फड्को मार्दै सञ्चार र प्रविधि

डा. डीआर उपाध्याय


गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिरहेको कोरोना सङ्क्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । लामो समयको बन्दाबन्दी र लकडाउनले आम नागरिकको जनजीवन अझैसम्म पनि सहज बन्न सकिरहेको छैन । उद्योग, कल कारखाना, शैक्षिक संस्था, होटल तथा पर्यटन लगायतका कैयौं क्षेत्र अझैसम्म उठ्न सकेको अवस्था छैन । त्यहाँ कार्यरत कर्मचारी तथा मजदुरले रोजगारी गुमाएका छन् । मुलुक पुरानो ढाँचामा फर्कन लामो समय लाग्ने देखिन्छ । मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको कारणले व्यवसायीहरु लगानी गर्न डराइरहेका छन् । यस्तो छ अहिलको देशको यथार्थ चित्रण । मुलुकले विकास, समृद्धि र सुशासन खोजेको हो । तर अहिलेसम्म त्यस्तो  अवस्था आउन सकेको छैन् । जबसम्म मुलुकमा सुशासन कायम हुँदैन तबसम्म विकास र समृद्धिको कल्पना नगरे पनि हुन्छ ।

विश्वका अधिकांश देशहरू जति विकसित भएका छन् ती सबै सुशासनको कारणले गर्दा भएका हुन् । यदि देशको विकास गर्ने हो भने नेतृत्व वर्गले पारदर्शीता देखाउन अपरिहार्य छ । राजनीतिक दल र तिनका नेताहरू  नैतिकवान, सक्षम र योग्य नहुँदासम्म मुलुक बन्दैन । मुलुक बनाउन दूरदर्शी नेता चाहिन्छ । आजसम्म दूरदर्शी नेताको अभावले गर्दा मुलुकको राजनीतिक अवस्था रन्थनिएको छ । सत्तापक्ष होस् वा प्रतिपक्ष सबै पार्टीमा गुट उपगुटको राजनीति चलेको छ । यसले मुलुकलाई निकास दिन सक्दैन । अहिले हरेक पार्टीमा आन्तरिक विवाद छ । तर देखिनेगरी सबैभन्दा बढी सत्तारूढ दल नेकपाभित्र देखिन्छ । सत्तारूढ दलभित्रको यो विवादले मुलुकलाई दिशा विहीन बनाएको छ । विकास, समृद्धि र सुशासनका कुरा त आश्वासनको पोको मात्र भएको छ । अधिकांश नेताहरूले राजनीतिको नाममा व्यक्तिगत धनसम्पती जोडेका छन् । यो जनताप्रतिको गद्दारी र बेइमानी हो । राजनीतिको नाममा भ्रम छर्ने हिजोको जस्तो अवस्था अहिले छैन । यो विषयमा राजनीतिक दल र तिनका नेताहरू सचेत हुन  जरूरी देखिन्छ ।

अहिलेको युग प्रविधि र सञ्चारको युग हो । अहिले कुनै कुरा कसैले गोप्य राख्न खोजेता पनि गोप्य रहन सक्दैन । पहिलेको समाज र अहिलेको समाज तुलना गर्न मिल्दैन । किनभने जनताहरू सचेत भैसकेका छन् । केही दूरदराजका ठाउँ बाहेक अन्य ठाउँमा इन्टरनेट र सञ्चारको पहुँच पुगिसकेको छ । त्यसैले कसैले कसैलाई ढाँट्न र छल्न सक्ने अवस्था छैन । तपाईँ हामी आफ्नो घरको कोठाभित्रबाट संसारको जुनसुकै ठाउँमा पनि छिनछिनमा यथार्थ सूचना आदान प्रदान गर्न सक्ने अवस्थासम्म आईपुगेका छौँ । यसैलाई नै सूचना र प्रविधिको विकास भन्न सकिन्छ .