नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा

-डा. डी. आर. उपाध्याय


यतिबेला नेपाली कांग्रेस १४औं महाधिवेशनको तयारीमा जुट्दै छ । नेताहरु आ-आफना गुट छोपेर लागिरहेका छन् । गुटको राजनीतिले कुनै पाटीलाई फाइदा गदैन । अहिले फेरि काँग्रेस गुटको राजनीतिमा लागेको छ । यो बढो चिन्ताको बिषय हो । नेपाली कांग्रेस एउटा प्रजातान्त्रिक पार्टी हो । देशमा हुने गरेका पटक पटकका आन्दोलनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहँदै आएको कुरा कसैले पनि भुल्नु हुँदैन । यस पार्टीले राष्ट्र, राष्ट्रियताको लागि ठूलो भूमिका खेलेको छ । समाजवादी समाज निर्माण गर्ने यो पाटीको लक्ष्य हो । तर अझै लक्ष्य भने पूरा गर्न सकेको छैन ।

समाजवादको नारा वीपी कोइरालाले अघि सारेका हुन् । मेलमिलापको नीति लिएर बिपीले मुलुक बचाएका हुन् । उनकै अगुवाइमा तत्कालीन राष्ट्रिय संकटको समाधान भएको पाउन सकिन्छ । देशको स्वाधीनता, अखण्डता र सार्वभौम सत्तालाई सर्वोपरी राख्ने पार्टी हो काँग्रेस । पुरानो काँग्रेस र अहिलेको कांग्रेसमा आकाश धर्ती फरक छ । राजनीतिक विचलन देखा पर्नु दुर्भाग्य हो । अनेक कारणले पार्टीप्रति असन्तुष्ट, रुष्ट र पलायन नै भएका छन पुराना र त्यागी नेता । हो, यतिबेला नेपाली कांग्रेसको १४औं महाधिवेशनका सन्दर्भमा चर्चा परिचर्चा चलिरहेको छ । गुटहरुका आ-आफना भेला, बैठक बाक्लै चलिरहेका छन् । १४औं महाधिवेशनका लागि तीव्र लविङ चलिरहेको छ । कांग्रेस पार्टीको भाग्य र भविष्य निर्माण र सुदृढीकरण गर्न नेताहरुले आ-आफना कमी कमजोरी सच्याएर जानु पर्छ । अव हस्तक्षेपकारी वैचारिक भूमिका निर्वाह गर्न युवा नेताहरु लाग्नु पर्छ ।

पार्टी अहिले संस्थापन र संस्थापन इतर समूहका रूपमा खडा भएको अवस्था देखिन्छ । पार्टीमा महाधिवेशनका बेला जुन खालको सैद्धान्तिक वैचारिक तथा आगामी कार्यक्रम, कार्यनीति र विधिका बारेमा जुन किसिमले बहस हुनु पर्ने हो त्यो काँग्रेस पाटीभित्र हुन सकेको छैन । आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी धेरै देखिएका छन् । तर अधिकांशले आफू सभापति हुँदा पार्टीलाई बहुमत दिलाउने हल्का भाषणबाहेक पार्टीको नीति, विधि र पद्धतिबारे खासै बोलेका छैनन् । केही समयअघि नेका पार्टीमा समूहसहित प्रवेश गरेका सुनील थापा समूहलाई कांग्रेसले ५५ महासमिति सदस्य प्रदान गरेको छ ।

एउटाको विचार पारित हुने तर पार्टीको कार्यकारी नेतृत्व अर्कैका हातमा पर्दा पार्टी अगाडि बढ्न सक्दैन । यस पार्टीमा डा. चन्द्र भण्डारी, एनपी साउद, मनमोहन भट्टराई, गगन थापा, विश्वप्रकाश शर्मा जस्ता पार्टी आदर्शप्रति प्रतिबद्ध युवा नेता छन् । यी युवा नेताको हातमा नेतृत्व दिदा राम्रो हुन्छ । कांग्रेसलाई बलियो र शक्तिशाली बनाउने हो भने राष्ट्र, राष्ट्रियता र प्रजातान्त्रिक समाजवाद विषयमा देशव्यापी छलफल गर्नुपर्छ । अहिले यो पार्टी निरिह जस्तो देखिएको छ । पछिल्लो समयमा आएर खासै प्रभावकारी भूमिका खेल्न सकेको छैन । ओली सरकारको मनपरीलाई रोक्न सकेको छैन । आफना आम कार्यकर्ताहरुलाई उर्जा दिन सकेको छैन । युवा शक्तिलाई उर्जाको आवश्यक हुन्छ । लोकतन्त्र बलियो बनाउन पनि काँग्रेस बलियो बन्नु पर्छ । काँग्रेस कमजोर बन्दा लोकतन्त्र कमजोर बन्दै गएको छ ।