हाम्रो युगको त्यो ऐतिहासिक जेठ १५ को दिन

-डा. डी. आर. उपाध्याय खनाल


सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । पहिलो गणतान्त्रिक नेपालको कार्यकारी प्रधानमन्त्री तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भए । गणतन्त्र स्थापनापछि हालसम्म उनीसहित आठजना प्रधानमन्त्री भइसकेका छन् । तरपनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएको छैन । बेपत्ता पारिएका व्यक्तिहरूको खोजबिन हुन सकिरहेको छैन । द्वन्द्वपीडितका मागहरू सम्बोधन भइसकेका छैनन् । गणतन्त्र स्थापना भएको १५ वर्ष हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा भएका छैनन् ।

गणतन्त्र भनेको नागरिकलाई सर्वाधिकारसम्पन्न बनाएर राज्यको निर्णायक तहसम्म स्थापित गराउने एउटा सर्वोकृष्ट प्रणाली हो । नेपालको ऐतिहासिक विकासक्रममा यो एउटा महत्त्वपूर्ण दिन हो । त्यसैले यस दिनको स्मृति र सम्मानमा हामी बर्सेनि गणतन्त्र दिवस मनाउँदै आइरहेका छौं । आज पनि मनाउँदै छौं । गणतन्त्र दिवस मनाइरहँदा यस्तो सुखद अवसरमा पनि आम नेपाली किन उत्साहित छैनन् ? नागरिकहरू किन निराश छन् । ब्यवस्था फेरियो तर जनताको अवस्था फेरिन सकेन । जनताको अवस्था फेरिन नसक्नु नै दुखद कुरा हो । राजनीतिक परिवर्तन र ब्यवस्था परिवर्तनमा जनताको ठूलो भूमिका र योगदान छ ।

आज यो ब्यवस्थामा राजनीतिक दलका नेता धनी बन्दै जाने तर जनता गरिवको गरिव हुने अवस्थाले एउटा निराशा छाएको छ । संविधान फेरियो, ब्यवस्था फेरियो तर जनताको अबस्था किन फेरिएन ? यो गम्भीर प्रश्न हो । राज्यस्रोत वितरणमा रहेका असमानताका कारण हुनेखाने र विपन्नहरूका बीचको खाडल यति गहिरिँदै गएको छ कि त्यसले समाजमा छिटै सङ्कटको स्थिति जन्माउन सक्छ ।

राज्यको कमजोर उपस्थितिकै कारण महिलाहरूप्रतिको यौनिक हिंसा, दलित र उत्पीडितहरूमाथि विभेदमा कमी आउन सकेको छैन । बेरोजगार र हात-मुख जोड्ने समस्याले नेपाली श्रमिकहरू दिनहुँ खाडी मुलुकतिर भौंतारिनुपर्ने बाध्यता छ । नागरिकले प्रत्येक दिन झेल्नुपर्ने उपभोग्य वस्तुको अभाव, मूल्यवृद्धि, अनियन्त्रित बजारको स्थिति झन् विकराल छ । गरिवले आफ्नो स्रोतबाट शिक्षा अनि स्वास्थ्य सेवा धान्न नसक्ने भइसकेको छ ।

गणतन्त्रले नागरिकका सन्ततिलाई पनि राष्ट्रप्रमुखसम्म हुने अवसर दियो । अहिले महिला मुलुकको राष्ट्रपति छिन् । जनताका लागि गर्व र हर्षको विषय हो यो । अर्कातिर, जीवनशैली, आचरण र सोचमा सामन्ती राजतन्त्रको पुनरावृत्ति भइरहेको पाउँछौं ।l जसले गर्दा स्वाभाविक रूपमा जनमानसमा वितृष्णा उत्पन्न भएको छ । गणतान्त्रिक व्यवस्थाकी राष्ट्रप्रमुख हिजोकै राजशाहीको झल्को दिँदै सडकमा आउजाउ गर्छिन् ।

विगतको राजतन्त्र र आजको गणतन्त्रबीचको तात्त्विक अन्तर के हो ? हिजोकै नेताहरू आज पनि सत्तामा छन् । आज नेताहरुले राजनीतिलाई अवसर र औजारका रूपमा प्रयोग गरिरहेका छन् । नेपालमा राजतन्त्रले सयौँ वर्ष शासन र शोषण गर्दै आयो । सँगसँगै, राजतन्त्रविरुद्धको सङ्घर्ष पनि चल्दै आयो । पटकपटकका आन्दोलन राजनीतिक दलहरूका कारण सम्झौतामा पनि टुंगिए। यद्यपि, ०६२ र ०६३ को जनआन्दोलन निष्कर्षमा पुग्न सफल भयो । संयुक्त जनआन्दोलन उत्कर्षमा पुग्यो र राजतन्त्रविरोधी जनविद्रोहमा रूपान्तरित भयो । जनक्रान्तिको स्वरूप ग्रहण गरेको त्यही आन्दोलनले नेपाली समाजमा जबर्जस्त जरा गाडेको राजतन्त्रलाई उखेलेर फाल्यो र गणतन्त्रको झण्डा फहरायो ।

आन्दोलनबाट पुनर्स्थापित प्रतिनिधिसभाले राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक घोषणा गर्दै त्यसको कार्यान्वयन गर्ने संविधानसभाको पहिलो बैठकलाई म्याण्डेट सुम्पियो । जसअनुसार १५ जेठ ०६५ मा सम्पन्न संविधानसभा पहिलो बैठकले नेपालमा राजतन्त्रीय युग समाप्त गरी लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन घोषणा गर्‍यो। हाम्रो युगको त्यो ऐतिहासिक दिन बनेर १५ जेठ ०६५ आयो । अर्थात् त्यसदिन राजा र जनताबीचको लडाइँको छिनोफानो भयो। राजा र राजतन्त्रको हार भयो, जनताको जित भयो र देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यही सम्झनामा १५ जेठलाई हामी गणतन्त्र दिवसको रूपमा मनाइरहेका छौँ।

नेपालमा गणतन्त्र आयो तर जनताले यसको अनुभूति गर्न पाइरहेका छैनन् । नेतालाई राजधानीमा महल ठड्याउन र महँगा, चिल्ला गाडीमा सवारी चलाउनका लागि गणतन्त्र वा लोकतन्त्र ल्याइएको होइन । अब राजनीतिक दल र तिनका नेताहरुले गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ ।