कामरेड हो, जनताको भरोसाको ख्याल राख्नुहोस् ।

-डा. डीआर उपाध्याय


पछिल्लो समयमा आएर नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपाल बीच भेटबार्ता भएको छ । दुबै नेता बीचको भेटवार्ताले सार्थकता पाओस् भन्ने आम कार्यकर्ताको चाहना पनि छ । नेकपा एमालेका नेताहरु मिलेर जाँदा नै पार्टी बलियो हुन्छ । यदि मिल्न नसके पार्टी र नेताहरुलाई नै घाटा हुने हो । देश र जनताका लागि भन्दै भोकभोकै पार्टी निर्माण गर्न बिगतमा कति कठिन भयो होला । आफैले निर्माण गरेको पार्टी छाडेर अर्को पार्टी निर्माण गर्न खोज्नु कसैलाई राम्रो हुँदैन होला । पार्टीभित्र बसेर अन्तरसङ्घर्ष गर्नु सबै भन्दा राम्रो हुने छ । एमालेको आन्तरिक किचलोले पार्टीलाई मात्र होइन, देशको भविश्यलाई समेत अन्योल बनाएको छ ।

पछिल्लो राजनीतिक गतिविधिले सवै कुरा गिजोलेको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटबार्ता भएपनि एक हुने कुरामा अझै भरपर्दो र बलियो आधार निर्माण हुन सकेको छैन । हाम्रो बिचार त मिलेर जानुहोस् भन्ने हो । प्रतिशोधको व्यवहार साँधेर बस्ने हो भने कसैलाई फाइदा छैन । दुवै नेताका अहंका कारण पार्टी विभाजन हुने खतरा बढेर गएको छ । यो पार्टी ओली र नेपाल मिलेर जोगाउनुहोस् । तपाईहरुबीच अप्रत्यासित रूपमा भेटघाट भएको छ । यसलाई छिटो सार्थकता दिनुहोस् । बुधबार र बिहीबार तपाईहरुबीच दुई चरणमा भएका संवादले आम कार्यकर्तामा केही सकारात्मक सन्देश तल्लो तहदेखि माथिसम्म दिएको छ । त्यसैले दुवै नेता मिलेर अघि बढनुहोस् । मेलमिलाप नै राम्रो कुरा हो । जनताको भरोसाको ख्याल राख्नुहोस् । फराकिलो छाती बनाएर पार्टीलाई एक ढिक्का बनाउनुहोस् । पार्टीको मिलनबिन्दु नै तपाई दुई बीचको एकता हो ।

अघिल्लो चुनावपछि वाम गठबन्धनको बहुमत आउँदा जनतामा एकखालको उत्साह थियो । अहिले तपाईहरु बीचको बेमेलले जनता निराश हुन पुगेका छन् । देशमा राजनीतिक अस्थिरता आउने हो कि भन्ने चिन्ता छ । गत निर्वाचनमा एमाले र माओवादी केन्द्र नमिलेको भए झण्डै दुईतिहाई नजिकको बहुमत आउने थिएन । जनताले स्थिरताको जनादेश दिएका हुन् । तर सत्ता स्वार्थको आन्तरिक खेलमा त्यो आधा कार्यकाल पनि राम्ररी टिक्न सकेन । एकवर्ष ननाघ्दै दलभित्रैबाट सरकारको खुट्टा तान्ने काम सुरु भएको थियो । यो नै मुलुक र पार्टी दुवैको लागि दुर्भाग्य भयो । सर्वोच्च अदालतको आदेशले दुवै पार्टीलाई आ-आफ्ना घरमा फर्कन बाध्य बनायो । माओवादीका धेरैजसो प्रभावशाली नेताहरु एमालेमै गए ।

दल कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ । लोकतन्त्रमा दल फुटिरहे भने अरु शक्तिले फाइदा उठाउन सक्छन् । दलीय व्यवस्थामा दलहरू बलियो हुनुपर्छ । दलका नेताहरू सत्ता, पद र शक्ति जोगाउने खेलमा मात्र लागे भने देशमा सुशासन हुँदैन। देशले सुशासन खोजेको छ । नेताहरु झगडा नगर्नुहोस्, मिल्नोस् । त्यसो भयो भने मात्र देशको भलो हुन्छ । देशको अगुवाइ गर्ने तपाईहरुले हो, मिलेर जानुहोस् । आज देश संकटमा छ l यसको निकास मिलेर छिटो दिनुहोस् । नेपाली जनताले अस्थिर राजनीति खोजेका होइनन् स्थिरता खोजेका हुन् । जनताको भावना बुझेर नेताहरुले काम गर्नुपर्छ । नेताहरुले जनभावना बिपरित काम गरे जनताले निर्वाचनको माध्यमवाट दण्ड दिने छन् । यो कुरा बुझेर काम गर्न जरुरी छ । लोकतन्त्रमा जनता भनेका सार्वभौमसत्ता हुन् । नेताहरुले जनतामाथि खेलवाड गरे चुनावबाट पत्तासाप हुने निश्चित छ । देश र जनताको भविश्य निर्माणका लागि नेताहरु गम्भीर बन्न जरुरी छ ।