लकडाउन खुकुलो सरकारको बाध्यता, मापदण्ड नै पालना नभएपछि सङ्क्रमण बढ्यो

डा. डीआर उपाध्याय


यतिबेला हामीलाई कोरोना भाइरस (कोभिड–१९) को चुनौतीले घेरेको छ । यो चुनौतीले अर्थतन्त्रलाई गम्भीर असर पारेको छ । यसको असरले नेपालको अर्थतन्त्र चलायमान हुन सकेको छैन । धेरैले रोजगारी गुमाएका छन् । लगानी घटेको छ । उद्योगधन्दा, कलकारखाना सबै ठप्प छन् । काम गर्न असहज वातावरण सिर्जना भएको छ । कृषि, उद्योग र सेवाको आय घट्दै गएको छ ।

गत पुषको सुरुमा चीनको वुहानबाट देखिएको यो कोभिड भाइरसले विश्वभर सङ्क्रमण र मृत्युको सङ्ख्या दिनहुँ बढ्दो छ । यो भाइरसले गर्दा नेपालीको जनजीविका गम्भीर रूपमा थला परेको छ । सरकारले क्रमिक रूपमा अर्थतन्त्रलाई चलायमान बनाउँदै लैजाने कार्यनीति लिनु पर्छ । कोरोनाबाट छलिँदै अब अर्थतन्त्र चलायमान बनाउनुपर्ने जरुरी देखिएको छ । सधैंभरि यसै गरेर जनताको जनजीवन चल्दैन ।

के कोरोना जोखिम कम भएर अर्थतन्त्रका आयामहरू खुला गरिएको हो ? त्यसो पक्कै होइन । अहिलेको परिस्थितिमा रहरले लकडाउन खुकुलो पारिएको होईन, यो सरकारको बाध्यता हो । उद्यमी व्यवसायीले पनि बारम्बार सरकारलाई अर्थतन्त्र खुला गर्न दबाब र सुझाव दिइरहेका छन् । कोरोना भाईरससँग जोगिदै आफना ब्यापार ब्यवसायहरु संचालन गर्नुपर्ने बाध्यता आएको छ । अहिले कोरोनाको प्रभावले सबै क्षेत्रलाई तहसनहस बनाएको छ ।
सरकारले लागू गरेका स्वास्थ्य मापदण्डलाई प्रभावकारी रूपमा पालना गर्दै अर्थतन्त्र चलायमान बनाउनुको अब कुनै विकल्प छैन । यतिबेला हाम्रो सामु गर वा मरको अवस्था सिर्जना भएको छ । हामी सबैले स्वास्थ्य सुरक्षाका उपाय अपनाउने कुरामा बिशेष ध्यान दिने गरौं । राजधानी उपत्यका र त्यसमा पनि काठमाडौँमा कोरोना सङ्क्रमण उत्कर्षमा पुग्दै छ । उपत्यकामा सङ्क्रमणको सङ्ख्या बढ्दै गयो, अब के गर्ने ? त्यसका लागि को–को जिम्मेवार छन् ?

काठमाडौँ महानगरपालिकाका केही वडा कार्यालयहरुमा असाध्य भीड हुने गर्छ । स्वास्थ्य मापदण्डको कत्तिपनि परिपालना गरिएको छैन । यो बिषयमा अलि सचेत बन्ने गरौं । सरकार अब बन्दाबन्दी गर्ने अवस्थातिर जानु हुँदैन । राज्यसँग नागरिकलाई सुविधा दिन सक्ने क्षमता छैन । भएपनि वितरण प्रणाली न्यायोचित र प्रभावकारी छैन । विकास निर्माणका कामहरूलाई तीव्रता दिने बाटोमा अघि बढौं । उड्डयन क्षेत्र खुलेसँगै बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउने कुरामा ध्यान दिएर अघि बढौं ।