महिला फुटबल खेलाडीहरु पाकिस्तान प्रस्थान

तुलसी गिरी ‘भावुक’


हाम्रो फुटबल नेपालले मासा फुटबल एकेडेमी, पाकिस्तानको निमन्त्रणामा लिग फुटबल खेलका लागि पाकिस्तान जान लागेका ४ महिला फुटबल खेलाडीहरुलाई शुभेच्छा सहित विदाई गरेको छ l अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा शुक्रबार साँझ एक कार्यक्रमको आयोजना गरी हाम्रो फुटबल नेपालले खादा र फूलको माला लगाएर खेलाडीहरुलाई विदाई गरेको हो l टिममा राष्ट्रिय महिला फुटबल टिमकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बा लगायत राष्ट्रिय खेलाडीहरु गीता राना, सरु लिम्बू र अनिता केसी रहेका छन् l चारैजना २०२१ का वीमेन्स फुटबल लिग च्याम्पियन टिमका खेलाडी हुन् l

विगतमा राष्ट्रको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिता जनाएको भएपनि अन्तर्राष्ट्रिय लिग खेलको पहिलो अनुभव हुने कुराले आफूहरु धेरै उत्सुक रहेको कुरा खेलाडीहरुले बताएका छन् l खेलाडीहरु १ महिनासम्म पाकिस्तानमा रहने जानकारी प्राप्त भएको छ l   

SUBSCRIBE 👉

खेलाडीहरुको विदाई कार्यक्रममा हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङ, वरिष्ठ उपाध्यक्ष सुरेश केसी, कोषाध्यक्ष विनोद लिम्बू, सल्लाहकार हेमन्त अधिकारी र प्रेस सल्लाहकार तुलसी गिरी ‘भावुक’ लगायतको उपस्थिति रहेको थियो l विदाई कार्यक्रममा हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले व्यक्तिगत तर्फबाट खेलाडीहरुलाई एक एक जोर नाईकेको ट्रयाकसुट समेत हस्तान्तरण गरेका थिए l अन्तर्राष्ट्रिय महिला लिग खेलका लागि नेपाली फुटबल खेलाडीहरु पहिलोपटक विदेश जान लागेकाले उनीहरुको आत्मविश्वास बढोस् र उत्कृष्ट खेल प्रदर्शन गर्न सकुन् भन्ने शुभेच्छा सहित हौसलाका लागि सो विदाई कार्यक्रमको आयोजना गरिएको कुरा अध्यक्ष कृष्ण गुरुङले बताएका छन् l

फुटबल फर अल भन्ने नाराका साथ फुटबल खेलमा सक्रियता देखाईरहेको निजी क्षेत्रको संस्था हाम्रो फुटबल नेपालले बेला बेलामा लिग खेलको आयोजना गर्ने र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिईरहेको छ l हाम्रो फुटबल नेपाल निजी क्षेत्रमा स्थापित फुटबलका फ्यानहरुको एकमात्र सर्वोच्च संस्था भएको कुरा अध्यक्ष कृष्ण गुरुङले बताएका छन् l

SUBSCRIBE 👉