भ्रष्टाचार भनेको महामारी जस्तै रोग हो ।

  • डा. डी. आर. उपाध्याय

भ्रष्ट आचार भएका ब्यक्तिहरुलाई हामी सबैले बहिष्कार गर्ने आँट गरौं । भ्रष्ट आचारसँग भ्रष्टाचार जोडिएको हुन्छ । पद र शक्तिको दुरुपयोग गरी पैसा कुम्ल्याउने जुन कार्य भइरहेको छ त्यो नै गलत कार्य हो । हरेक अनियमितता, ठगी, बेइमानी जस्ता कार्यहरू भ्रष्टचारसँग जोडिएका हुन्छन् । हाम्रो देशमा भ्रष्टाचार भनेको महामारी जसरी फैलदै गएको छ । यसलाई जरोदेखि उखेलेर फाल्ने कार्यमा हामी सबै जुट्नु पर्छ ।

भ्रष्टाचार भनेको महामारी जस्तो रोग हो । अहिले मुलुकमा एकपछि अर्को गरी आर्थिक अनियमितताका घटना आउने गरेका छन् । मुलुकमा जताततै भ्रष्टाचार, अनियमितता, कमिसन, सेटिङको सञ्जाल मात्र फैलिएको छ । नेपालमा भ्रष्टाचार धेरै पुरानो रोग हो । यो रोगलाई निमूल पार्नु पर्छ । भ्रष्टाचारको अङ्क बढेर अर्बौंमा पुगेको छ । न्यायालय, शिक्षालय सबै कार्यालयमा भ्रष्टाचार छ । भ्रष्टलाई कारबाही गर्नु पर्छ ।

दलका शीर्ष भनिनेहरू समेत भ्रष्टचारमा संलग्न भएका समाचार बेला बेलामा आउने गरेका छन् । बिचौलिया, ठेकेदार तथा सेवाग्राही पनि आफ्नो फाइदाका लागि भ्रष्टहरू खोज्दै हिँड्ने गरेको पाइन्छ । हाम्रो देशमा भ्रष्टाचारको सञ्जाल तोड्नुपर्ने अबस्था देखिएको छ । यसको नेतृत्व राजनीतिक संयन्त्र र प्रशासनतन्त्रले गरेको छ । हाम्रो देशमा प्रशासनतन्त्र अझै इमान्दार हुन सकेन । अहिलेसम्म देशको कर्मचारीतन्त्रमा कुनैपनि परिवर्तन भएको छैन । कर्मचारीतन्त्रमा ब्यापक सुधार गर्नुपर्ने आबश्यकता देखिएको छ ।

ढिलासुस्ती नै भ्रष्टाचार गर्ने खेल हो । राज्यले बनाएका नीतिनियम, कानुनलाई कार्यान्वयन गरी जनतालाई सेवासुविधा उपलब्ध गराउने दायित्व कर्मचारीतन्त्रको हो । सरकारका नीति तथा निर्णयलाई कार्यान्वयन गर्ने संयन्त्र पनि कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्र चुस्त, दुरुस्त, विकासमुखी, सेवामैत्री नबनेसम्म न त सेवाग्राहीले समयमा सेवा पाउन सक्छन् न त विकास निर्माणका कार्य नै सम्पन्न हुन सक्छन् ।

सुशासनबिना देशमा गुणस्तरीय विकास सम्भव हुँदैन । देशमा सुशासन कायम हुनु पर्छ । यो आजको आबश्यकता हो । अहिले सेटिङ मिलाएर देशलाई खोक्रो बनाउने काम भइरहेको छ । हाम्रा नेताहरू आफ्नो पद र पदीय मर्यादा बिर्सेर देश र जनताप्रति गैरजिम्मेवार बन्दै गएका छन् । स्वच्छ एवं निष्पक्ष प्रशासनतन्त्र नै आजको आबश्यकता हो । देश र जनताभन्दा अरु कोही पनि ठूलो छैनन् भन्ने भावना बोकेर हामी सबै हिँड्नु पर्छ । नीति नियम बनाउने र कार्यान्वयन गर्नेको मति नै भ्रष्ट भएको आजको अवस्थामा समाज सचेत हुन जरुरी छ ।

राजनीतिमा सक्षम र राम्रा मान्छे नै छैनन् । राजनीतिमा राम्रा मान्छे भन्दा हाम्रा मान्छेको हाबी बढी भयो । नातावाद, कृपावाद र आफन्तवाद नै राजनीतको ठूलो समस्या हो । संस्थान, प्राधिकरण, निगम, नियोग लगायतका राजनीतिक नियुक्ति हुने कार्यालयमा भागबन्डा गर्ने र आफ्नो मान्छे नियुक्ति गर्ने कार्यले सक्षम व्यक्ति पाखा लगाइएका छन् । सक्षम, अनुभवी एवं योग्यभन्दा आफ्ना राजनीतिक आस्था भएका वा पैसाले आफ्ना बनाइएकाहरूको वर्चस्व व्याप्त छ ।