पुराना राजनीतिक दल र रविको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

– डा. डी. आर. उपाध्याय खनाल


रवि लामिछानेले राष्ट्रिय सभागृहमा मङ्गलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । यो दलको घोषणासँगै राजनीतिमा तरङ्ग पैदा भएको छ । पुराना पार्टीवाट वाक्क दिक्क भएका जनता रविको पछि लाग्नु स्वाभाविक कुरा हो । राजनीतिमा लामो समयदेखि छलछाम मात्रै भयो । ब्यवस्था बदलियो तर जनताको अवस्था बदलिन सकेन । त्यसैले पनि रविले ब्यवस्था होइन, अवस्था बदल्न पार्टी निर्माण गरेको उदघोष गरे । सभामा सहभागी धेरै मान्छेहरु उत्साहित भएको पनि देखियो । पुराना राजनीति दलहरुले देश र जनताको पक्षमा राम्रो काम गरेर देखाउन सकेको भए रविको पछि यति ठूलो भिड जम्मा नहुन सक्थ्यो ।

आज जनतामा यति धेरै निराशा छाएको छ कि त्यो भनि साध्य छैन । जनतामा निराशा र असन्तुष्टि छायो भने बिकल्प खोज्न बाध्य हुन्छन् । यो जनताको अधिकारको कुरा हो । हिजोको सभामा रविको भाषण सुन्न जम्मा भएको भिड पनि पुराना दलप्रतिको असन्तुष्टि हो । पुराना दलहरुमा दम्भ र अहंकार मात्र पैदा भयो । देश र जनताको लागि उनीहरुले केही सोचेनन् । पुराना राजनीतिक दलहरुको भविष्यमाथि गम्भीर प्रश्न उठन थालेको छ । पुराना राजनीतिक दलहरु कहिले पनि सच्चिन खोजेनन् । त्यसैको परिणाम हो रविको पछि भिड जम्मा भएको । यसमा दुईमत छैन । पुराना राजनीतिक दलहरु सत्तामा गएपछि आफ्ना आसेपासे र नातागोता बाहेक अरु कसैलाई हेरेनन् । यस्तै अवस्था रहिरहने हो भने पुराना राजनीतिक दलहरुको भविष्य सङ्कटमा पर्ने निश्चित छ ।

पुराना राजनीतिक दलहरु नातावाद र परिवारवादको घेराले सकिँदै छन् । पुराना राजनीतिक दलहरुले नातावाद र परिवारवादको घेरा तोड्न सकेनन् । त्यही घेरा तोड्न नसक्नु नै दलहरुको कमजोरी हो । रविको भाषणमा तालि बजाउनेहरु तिनै पुराना पार्टीका असन्तुष्ट कार्यकर्ता हुन् । ती कार्यकर्ताहरु देशभरि रविको पक्षमा डुले भने पुराना पार्टीको हालत के हुन्छ ? यो कुरा पुराना दलहरुले बुझेका छन् ।

बालेन साहलाई पनि दलहरुले मतलव नदिँदा काठमाण्डौ महानगरपालिकाको मेयर जितेर देखाए । हर्क राईले धरानमा जितेर देखाए । यो जनताको फैसला हो । जनताले जे फैसला गर्छन् त्यो मान्न तयार हुनु पर्छ । भोलि रवि जस्ता सयौं युवा प्रदेश र सङ्घीय चुनाव जितेर आउन सक्छन् । यो नै लोकतन्त्र हो । लोकतन्त्रमा प्रतिस्पर्धा हुनु स्वाभाबिक प्रक्रिया हो । पुराना राजनीतिक दलहरुले आफूलाई अझै पनि सुधार नगर्ने हो भने रवि, बालेन, हर्क जस्ता सयौं युवा जन्मिन सक्छन् । पुराना दलहरुले कमसेकम बेलैमा सोच्ने हो भने अझै सुरक्षित हुन सक्ने छन् । पुराना दलहरुले गलत प्रबृति र गलत चिन्तन छोडनु पर्छ । राजनीतिक दलहरु सच्चिने अवसर र चुनौति दुबै आएको छ । यो दलहरुले बुझ्ने कुरा हो  । हामीले त सुझाव मात्र दिने हो ।