सत्ता गठबन्धनको राजनीति

-डा. डी. आर. उपाध्याय खनाल


यही मङ्सिर ४ गते सङ्घीय र प्रदेशसभाको निर्वाचन मिति घोषणा भएको छ । निर्वाचन मिति घोषणासँगै विभिन्न राजनीतिक दलहरु चुनाव केन्द्रित बन्न थालेका छन् । आजको मिति सम्मको कुरा गर्ने हो भने सङ्घीय र प्रदेशसभाको चुनावमा पनि सत्ता गठबन्धन दलहरु मिलेरै चुनावमा जाने कुरा गरिरहेका छन् । उनीहरुको चाहना के हो भने जसरी हुन्छ एमालेलाई कमजोर बनाउने र चुनाव पछि मिलिजुली फेरि सरकारमा जाने र मिलेर खाने, यो बाहेक गठबन्धनको अरु कुरा केही देखिएन ।

लोकतन्त्रमा दलहरु एक्ला एक्लै प्रतिस्पर्धा गर्नुपर्ने हो, मिलेर चुनाव लडनुको के अर्थ ? यसले राजनीतिक अस्थिरता निम्त्याउने बाहेक अरु केही गदैन । नेकपा एमालेलाई कमजोर बनाउन खोज्दा के मुलुकको राजनीति अस्थिरता तर्फ त जाँदैन ? यो प्रश्न भोलि गम्भीर रुपमा उठ्ने छ । बिगत लामो समयदेखि सत्ता र शक्तिमा रहेकाहरुले मुलुकको भविश्य बनाउन सकेनन् । आम नेपाली जनता बिकल्पको खोजिमा पनि छन् । पुराना दलहरुले अवसर पाएर पनि मुलुक बनाउन सकेनन् । लामो समयदेखि नै जनतामा एक खालको वितृष्णा पैदा भइरहेको छ ।

आज हामीले देखिरहेका छौं, चुनाव भन्ने चिज खर्चिलो र महङ्गो बन्दै गएको छ । संसदमा समेत यो कुरा उठ्यो । पैसा नभएका नेताहरु उम्मेदवार बन्न आँट गर्न सकिरहेका छैनन् । लोकतन्त्रको आधारशीला आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, व्यवस्थापिका संसद् र क्रियाशील कार्यपालिका हुन् । लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र नै हो । दलहरु बिग्रिदा लोकतन्त्र कमजोर बन्न सक्छ । दलहरुले जनतालाई बिश्वास दिलाउन सक्नु पर्छ । त्यसो भयो भने मात्र ब्यवस्था बलियो बन्न सक्छ ।

लोकतन्त्रमा निर्वाचनदेखि कोही भाग्नु हुँदैन । लोकतन्त्रमा बिश्वास गर्ने सबैले निर्वाचनमा भाग लिनु पर्छ । राम्रा जनप्रतिनिधि छान्नका लागि बुझेर मात्र आम नागरिकले मतदान गर्नुपर्ने हुन्छ । प्रदेश तथा सङ्घीय चुनावमा सक्षम, शिक्षित तथा नेतृत्व लिन सक्ने युवा तथा महिलालाई अघि सार्नुपर्छ । चुनावमा जाँदा जनतालाई आश्वासन मात्र बाँड्ने जुन राजनीतिक पार्टीहरुको परम्परा छ त्यसले पार्टीहरुलाई घाटा पुर्याईरहेको छ ।

चुनावमा आश्वासन बाँढने र चुनाव जितेर गएपछि त्यसको कुनै मतलव नगर्ने हाम्रा राजनीतिक दल र नेताहरुको बानी छ । यो राम्रो पटक्कै होइन, आफूले पूरा गर्न सक्ने आश्वासन मात्र दिनु पर्छ । आफनो पक्षमा भोट तान्नलाई जे मन लाग्छ त्यस्तो आश्वासन दिनु भनेको जनबिश्वास गुमाउनु हो । यो कुरामा सबै राजनीतिक पार्टी र तिनका नेताहरु सचेत हुन जरुरी छ । अब जनताले भाषणलाई आधार मानेर बिगतमा जस्तै भोट दिइहाल्छन् भन्ने सोच कुनैपनि नेताहरुले नराखे हुन्छ ।

अहिलेका जनता धेरै सचेत भइसकेका छन् । अब जनताले उधारो आश्वासन होइन, परिणाम खोजेका छन् । अब राजनीतिक दलहरु चुनावमा जाँदा परिणाम लिएर जान सक्नु पर्छ । पटक पटक सरकारमा गएर पनि प्रमुख दलहरुले केही गर्न सकिरहेका छैनन् । जनतामा निराशा मात्र छ । महंगी बढेको बढै छ । युवाहरुले रोजगारी पाउन सकिरहेका छैनन् । नेपाली काँग्रेस समेत एक्लै चुनाव लड्ने आँट गर्न सकिरहेको अवस्था छैन ।

माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी एक्लै चुनावमा जान नसकेर गठबन्धन जोगाएर जान खोजेका छन् । निर्वाचन आयोगले सरकारले गरेको निर्णय बमोजिम चुनाव गराउन तयार रहेको प्रतिक्रिया दिएको छ । सरकारको निर्णयपछि चुनावबारे छाएको एक खालको अन्योल हटेको छ । अब सिंगो मुलुकको ध्यान चुनावतर्फ केन्द्रित हुने निश्चित छ । चुनावमा सत्ता गठबन्धन कायम रहने सम्भावना बढी छ । नेकपा एमालेविरुद्धको गठबन्धन हो यो । अघिल्लो चुनावमा कांग्रेस विरुद्ध गठबन्धन भएको थियो । तर राजनीतिमा असम्भव केही हुन्न । कतिबेला के हुन्छ यसै भन्न सकिदैन ।