वैदेशिक रोजगारीमा जानु रहर नभई बाध्यता

-डा. डीआर उपाध्याय


वैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथा व्यथा आफ्नै किसिमको छ । विदेशमा पैसा कमाउन त्यति सजिलो छैन् । कसैले प्रशस्त पैसा कमाउन सक्छन् कतिको हालत खराब देखिन्छ । अरुको देशमा गएर श्रम बेच्नु भनेको निकै कठिन कार्य हो । जे जति नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् ती सबै खुसी छैनन् । वैदेशिक रोजगारीमा जानु भनेको रहर नभई बाध्यता हो । धेरै नेपालीहरु बाध्यताले विदेशमा छन् । हाम्रो देश नेपालमा रोजगारीको अवसर भएको भए नेपालीहरु वैदेशिक रोजगारीमा जाने थिएनन् ।

देशमा राजनीतिक परिवर्तन पछि पटक पटक विभिन्न दलका सरकार बने तर कसैले पनि स्वदेशमा रोजगारीको वातावरण निर्माण गर्न सकेनन् । राजनीतिक दलहरुले जब देशमा चुनाव आउँछ त्यसबेला युवालाई आ आफ्नो पक्षमा पार्न चुनाव जितेपछि रोजगारी सृजना गछौँ भन्ने झुटा आश्वासन दिन्छन् । तर तिनै दलले चुनाव सकिएपछि सबै कुरा बिर्सन्छन् । समस्या यहाँ निर हो । अब झुटको राजनीतिमा युवाहरुले विश्वास गर्नेवाला छैनन् । धेरै युवाहरु राजनीतिमा लागेर बिग्रिएका छन् भने केही बनेका पनि छन् ।

यतिबेला धेरै युवाहरु स्वदेशमा सडकका गल्लीहरुमा बेरोजगारीका कारण भौँतारिरहेका छन् । जसले गर्दा युवाहरु विदेसिन बाध्य छन् । तरपनि वैदेशिक रोजगारीबाट आर्थिक उन्नति गर्नेहरू पनि हाम्रो समाजमा प्रशस्त छन् । केही वैदेशिक रोजगारीका क्रममा विविध हन्डर ठक्कर खाएर रित्तो हात स्वदेश फर्की साहुसँग लिएको ऋणसमेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । आफ्नै भूमिमै पनि आधुनिक कृषि खेती, पशुपालन, माछापालन लगायतका पेसा व्यवसाय गरेर अथाह सम्पती कमाएका युवाहरु पनि प्रशस्त छन् । कतिपय नेपाली युवाले विदेशमा सिकेको सिप र श्रम स्वदेशमै प्रयोग गरी प्रशस्त आय आर्जन गरेका छन् ।

मातृभूमिमै सानो ठूलो काम नभनी श्रम गर्ने हो भने खुसीसँग परिवारको साथ बस्न र आनन्दसँग दैनिक चलाउन सकिन्छ । हाम्रो देशबाट दैनिक एक हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसरी रोजगारीमा जानेहरूमध्ये अधिकांशको आर्थिक हैसियत निम्नस्तरको भएको देखिन्छ । मुलुकभित्र रोजगार नपाएर बाध्यताले विदेश जाँदा पनि सम्बन्धित कम्पनीले प्रतिबद्धता जनाएअनुसार पारिश्रमिक नदिएका कारण विदेशमा धेरै युवाहरुले दुःख पाउने गरेका समाचार हरु आउने गरेका छन् । कोही काम गर्दागर्दै दुर्घटनामा परेर अपांगता बनेर फर्कनुपर्ने बाध्यतामा छन् । सरोकारवाला निकायको गैर जिम्मेवारीपनले यो अवस्था आएको हो। सरकारले स्वदेशभित्र रोजगारी पनि दिन नसक्ने र सरकारकै अनुमति लिएर वैदेशिक रोजगारीमा जाँने युवाहरुले दुःख खप्नुपरेको बारेमा चासो नदिनु सरकारको गैरजिम्मेवारीपन हो । सरकारले मुलुकमै रोजगारी सिर्जना गराउनेतर्फ पहल गर्नुपर्छ । बिहानबेलुकाको छाक टार्नकै लागि विदेशी भूमिमा जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ ।