राजनीतिक ध्रुविकरण

-डा. डी. आर. उपाध्याय खनाल

नेकपा एमाले सहितका पार्टीको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री हुन सफल भएका छन् । आज ४ बजे उनले सफथ लिने कार्यक्रम छ । गठबन्धन तोडेर उनी सत्ता स्वार्थका लागि जे गर्न पनि तयार भए । आखिर सत्ताका लागि जे पनि हँदो रहेछ । राजनीतिक दलमा इमान भन्ने कुरा नै छैन । चुनावको बेलामा गठबन्धनको नाममा भोट मागेर चुनाव जित्ने अनि अहिले आएर सत्ता स्वार्थका लागि गठबन्धन तोड्ने यो कस्तो राजनीतिक संस्कार हो ? अब भावि पुस्ताले यस्तो राजनीति संस्कारबाट के सिक्ने ? देश र जनताको भन्दा नेताहरुलाई आफ्नै कुर्सी प्यारो लागेको छ । कुर्सी भन्दा अरु नेताहरुले केही देखेनन् । यसरी देश कसरी बन्छ ?

अब गठन हुने सरकारमा धेरै भन्दा धेरै दलको सहभागिता हुने छ । दलहरुको चित्त बुझाउन पनि प्रचण्डलाई ठूलै चुनौति हुने छ । अब बन्ने सरकारले देश र जनताको पक्षमा के कति काम गरेर देखाउँछ त्यो त हेर्न नै बाँकी छ । देउवाको अहंकारले गठबन्धन भत्किएको भन्नेहरु पनि छन् । तर जे भए पनि आज मुलुक राजनीतिक धुब्रिकरण तर्फ अघि बढेको अनुमान लगाउन सकिन्छ ।

हिजो बिहान सम्म गठबन्धनकै सरकार बन्ने चर्चा थियो । तर राजनीतिले मध्यान्हतिर अकै मोड लियो र प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भए । उनलाई समर्थन गरेका सबै पार्टी सरकारमा जाने कुरा छ । समर्थन गरेका सबै पार्टीलाई प्रचण्डले कसरी मिलाएर लैजान्छन् त्यो नै अग्नि परिक्षाको बिषय बनेको छ । नेताहरु सत्ताकै लागि बिगतमा झै गल्ति दोहोयाउँदै छन् । अब जनताले खवरदारी नगर्ने हो भने जे पनि हुन सक्छ । जनता सजग हुनु पर्ने अवस्था आएको छ ।

देश र जनताको भविश्य दिन प्रतिदिन नाजुक बन्दै गइरहेको छ । अब देश र जनताको चिन्ता गर्ने नेताको खाँचो छ । देश र जनताको कुनै मतलव नराख्ने नेताहरुको अब भविश्य राम्रो हुने छैन । यो कुरा बुझेर बसे हुन्छ । लामो समयदेखि नेपाली जनताले दु:ख कस्ट भोग्दै आएका छन् । यो देशको भविश्य राम्रो हुन्छ कि भन्दै धैर्य पनि पटक पटक गरे तर जनताले सोचे जस्तो अवस्था परिवर्तन हुन सकेन ।

देशमा ब्यवस्था बदलियो तर जनताको अवस्था उस्तै छ । अब प्रचण्डले जनताको अवस्थामा परिवर्तन ल्याउन सक्छन् कि सक्दैनन् । ब्यवस्था परिवर्तन गर्न प्रचण्डकै देन छ तर देश र जनताको अवस्था परिवर्तन भएन भने ब्यवस्था परिवर्तनको के अर्थ ?  देश र जनतालाई सोचेर भाग्य र भविश्य निर्माण गर्नु आजको आवश्यकता हो । अब मुलुक बनाउने कुरामा सबै दलहरु मिलेर अघि बढ्नु पर्छ । त्यसो भयो भने मात्र देश बन्छ । एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्नु पर्छ ।

राजनीतिमा इमान्दारीता भएन भने देश र जनताले दु:ख भोग्नु पर्ने हुन्छ । हाम्रो देशको राजनीतिमा बेइमानी मात्र भइरहेको छ । सत्ताका लागि नेताहरु एक आपसमा मिल्दै जाने तर तल तलका कार्यकर्ता पानी बाराबार गरी बोलचाल नै नगरेको पाउन सकिन्छ । नेता मिले पछि सबै सकियो । यस्तो छ देशको राजनीति । हिजो ओली-प्रचण्ड नमिल्दा राजनीति के भएको थियो र अहिले के भयो ?  यी सबै सत्ता स्वार्थका खेल हुन् । जनतालाई मुर्ख बनाउने खेल राजनीतिमा देखिएको छ ।