अब नेपालको राजनीतिक अवस्था के हुन्छ ?

डा. डीआर उपाध्याय


विघटित संसद् पुनर्स्थापना भयो । अव राजनीति कसरी र कुन ढंगले बिकशित हुन्छ भन्ने सवैको चासोको विषय बनेको छ । विघटित संसद् पुनर्स्थापना हुनु भनेको कोमाबाट बिरामी फर्कनु जस्तो हो । नेताहरुले अव देशको बारेमा सोच्नु पर्ने बेला आएको छ । जनतालाई भ्रममा राखेर राजनीति गर्नु भनेको बेइमानी हो । यस्तो किसिमको राजनीतिले मुलुकलाई अघि बढाउन सक्दैन । राजनीतिक दल र तिनका नेताहरु जनताप्रति इमान्दार हुनुपर्छ । जनताको विश्वास जित्न लोकप्रिय काम गर्नु पर्छ । अब जनताले भाषण होइन परिणाम खोजेका छन् । आजको युग विज्ञान र प्रविधिका साथै चेतनाको युग हो । पहिला जस्तो भ्रमको राजनीति गरेर सत्तामा जाने अवस्था अहिले छैन । जनता आफ्नो निर्णय आफै गर्ने भैसकेका छन् ।

अहिले हरेक नेपालीको हातमा मोवाइलको साथै सञ्चारको पहुच छ । जसले गर्दा छिन छिनमा जनताले हरेक घटना परिघटनाको जानकारी पाउँछन् । अहिले संसद पुनर्स्थापना भएपछि कसको नेतृत्वमा सरकार बन्ने र ओली सरकारले नैतिकताका आधारमा राजीनामा दिने कि नदिने भन्ने चर्चा चलिरहेको छ । अब नेपालको राजनीतिक अवस्था के हुन्छ ? यो नै महत्वपूर्ण प्रश्न हो । नेकपा दुई खेमामा भएको अवस्थामा एकलौटी सरकार बन्ने अवस्था कसैको छैन । या त नेकपाका दुबै समूह एक हुनु पर्यो । त्यसो भयो भनेमात्र नेकपाको सरकार बन्न सक्छ । तत्काल त्यो स्थिति देखिदैन । नेकपाका दुबै खेमा बिच अहिले पानी बाराबारको अवस्था छ । त्यसले गर्दा पनि नेकपाका दुबै खेमा एक होलान जस्तो देखिदैन ।

देश र जनताको हित हेर्ने हो भने दुबै खेमा गम्भीर बनेर एकता जोगाउनु पर्छ । वैधानिक रुपमा नेकपा फुटेको अवस्था छैन । नेकपा दुई खेमामा मात्र विभाजित भएको हो । यसले देशलाई दूरगामी असर गरिरहेको छ । नेपालको इतिहासमा झन्डै दुइ तिहाइको सरकार कसैलाई पनि फापेको देखिदैन । अहिले त्यही पुनरावृत्ति भएको छ । अब यो अवस्थामा बन्ने सरकार भनेको खिचडी सरकार हो । अब संसद किनबेचको शृङ्खला बढ्न सक्छ । अब बन्ने सरकार नेकपाकै हुन्छ वा अरू कुनै दलको अहिले तत्काल भन्न सकिने अवस्था छैन ।

यतिबेला सत्ताधारी नेकपा र प्रतिपक्षमा रहेको नेपाली कांग्रेस चर्चामा छन् । तर नेकपाको दाहाल–नेपाल समूहले ओली सरकारको विकल्प खोजिरहेको छ । विकल्प खोजे पनि पार्टीको कानुनी अड्चन देखिन्छ जसको कारण त्यो त्यति सहज हुने देखिदैन । त्यसैले अब बन्ने सरकार कसको नेतृत्वमा हुन्छ भन्ने कुरामा अझै टुंगो लागिसकेको अवस्था छैन । त्यसका लागि पनि लामो संसदीय प्रक्रियाबाट गुज्रनुपर्छ ।

संसद बैठक बोलाउन सर्वोच्च अदालतले दिएको १३ दिनभित्रको समय सिमा पनि सकिन केही दिन मात्र बाँकी छ । यो अवधिमा दलहरु कसरी अगाडि बढ्छन् त्यो हेर्न बाँकी छ । वर्तमान सरकार रहिरहन पनि सक्छ र नरहन पनि सक्छ । बहुमतप्राप्त गरेको हैसियतले नेकपालाई अझै यो सुविधा छ । जनताले नेकपालाई पाँच वर्षको जनादेश दिएका हुन तर पार्टी भित्रको आन्तरिक कलहले यो अवस्था सृजना भएको हो । जनता बाट गुमेको विश्वास फर्काउने हो भने नेकपा एक हुनुको कुनै विकल्प छैन । नेकपाभन्दा अरु शक्तिको खिचडी सरकार खोज्नु भनेको जनादेशको अपमान हो ।