा उभिएको छ । नेकपा एमालेका तमाम नेता कार्यकर्ताहरु चिन्तित छन् ।

बिगतमा नेकपा एमालेमा हजारौं जुझारु कार्यकर्ता थिए । ती कार्यकर्ताहरु अहिले छिन्न भिन्न छन् । २०४७ साल कात्तिकमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) मिलेर नेकपा (एमाले) गठन भएको थियो । नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीलाई बनाइएको थियो भने महासचिवमा मदन भण्डारी । पाटी एकताको पहल मदन भण्डारीले गर्नुभएको थियो । मदन भण्डारी दूरदर्शी र सवैलाई मिलाएर संगै लैजान सक्ने कुशल नेता हुनुहुन्थ्यो । त्यस्ता नेताको अवसानले आज आएर नेकपा एमाले कुहिरोको काग जस्तो बनेको छ । नेपालका कम्युनिस्ट पार्टीहरु फुट, जुट र गुटबाट गुज्रदै आएका छन् ।

झापा विद्रोहको पृष्ठभूमिको माले र नेकपा (माक्र्सवादी) मनमोहन अधिकारीको नेतृत्वमा थियो । यी दुई पार्टीबीचको एकताले एमाले बनेको हो । २०४६ सालपछिको पहिलो आमनिर्वाचनमा एमालेले २०५ निर्वाचन क्षेत्रमध्ये ६९ सिट जितेको थियो । त्यसबेला एमालेले आफूलाई बलियो प्रतिपक्षी दलका रूपमा उभ्याएको थियो । कांग्रेसले बहुमत प्राप्त गरेर सरकार बनाएको थियो । नेकपा एमालेले २०५१ सालको मध्यावधि चुनावबाट आफूलाई पहिलो ठूलो दल हुँदै अल्पमतको सरकार बनाएको थियो । एमालेको नौ महिने सरकार इतिहासकै लोकप्रिय सरकार हो । त्यसबेला एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित भइसकेको थियो । विश्वका धेरै ठाउँमा कम्युनिस्ट सत्ता ढलिरहँदा नेपालमा बहुदलीय प्रतिस्पर्धाबाट कम्युनिस्टहरू विजयी हुँदै आएका थिए । नेपालमा कम्युनिस्टहरू निर्वाचनबाट सत्तामा पुगेका थिए । यो दुनियाँकै लागि आश्चर्यको बिषय बनेको थियो । त्यसबेला एमालेको जनलहर बढ्नुको मुख्य कारण भनेको तत्कालिन महासचिव मदन भण्डारीको भाषण शैली नै हो ।

२०४६ सालपछिको खुला राजनीतिमा एमालेप्रति जनआकर्षण बढेकै हो । अद्भुत भाषणकला भएका भण्डारी घण्टौं भाषण गरेर जनताको मन जित्न सक्थे । भण्डारी राजनीतिक-वैचारिक रूपमा पनि अरुभन्दा अघि नै थिए । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिए । ‘जनताको ‘बहुदलीय जनवाद’ को राजनीतिक कार्यक्रम उनले जन्माएका हुन् । प्रतिस्पर्धाको राजनीति नै बहुदलीय जनवाद हो । नेकपा एमालेले भण्डारीले कोरिदिएको बाटो अहिले आएर कता कता बिराए जस्तो छ । नेकपा एमालेले बाटो बिराउनु हुँदैन । तपाईहरु मिलेरअघि बढ्नुस् यसमा नै देश र जनता अनि पाटीको हित छ । ओली, नेपाल, खनाल, गौतम तपाईहरु बिगतको इतिहासलाई फर्किएर हेर्नुहोस् । यो पाटी हुर्काउन तपाईहरुलाई कति कठिन भएको थियो । कहिले ख्याल गर्नुभएको छ ? अव बिगततर्फ फर्कनुहोस् र आत्मसमिक्षा गर्नुहोस् ।

२०५१ सालको एमालेको नौ महिने सरकारले केही दूरगामी प्रभावका कार्यक्रम ल्यायो । आफ्नो गाउँ आफैं बनाऔं, वृद्ध भत्ताजस्ता केही कार्यक्रमको ‘व्याज’ एमाले नेताहरू अहिलेसम्म खाइरहेका छन् । एमालेमा ब्यक्तिगत स्वार्थी नेताहरू हाबी भए, जसले विगतमा उठाएका मुद्दा छोड्दै गए । एमालेहरू आफ्नै निजी जीवन उकास्ने ध्याउन्नमा जुटे । नेताको जीवनशैली फेरिन थाल्यो । विचारको बहसमा कमी हुन थाल्यो । देश र जनताको अवस्था भने हिजो जस्तो थियो आज पनि त्यस्तै छ । अव नेकपा एमालेले गम्भिरतापूर्वक सोच्नु पर्ने बेला आएको छ । गुटको राजनीतिले मुलुक अघि बढ्दैन र बढाउन पनि सकिदैन । यो आफू र पाटी नाश हुने खेल हो । अहिले जुन किसिमका खेल भैरहेका छन् ती देश र जनताको हित बिपरित छन् । अव सवैले गम्भिरतापूर्वक सोचौं ।