राजनीति र व्यवसायमा लामो छलाङ

जीवनमा सङ्घर्ष, उतारचढाब र सफलता-असफलताका कथा नभएका मान्छे सायदै होलान् l यस्ता प्रसङ्ग सबैको जीवनमा हुने भएपनि हरेक मान्छेका घटना रोचक, प्रेरणादायी र मननीय भने पक्कै हुँदैनन् l उतारचढाव कसैको लागि वरदान सावित हुन्छ त कसैको लागि अभिषाप l यही प्रसङ्गमा आज यहाँ त्यस्ता एक सङ्गीत अनुरागीको बारेमा केही लेख्ने जमर्को गरिएको छ, जो प्राकृतिक रुपमै एउटा होनहार गायक र सङ्गीतकार हुँदाहुँदै पनि सङ्गीत क्षेत्रमा गरेको सुरुआती सङ्घर्ष र मेहेनतले आर्जन गरेको सीपलाई थाँती राख्दै आज एक सफल व्यावसायीका रुपमा उदाएका छन् भने राजनीतिमा पनि उनको व्यक्तित्वले लामो छलाङ मारिसकेको छ l
कुनै जमाना थियो, नेपालमा डिजे युवाका गीतहरु ‘सुपरहिट’ को लिष्टमा थिए l टेलिभिजनदेखि रेडियोसम्म उनकै गीतको वर्चश्व थियो l तर ती गीतको ‘पपुलारिटी’ को भित्री रहस्य धेरैजसोलाई थाहा थिएन l वास्तवमा डिजेसँग मिलेर पर्दाभित्र बसी सिर्जना गर्ने मूल सर्जक थिए सिन्धुलीका कृष्ण गुरुङ l आज सङ्गीतकर्म भन्दा बाहिर राजनीति र व्यवसायमा सक्रिय रहेपनि नेपाली सङ्गीत क्षेत्रबाट उनी टाढा भने छैनन् l प्रायजसो सर्जक कलाकारहरुसँग उनको राम्रै जानपहिचान छ र भेटघाट पनि भईरहन्छ l कुनै समयमा ४ वटा रात्री बसको साहुजी समेत बन्न पुगेका कृष्ण सङ्गीतकर्ममा लाग्नकै लागि नाफामा चलिरहेको सो व्यवसाय चटक्कै छाडेको बताउँछन् l किनकि सङ्गीतसँग उनको अन्तर्मन र भावना गाँसिएको छ अनि सङ्घर्षका अविष्मरणीय कहानीहरु जोडिएका छन् l त्यसैले त सङ्गीत सिक्नकै लागि उनी भारतको कलकत्ता हुँदै बम्बैसम्म पुगेका थिए l तर त्यो यात्रा ‘हात लाग्यो शून्य’ भएको उनी जानकारी गराउंछन् l भलै उनी सङ्गीत कर्ममा छैनन् तर उनको प्रतिभा मूल्याङ्कन गर्दा यस्तो लाग्छ, उनी सङ्गीतकै लागि जन्मिएका थिए l कुनै बेलाका रात्री बसका साहुजी कृष्णले आज एयरलाइन्सको अध्यक्ष बनेर व्यवसायमा जमिनबाट आकाशसम्मको फड्को मारिसकेका छन् l उनी मनाङ एयरवेजका वर्तमान अध्यक्ष हुन् l ‘मैले एयरलाइन्सको मालिक बन्ने सपना देखेको थिएँ l तर सपना देखेर मात्र हुँदैन, पूरा गर्न लागिपर्नु पनि पर्छ’ उनी भन्छन् l सन् २०१६ मा श्रीलंका व्यापार सङ्घले उनलाई ‘उत्कृष्ट युवा व्यवसायी’ को सम्मान समेत प्रदान गरेको थियो l
कृष्ण टिके नेता हैनन्, खानदानी राजनीतिकर्मी हुन् l नेपाली कांगेस उनी र उनको परिवारको आस्थाको केन्द्र हो l आमा लक्ष्मी गुरुङको पार्टीमा लामो योगदान र राम्रो पहिचान समेत छ l जिल्लामै कहलिएका र विभिन्न राष्ट्रिय पुरस्कारहरुबाट समेत सम्मानित कृषिविज्ञ बुबा महेन्द्र गुरुङलाई भने राजनीतिमा उतिसारो चासो छैन l गएको चुनावमा कृष्णलाई पार्टीले गृह जिल्ला सिन्धुलीबाट चुनाव लड्न सल्लाह दिएको थियो l तर उनले लोभ गरेनन् l व्यवसायलाई अगाडि बढाउने र ‘उचित समय’ आएपछि चुनाव लड्ने भन्दै उनले टिकट लिएनन् l पार्टीभित्र उनको कस्तो प्रभाव छ भन्ने कुरा यसबाट पनि प्रष्टै हुन्छ l
हत्तपत्त कसैसँग नडराउने स्वभावका गुरुङ कुनैबेला राजधानीका नाम चलेका ‘डन’ हरुको सूचीमा थिए l बालुवा र ढुङ्गा खानी संचालन गर्दा आफ्नो व्यवसाय बचाउनको लागि आफू ‘डन’ बनेको कुरा उनी घुमाउरो पाराले स्वीकार गर्छन् l उनी साहित्यमा पनि रुची राख्छन् भन्ने कुरा थोरै मान्छेलाई मात्र थाहा छ l चाडै उनीद्वारा रचित कवितासङ्ग्रह ‘पुतलीको देश’ प्रकाशन हुने भएको छ l रसिक स्वभाव, तीक्ष्ण स्मरणशक्ति र वाकपटुताका कारण जो कोहीलाई पनि छिट्टै प्रभावित पार्न सक्ने अदभूत क्षमता भएका गुरुङले महिलाहरुसँग नजिक रहने गरेको कुरालाई पनि स्पष्ट रुपमा स्वीकार गरे l
असहाय र गरिबहरुलाई सहयोग गर्ने पहिलादेखिकै आदत भएका कृष्णले काठमाण्डौका नाम चलेका कलेजमा १५ जना गरिव तथा जेहेन्दार बालबालिकाहरुलाई पढाईरहेका छन् l ‘आफ्नो लागि त सबैले गर्छन् तर अरुको लागि गर्नुको मजा र सन्तुष्टि शब्दमा व्यक्त गर्न सकिन्न’ उनको भनाई छ l भविष्यको योजनाका बारेमा जिज्ञाशा राख्दा उनी भन्छन्-‘राम्रो विषयवस्तुमा चलचित्र बनाउने, एकल स्वरको एल्बम निकाल्ने र अर्को महत्वपूर्ण कुरा मनाङ एयरलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नयाँ उचाईमा पुर्याउने लक्ष अनुसार रातदिन लागिरहेको छु l’