लोकतन्त्र कमजोर बनाउने खेल

डा. डीआर उपाध्याय


अहिले लोकतान्त्रिक व्यवस्था नै कमजोर हुने अवस्था सृजना भएको छ । प्रतिगामीलाई प्रोत्साहित गर्ने कार्य संसद विघटन पछिको अवस्थाले गरिदिएको छ । लोकतान्त्रिक मूल्य र मान्यताका विरुद्ध प्रहार भएको छ । लोकतन्त्रको खिल्ली उडाउने काम भएको छ । लोकतन्त्रको घाँटी निमोठ्ने र आम जनताको वलिदानीपूर्ण संघर्षबाट निर्मित संविधान माथि नै धावा बोल्ने कार्य भएको छ । अब हामी सबै लोकतन्त्रवादी शक्तिहरु यसको रक्षार्थ सजग र सचेत हुनुपर्ने बेला आएको छ ।

लोकतन्त्र र लोकतान्त्रिक संविधान नेपाली जनताको ७० वर्ष सम्मको संघर्ष र वलिदानको परिणाम हो । विगत लामो समयदेखि नेपाली राजनीति अस्थिर हुनुको मुख्य कारण लोकतान्त्रिक प्रणाली संस्थागत हुन नसक्नु हो । स्थिर राजनीति र तिव्र आर्थीक तथा सामाजीक विकास नेपाली जनताको चाहना हो ।

देश अहिले कोरोना महामारीसँग जुधिरहेको छ । आम नागरिक यो महामारीबाट कसरी बच्ने, उपचार खर्चको जोहो कसरी गर्ने र आर्थीक अवस्था के कसरी सुधार्ने भन्ने विषयमा चिन्तित छन् । सरकार आम नागरिकका यी समस्यालाई समाधान गर्न पुर्ण रुपमा असफल भएको छ । यसप्रति जनताको गुनासो छ । अहिले फेरि देशलाई अस्थिरता तर्फ धकेलने काम भएको छ । लोकतन्त्र कमजोर बनाउने खेल कसैले गर्नु हुँदैन । आम नागरिकलाई लोकतन्त्रप्रति विश्वास जगाउनु पर्छ । राज्यका तीनवटै अंग व्यावस्थापिका, कार्यपालिका र न्यायपालिकाका आ –आफ्नै अधिकार हुन्छन् । संसद विघटनको यो कदम पछाडि नेकपा भित्रका नेताको अहंकार र व्यक्तिगत स्वार्थको टकराव स्पस्ट देखिन्छ ।

अलोकतान्त्रिक, असंवैधानिक र गैरसंसदीय काम र व्यवहार विरुद्ध आवाज उठाउनु जनताको अधिकारको कुरा हो । संसद विघटनले राजनीतिक तरलता बढाएको छ । देशमा देशी विदेशी तत्वहरुले राष्ट्रियता र लोकतन्त्र विरुद्ध खेल्न पाउने संभावना बढेर गएको छ । देशमा अस्थिर राजनीति भयो भने देशी विदेशी शक्तिहरु खेल्ने मौका पाउँछन् । अहिले त्यही स्थिती सृजना भएको छ । नेपाली जनता अन्योलमा छन् । बिहान बेलुकाको छाक टार्न नेपाली जनतालाई धौ–धौ परेको अवस्था छ । राजनीतिक दल र तिनका नेताहरुले मनपरि गरिरहेका छन् । नेताले जे गर्छन् त्यही सहेर बस्न निरीह जनता बाध्य छन् । जनताको आस्था र विश्वासमाथि कुठाराघात भएको छ ।

संसद विघटन पछि देशका विभिन्न ठाउँमा विरोध, जुलुस र प्रदर्शनहरु दिनौँ भइरहेका छन् । यसले देशमा अशान्ति ल्याउने निश्चित छ । नेपाली जनताले चाहेको स्थायी शान्ति, सुशासन र विकास हो । अब देशमा विकास र समृद्धि हुन्छ, हुन्छ भन्ने बेलामा राजनीतिक वातावरण धमिलिएको छ । यसले आम नेपाली जनतालाई चिन्तत र हत्तोसाहित बनाएको छ । यतिबेला जनताको चेहेरामा चमक छैन् । जनता उत्साही छैनन् । परिस्थिती जटिल बन्दै गएको अवस्था छ । अब वर्तमान राजनीति र यसको निकास खोज्न जरुरी छ । सधैभरि झै,झगडा र लडाइं गरेर देशलाई फाइदा छैन । विगतको इतिहासबाट पाठ सिकेर अघि बढ्नु पर्ने बेला आएको छ । दलहरु मिलेर अघि बढ्नु पर्छ । देश विकास र जनताको भाग्य र भविष्य निर्माणमा सबै एक हुनु आजको आवश्यकता हो र देखिन्छ ।