अब माओवादी उस्तै कि फरक पार्टी निर्माण ?

-डा. डी. आर. उपाध्याय


नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । माओवादी केन्द्रले यो महाधिवेशनबाट कस्तो नीति ल्याउला भन्ने कुरामा सबैको चासो बढेर गएको छ । पार्टीलाई कुन धारमा लैजान्छ भन्ने चासो हो । माओवादी केन्द्र मुलुकको तेस्रो ठूलो राजनीतिक दल पनि हो । शान्तिपूर्ण राजनीतिक मूल धारमा आएपछि यो पार्टीले संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको छ । तर, यसले क्रान्तिको कुरा गर्न भने अझै छाडेको छैन ।

माओवादी पार्टी अझै द्विविधाको अवस्थामा रहेको मान्न सकिन्छ । यो कुराले जनतामा एक खालको आशंका पैदा भइरहेको छ । जेसुकै भएपनि माओवादीप्रति जनता आकर्षित छैनन् । त्यति ठूलो पार्टी फुटेर चिरा चिरामा बिभाजित छन् । मोहन बैद्य, बाबुराम, बिप्लव, टोप बहादुर रायमाझी, बादल लगायतका नेता पार्टी छोडेर गएका छन् । यी नेता बिनाको माओवादी खल्लो जस्तो देखिएको छ । आमजनताको हितमा समर्पित हुने खालका एजेन्डा खै ? एजेन्डा मात्र उठाएर हुँदैन ब्यवहामा लागू गरेर देखाएको खै ?  

माओवादी संसदीय पार्टी बन्ने वा ‘क्रान्तिकारी’ पार्टी बन्ने भन्ने दोसाँधमा रहेको कारणले नै पार्टी कमजोर बनेको हो । माओवादीले यो बिषयमा आत्म समीक्षा गर्न जरुरी छ । अहिले माओवादी आफैले नयाँ क्रान्तिकारी विचार निर्माणको कुरा गरिरहेको छ । क्रान्तिकारी पार्टी निर्माण गर्ने भनिरहेको छ । कुरा मात्र गर्ने हो कि काम पनि गर्ने हो ?  माओवादीले स्पस्ट बाटो लिन सकेन । संसदीय पार्टी पनि भन्र्ने क्रान्तिको बाटो पनि छोडदैनौं भन्ने यो दोहोरो रणनीतिले माओवादीलाई अघि बढाउन सक्दैन । कुरा स्पस्ट छ ।

जनतामा आशंका हुने खालका गतिविधिले पार्टीको हित गदैन । जनतामा कौतुहलता उब्जनु स्वभाविक हो । यो पार्टी प्रति अझै पनि जनतामा विश्वास छैन । यसले बोल्ने एउटा गर्ने अर्कै भएपछि जनताले कसरी पत्याउँछन् ? बोलेको कुरा व्यवहारमा कार्यान्वयन हुनु पर्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब आफूहरू आमूल रूपमा परिवर्तन हुने र देश तथा जनतालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आइरहेका छन् । उनको प्रतिबद्धताले साँच्चै नै व्यावहारिकता प्रदान गर्न सक्छ कि सक्दैन त्यो नै गम्भिर प्रश्न हो ।

कुनैपनि पार्टीले आफ्नो महाधिवेशनमा लिने विचार, कार्यदिशा, नीति र कार्यक्रम राम्रै हुन्छन् । तर ब्यवहारमा लागू हुने कुराको मात्र अर्थ रहन्छ । पार्टीहरूले लिने विचार, नीति तथा कार्यक्रम जनताले सबै हेरिसकेका छन् । पार्टीहरुले सरकारमा गएपछि विचार, नीति तथा कार्यक्रम सबै कुरा बिर्सन्छन् । जति क्रान्तिका कुरा गरेपनि सत्तामा गएपछि ताल उस्तै हो । पार्टीहरूले सत्तामा गएपछि आफ्नो आदर्श, विचार र उद्देश्य बिर्सनु हुँदैन । आफ्ना विचार, नीति र कार्यक्रम प्रतिबद्धताका साथ लागू गर्नु पर्छ । अनि मात्र जनताले बिश्वास गर्छन् ।

माओवादीले लिने विचार, नीति तथा कार्यक्रम जनताको पक्षमा हुनु पर्छ । माओवादी केन्द्रले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई सान्त्वना दिने काम बाहेक अरु केही गर्न सकेको छैन । अब माओवादी केन्द्र क्रान्तिकारी पार्टी बन्ने कि संसदीय दल बन्ने ? यो माओवादी नेता कार्यकर्ताको प्रश्न हो । अब क्रान्तिका कुरा गरेर जनताले बिश्वास गर्नेवाला छैनन् । संसदीय अभ्यासबाटै माथि उठ्ने प्रयास माओवादीले गर्नु पर्छ । माओवादी केन्द्रका लागि यतिबेला अन्तर्राष्ट्रिय परिस्थिति पनि असहज छ । यस्तो बेलामा माओवादी केन्द्रले गम्भिरताका साथ सोच्न जरुरी छ । यस्तो अवस्थामा माओवादी केन्द्रका लागि संसदीय अभ्यास नै राम्रो बाटो हो । यही बाटोतर्फ अघि बढेर जाँदा  मात्र माओवादी पार्टीको हित हुने छ ।