अब राजनीतिक दलहरु गम्भिर बन्ने कि नबन्ने ?

-डा. डीआर उपाध्याय


अहिले मुलुकमा अस्थिर राजनीतिको बिउ रोपिएको छ । यो अस्थिर राजनीतिले मुलुकलाई कहाँ पुर्याउने हो त्यो भने अहिले यसै भन्न सकिने अवस्था बनिसकेको छैन । मुलुकको राजनीति यति बेला भिरको डिलमा उभिएको छ । नेतृत्व बर्गले गम्भिरता पूर्वक सोच्ने हो भने अफठ्यारो बाटोमा उभिएको राजनीति सहि बाटोमा आउन सक्छ । अब राजनीतिक दलहरु गम्भिर बन्ने कि नबन्ने ? यतिबेला गम्भिर प्रश्न उठेको छ । मुलुकको भाग्य र भविष्य निर्माण गर्न राजनीतिक दलहरु नै अघि बढ्नु पर्छ ।

झण्डै तीन दशकपछि जनताले नेकपालाई बहुमत दिएर पाँच वर्षसम्म सरकार सञ्चालनको जिम्मा दिएका थिए । तर नेकपाले त्यसलाई जोगाउन सकेन । यो नै देशको विडम्वना हो । समय अगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको मितिसमेत घोषणा गरिसक्नु भएको छ । तर यो अवस्थामा चुनाव हुन्छ या हुँदैन त्यो भने यसै भन्न सकिने राजनीतिक वातावरण बनि सकेको छैन ।

संसद विघटन पछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेमामा विभाजित छ । दाहाल – नेपाल खेमाले सरकारको असंवैधानिक कदमको चौतर्फी आलोचना गरेका छन् । उनीहरुले संसद् पुनःस्थापना हुनुपर्ने माग राखेर सडक आन्दोलन गरिरहेका छन् । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा समेत दायर भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गर्नुका कारण जनतासमक्ष प्रकट गरिरहनु भएको छ । तर केही राजनीतिक दलहरुले भने प्रधानमन्त्रीको कदमलाई संवैधानिक मान्न सकिरहेका छैनन् । यी पछिल्ला गतिविधिले गर्दा नेपालको राजनीति तरंगित बनिरहेको छ । त्यसैले नेपालको राजनीतिमा देशबाहिर तथा स्वदेश भित्रैबाट चलखेल शुरु भईरहेको देखिन्छ ।

नेपालमा अहिले अस्थिर राजनीति मौलाउँदै गएको छ । नेकपाका दुबै खेमा बिच एकले अर्कालाई सिध्याउने खेलमा लागिरहेका छन् । यसले राम्रो संकेत देखाइरहेको छैन । उनीहरुको व्यक्तिगत स्वार्थ त पूरा होला तर देश र जनताको हित भने हुने छैन । नेताहरु बर्बादीको बाटोतर्फ उन्मुख हुँदै जानु भनेको आम नेपालीका लागि दुर्भाग्य नै हो । एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने नीतिले न नेताहरुकै कल्याण हुन्छ न मुलुकको कल्याण हुने देखिन्छ । मुलुकलाई अस्थिर बनाईराख्न नेकपाका दुई खेमा नै उत्तिकै दोषी देखिन्छन् । उनीहरुका यस्ता गतिविधिले मुलुकमा स्थायित्व, विकास र समृद्धि हुँदैन । मुलुकलाई अधोगतितर्फ धकेल्ने ती नेताहरुलाई जनताले समयमा नै चिन्न सक्नुपर्छ ।

अहिले देखिएको राजनीतिक दृश्यले नेपालमा शान्ति र स्थिरता चाहने समूहभन्दा यसलाई कमजोर बनाउने समूह बलियो हुँदै गएको जनतालाई महसुस हुन थालेको छ । हालको कठिन अवस्थालाई ध्यानमा राखेर जनता आफैं सचेत बनी दलहरुलाई खबरदारी गर्ने समय आएको छ । मुलुकको अस्तित्व बचाई राख्नका लागि सबै जनता नै सचेत हुनुपर्ने बेला आएको छ ।