लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।

डा. डीआर उपाध्याय


देशको सबैभन्दा ठूलो दल नेकपाभित्र आन्तरिक किचलो चलिरहेको पनि लामो समय भैसक्यो । मुलुकको प्रमुख दलभित्र आन्तरिक विवाद हुँदा समग्र देशको आर्थिक, सामाजिक, राजनीतिक सबै क्षेत्रमा प्रभाव पार्दो रहेछ । मुलुकमा राजनीतिक परिवर्तन पटक पटक भए तर जनताले कुनैबेला पनि परिवर्तनको महसुस गर्न सकेनन् । राजनीतिक दल र तिनका नेताहरुले मात्र फाईदा उठाउँदै आए । हिजोका दिनमा निम्न आयस्रोत भएका नेताहरुका अहिले घर, घडेरी र गाडी छन् । जनताको नाममा राजनीति गरेका नेताहरुले ब्यक्तिगत सम्पती जोडेको देख्दा आम जनता असन्तुष्ट छन् । जनताको नाममा राजनीति धेरै भयो तर जनता देशको राजनीतिक अवस्थाबाट वाक्क, दिक्क छन् । जुन पार्टी सरकारमा गएपनि देश र जनताको पक्षमा सोच्न सकेनन् । केवल आफ्नो ब्यक्तिगत स्वार्थ मात्र हेरे । यो नै मुलुकको अहिलेको समस्या हो ।

नेताहरु आर्थीक रुपमा सम्पन्न हुँदैजाने जनता झन् झन् गरिब हुँदै जाने अवस्था विकराल बन्दै गएको छ । आम सर्वसाधरण जनताको दैनिकी सहज रुपमा चल्न नसकेको अवस्था छ । लाखौँलाख युवायुवती बेरोजगार भएर सडकमा भौतारिरहेका छन् । मुलुकको आर्थीक अवस्था पनि नाजुक बन्दै गएको छ । रोजगारीका अवसर सिर्जना हुन सकेका छैनन् । शिक्षित र पढे लेखेका युवायुवती बेरोजगारी समस्याले गर्दा विदेश पलायन हुन बाध्य छन् । शिक्षित जनशक्ति विदेसिनु भनेको देशलाई पछाडि धकेल्नु हो । यो विषयमा विगतका सरकारदेखि हालसम्मका सरकार गम्भीर देखिएनन् । यसले गर्दा पनि जनतामा असन्तुष्टी पैदा भएको छ । यो असन्तुष्टि सडकमा गएर पोखिएको छ ।

लोकतन्त्रमा सभा, जुलुस गर्न पाइन्छ । यो एउटा लोकतन्त्रको सुन्दर पक्ष हो । एउटा पार्टीले सरकारमा गएर राम्रो काम गर्न सकेन भने जनताले चुनावको माध्यमबाट फाल्न सक्छन् । यो जनताको अधिकारको कुरा हो । जनतालाई कुनैपनि शासकहरुले कमजोर सोच्नु हुँदैन । जनता अजेय शक्ति हुन् ।  जनताको बल र बलिदानबाट मुलुकमा पटक पटक राजनीतिक परिवर्तन सम्भव भएका छन् । अहिले सडकमा जुन किसिमका प्रदर्शन भइरहेका छन्, यसलाई सरकारले हल्का रुपमा लिनु हुँदैन । राजनीतिमा असम्भव भन्ने कुरा हुँदैन । कुन पार्टी कतिखेर कहाँ पुग्छ र कतिखेर पलायन हुन्छ भन्ने कुरा इतिहासले पुष्टि गर्दै आएको छ ।

हिजो माओवादीले जनयुद्ध सुरु गर्दा तत्कालिन शासकहरुले हल्का रुपमा लिँदा परिणामस्वरूप व्यवस्था परिवर्तन गर्ने माहोल नै सिर्जना भयो । एक दुई सय मान्छेले गुलेली चलाएर जनयुद्ध हुँदैन भन्नेहरु पनि आज छन् । आखिर के भयो, जनयुद्धको बलमा व्यवस्था परिवर्तन भयो । हो, यी साना मसिना कुरामा शासकको ध्यान केन्द्रित हुनु पर्छ । सडकमा उत्रेको असन्तुष्टीलाई चाँडो भन्दा चाँडो सम्वोधन गर्नु पर्छ । यो प्रमुख राजनीतिक दल र सरकारको काम हो । अझैपनि देशमा धेरै समूहमा बाँडिएका असन्तुष्ट पक्षहरु छन् । ती सबै असन्तुष्ट पक्षलाई वार्तामा बोलाएर समस्या समधान गर्ने काममा सरकार लाग्नुपर्छ । केही अराजक तत्वहरु जनतालाई भड्काउने खेलमा लागिरहेका छन् । अहिले मुलुकको राजनीतिक अवस्था असहज बन्दा धमिलो पानीमा माछा मार्ने दाउ पनि खेलिरहेका छन् । जनताको वलिदान, त्याग र तपस्याले प्राप्त उपलब्धीहरु गुम्न दिनु हुँदैन । यसलाई जोगाउन लोकतन्त्रबादी शक्तिहरु एक ठाउँमा उभिनु पर्छ । यो आजको आवश्कता हो । मुलुकमा लोकतन्त्रको विकल्प छैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । मुलुक अधिनायकवाद वा त्यस्तै कुनैपनि निरंकुश शासन व्यवस्था स्वीकार गर्न तयार छैन ।