नेकपाभित्र अन्तरविरोध बढ्दो छ

डा. डीआर उपाध्याय


यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको किचलोले सबैको ध्यान तानेको छ । पात्र फेरिए तर प्रवृत्ति फेरिएन । किसान, मजदुर र गरिबको हिजो जस्तो अवस्था थियो आज पनि त्यस्तै छ । लोकतान्त्रिक गणतन्त्रकालमा सर्वसाधरण जनताले फरक महसुस केही पाएका छैनन् । यो भन्दा बिडम्वना के हुन सक्छ ? । मजदुर, किसान, श्रमजीवी, शोषित पीडित, गरिब जनताको समस्या दिनहुँ बढ्दै गएका छन । नेताहरु एक आपसमा लडेर तमसा देखाइरहेका छन् । महिला, दलित, जनजाति, मधेसी, थारु, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताले आफना अधिकारका कुरा उठाइरहेका छन् । सबै वर्ग, तह र समुदायका जनतालाई समानरूपमा अधिकारसम्पन्न बनाई राष्ट्रिय एकता सुदृढ पार्नु नै आजको आवश्यकता हो । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद तीव्र बन्दै जाँदा यो पार्टी विभाजन हुनेसम्मका चर्चा परिचर्चा भइरहेका छन्। यो मुलुकका लागि दुर्भाग्य हो । यदि नेकपा विभाजित भइहाल्यो भने त्यो मुलुकका लागि घातक हुने छ । यो कुरा मैले धेरै पहिले देखि उठाउँदे आएको छु ।

गएको शनिबार प्रधानमन्त्री र नेपाली कांग्रेस सभापतिबीचको भेटवार्तालाई पनि कतिपयले सम्भावित सत्ता सहकार्यका रूपमा अर्थ्याए । यो वास्तविकता होइन । अहिले यतातिर जानुपर्ने कुनै कारण छैन । दुई ठूला कम्युनिस्ट पार्टीले स्थायित्व र समृद्धिको नारा दिँदै चुनावी गठबन्धन गरेपछि जनताले त्यसलाई विश्वास गरे । नेपाली जनताले झन्डै दुईतिहाइ मत दिए । चुनावी गठबन्धन पछि नेकपा बन्यो । सरकार पनि बन्यो । तर जनताले सोचे बमोजिम सरकारले काम गर्न सकेन । यो नै दुखद पक्ष हो ।

प्रचण्ड र ओलीबीच सत्तासंघर्षको लडाई चलेको छ । यो कुरा सबैले बुझेका छन् । पार्टीभित्र फरक–फरक समीकरण विकसित हुँदै आएका छन् । यतिबेला ओली पार्टीभित्र कमजोर सावित भएका छन् । उनी एक्लिएको अवस्था छ । तर ओली आफ्नाविरुद्ध भइरहेका मोर्चाबन्दीबाट डराएका छैनन् । उनी सहजै हार स्वीकार गर्ने पक्षमा छैनन् । अर्का पक्षको चाहनाअनुसार ओली सत्ता र पार्टी नेतृत्व छाड्ने मनस्थितिमा छैनन् । एउटाले जसरी पनि हटाउने र अर्का पक्ष कुनै पनि हालतमा पद नछाड्ने अडानकै परिणाम नेकपाभित्र अन्तरविरोध चर्किंदै गएको छ । अन्तरविरोध सत्ता साझेदारीको विषयमै केन्द्रित छ ।  नेकपाभित्र अन्तरविरोध बढ्दो छ । सार्वजनिक रूपमै आरोप-प्रत्यारोप भइरहेका छन् ।